कभर्डहल स्वामित्वबारे अन्योल

विद्या राई

भोजपुर — डाँडागाउँस्थित भोजपुर बहुमुखी क्याम्पसको जग्गामा निर्माण भएको ब्याडमिन्टन