कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्वकप २०१८ समीकरण

सुबास हुमागाईं

काठमाडौं — आयोजक रुसको राजधानी मस्कोमा शुक्रबार आयोजित समूह चरणको ‘ड्र’ सँगै विश्वकप फुटबलको उपाधि कसको पोल्टमा पर्ला भन्ने आँकलन सुरु भइसकेको छ । तर विगतको तुलनामा यसपल्ट ठूला टोलीले सहज ड्र पाएका छन् । कमै टोलीलाई यसपालिको समूह ड्र टाउको दुखाइको विषय बन्यो ।

विश्वकप सुरु हुन अझै सात महिना बाँकी छ । तर सबै टोलीका अहिले उपलब्ध खेलाडीको फर्म र विगतको नतिजा हेर्ने हो भने विश्वकपका लागि दाबेदार टोलीको सूची लामै हुन्छ । विश्वकपमा रहेका ३२ राष्ट्रका समूहगत विश्लेषण यस्तो छ :

समूह ‘ए’
आयोजक रुस (६५), साउदी अरेबिया (६३), इजिप्ट (३०) र उरुग्वे (१७)

फिफा वरीयतालाई आधार मान्ने हो भने विश्वकपको सबैभन्दा कमजोर समूह यही हो । रुस र साउदी अरेबियाबीच हुने उद्घाटन खेल प्रतियोगिताकै सबैभन्दा कमजोर दुई टोलीको हो । उरुग्वे समूहको बलियो टोली हो । ऊ समूह विजेताका रूपमा दोस्रो चरण पुग्ने आसमा हुनेछ । लुइस सुआरेज र एडिन्सन काभानी जस्ता विश्वस्तरीय फरवार्डसहित टोलीले समूह चरणभन्दा अगाडि अलि टाढैसम्मको यात्रा तय गर्ने लक्ष्य राखेको छ । लिभरपुलका मोहमद सलाहको इजिप्टसँग युरोपमा खेलिरहेका खेलाडीको जमात ठूलै छ । पछिल्लो ३० खेलमा इजिप्टले एकपल्ट मात्र १ गोलभन्दा बढी खाएको छ । रुस घरेलु टोली भएकाले अन्य टोलीलाई टाउको दुखाइ बन्न सक्छ ।
दोस्रो चरण पुग्ने सम्भावित टोली– उरुग्वे, इजिप्ट
०००
समूह ‘बी’
पोर्चुगल (३), स्पेन (८), मोरक्को (४८), इरान (३४)

दुई छिमेकी देश पोर्चुगल र स्पेन रहेको यस समूहको पहिलो खेलमा यिनै टोली आमन–सामने हुँदै छन् । त्यसै खेलले यस समूहको भाग्य निर्णय गर्नेछ । पहिलो खेलमा पराजित भएको खण्डमा बाँकी दुई खेल जित्नैपर्ने दबाब त हुन्छ नै । इरान र मोरक्कोबीचको खेलमा विजयी हुने टोलीले स्पेन तथा पोर्चुगलको खेलको पराजित टोलीलाई गाह्रो पार्नेछ । युरो २०१६ विजेता टोली पोर्चुगलको आक्रमण आन्द्रे सिल्भाको आगमनले थप बलियो भएको छ । तर डिफेन्सको समस्या उस्तै छ । यता स्पेन पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको खराब प्रदर्शन बिर्साउने दाउमा हुनेछ । मोरक्कोले छनोट चरणका क्रममा कुनै खेलमा पनि गोल खाएको थिएन । उसको टोलीमा युरोपका ठूला टोलीबाट खेलिरहेका खेलाडीको उपस्थिति पनि बाक्लो छ । यता लगातार दोस्रोपल्ट विश्वकप खेलिरहेको इरानले छनोटमा लगातार १२ खेलमा कुनै गोल खाएन ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– स्पेन, पोर्चुगल
०००
समूह ‘सी’
फ्रान्स (७), अस्ट्रेलिया (४३), पेरु (१०), डेनमार्क (१९)

फ्रान्सका लागि सम्भवत: सबैभन्दा सजिलो ड्र यही नै हो । उपाधि दाबेदारका रूपमा हेरिएको उसले समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्नेछ । युवा खेलाडीले भरिपूर्ण टोलीमा युरोपियन फुटबलको प्रचुर अनुभव छ । प्लेअफमा जित हात परेर विश्वकपमा छनोट भए पनि डेनमार्क बलियो देखिन्छ । अस्ट्रेलियाका प्रशिक्षकले छनोट भएसँगै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका थिए । यसले गर्दा नयाँ प्रशिक्षकलाई नयाँ टोलीको जिम्मेवारी लिँदा केही दबाब पक्कै हुन्छ । ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरु पनि दक्षिण अमेरिकी फुटबलको उपस्थितिलाई अझै बलियो बनाउने प्रयासमा हुनेछ ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– फ्रान्स, डेनमार्क
०००
समूह ‘डी’
अर्जेन्टिना (४), आइसल्यान्ड (२१), क्रोएसिया (१८), नाइजेरिया (४१)

अर्जेन्टिना विश्वकप उपाधिका लागि दाबेदार टोलीमध्य एक हो । तर प्रतियोगितामा स्थान पक्का गर्न अन्तिम क्षणसम्म कुर्नुपरेको यथार्थ र ठूला प्रतियोगितामा टोलीको प्रदर्शन लुकेको छैन । आइसल्यान्ड पहिलो विश्वकपमा सहभागिता जनाइरहेको भए पनि युरोमा इंग्ल्यान्डलाई हराउँदै क्वाटरफाइनलसम्म पुगेको थियो । छनोट चरणमा पनि उसको प्रदर्शन उत्कृष्ट रह्यो । अर्को युरोपियन टोली क्रोएसियामा पनि राम्रा खेलाडीको जमात छ । तर आन्तरिक विवादमा रूमल्लिएको उसले छिट्टै सबै विवाद सुल्झाउनु अत्यावश्यक छ । नाइजेरिया सधैंझैं अफ्रिका महादेशको आशाको केन्द्रबिन्दु रहनेछ । केही साताअघि अर्जेन्टिनालाई ४–२ ले पराजित गरेका कारण पनि उसको मनोबल उच्च छ ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– अर्जेन्टिना, क्रोएसिया
०००
समूह ‘ई’
ब्राजिल (२), स्विट्जरल्यान्ड (११), कोस्टारिका (२२), सर्बिया (३८)

ब्राजिलको टोली कागजमा हेर्दा विश्वकपकै सबैभन्दा बलियो टोलीमा दरिएको छ । आक्रमणमा नेयमरदेखि ग्राबियल जेसस, मिडफिल्डमा क्यासेमिरो र डिफेन्समा मार्सेलो र अल्भेसले टोलीको भविष्य निर्धारण गर्नेछन् । स्विट्जरल्यान्ड बलियो डिफेन्स लिएर कम्तीमा पनि दोस्रो चरण पुग्ने आसमा हुनेछ । पछिल्लो संस्करणमा उल्लेखनीय प्रदर्शन गरेको कोस्टारिकालाई यसपालि दोस्रो चरण पुग्न कठिन देखिन्छ । छनोटको समूहमा शीर्षस्थान हासिल गर्दै विश्वकप पुगेको सर्बियाले मात्र एक खेल हारेको थियो । यद्यपि सर्बियाले छनोटलगत्तै प्रशिक्षक परिवर्तन गर्नाले टोलीको प्रदर्शनमा परिवर्तन आउने सम्भावना छ । 
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– ब्राजिल, स्विट्जरल्यान्ड
०००
समूह ‘एफ’
जर्मनी (१), मेक्सिको (१६), स्विडेन (२५), दक्षिण कोरिया (६२)

डिफेन्डिङ च्याम्पियन एवं विश्व नम्बर एक टोली जर्मनीलाई समूह चरणले कठिनाई खडा गर्दैन । उसका लागि प्रतियोगिताको आगामी चरणलाई राम्रो तयारी गर्ने बाटो बन्ने देखिन्छ । मेक्सिको र स्विडेन केही बलिया भए पनि एसियाली टोली दक्षिण कोरियाले जर्मनीलाई चुनौती दिने सम्भावना कम छ । युरोपमा अनुभव बोकेका केही खेलाडीको भरमा उत्रने मेक्सिकोले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । यता स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिचबिनै विश्वकप छनोट भएको स्विडेनले प्लेअफमा इटालीलाई हराएको हो । सन ह्युङ मिनको गोलमा टिकेको दक्षिण कोरियाले छनोटमा सोचेअनुरूप प्रदर्शन गर्न सकेको थिएन । विश्वकपमा सोही प्रदर्शन दोहोर्‍याए टोलीको यात्रा समूह चरणमै सकिन सक्छ ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– जर्मनी, मेक्सिको
०००
समूह ‘जी’
बेल्जियम (५), पानामा (४९), ट्युनिसिया (२८), इंग्ल्यान्ड (१२)

छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप पुगेको बेल्जियम समूह चरणमा सहज समूह पाएको छ । अर्को टोली इंग्ल्यान्डले पनि अर्को चरणमा पुग्न कसरत गर्नुपर्ने देखिन्न । दुवै टोलीले समूहको अन्तिम खेलमा आमने–सामने हुनुअघि पानामा र ट्युनिसियाको सामना गर्नेछन् । इंग्ल्यान्डको आक्रमणको जिम्मेवारी सम्हाल्ने ह्यारी केन फर्ममा छन् र यसले टोलीको प्रदर्शनमा धेरै फरक पार्नेछ । उता बेल्जियमका केभिन डे बु्रएन, टोबी आल्डरवेरल्ड, ड्रिज मार्टेन्स लगायतका खेलाडी पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलोपल्टविश्वकप खेलिरहेको पानामा र ट्युनिसिया दुवै अन्य टोलीका लागि अपरिचित छन् । यसले पनि नयाँ टोलीले केही अकल्पनीय नतिजा निकाल्छ भन्ने आस गर्न सकिन्छ ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– इंग्ल्यान्ड, बेल्जियम
०००
समूह ‘एच’
पोल्यान्ड (६), सेनेगल (३२), कोलम्बिया (१३), जापान (४४)

सम्भवत: विश्वकपको सबैभन्दा खुला समूह यो नै हो । छनोटमा आठ खेल जितेको पोल्यान्ड समूहको शीर्ष वरीयताको टोली हो । रोबर्ट लेवान्डोवस्कीले छनोटमा १६ गोल गर्दै इतिहास नै रचे । तर, साडियो माने, एम्बाए नियाङ र किटा बाल्डेको उपस्थितिले सेनेगलको आक्रमण निकै उत्कृष्ट बनेको छ । कोलम्बिया पनि पछिल्लो विश्वकपमा क्वाटरफाइनलसम्म तय गरेको यात्रा सुधार्ने दाउमा हुनेछ । एसियाको पावरहाउस जापानका खेलाडीले व्यावसायिक लिगमा खासै प्रदर्शन गर्न नसके पनि राष्ट्रिय टोलीमा भने खेलेका छन् । केइसुके होन्डा, सिन्जी कागावा र सिन्जी ओकाजाकीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे जापानको पनि अर्को चरणमा जाने सम्भावना रहनेछ ।
दोस्रो चरणमा पुग्ने सम्भावित टोली– कोलम्बिया, सेनेगल
– एजेन्सीको सहयोगमा

प्रकाशित : मंसिर १७, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?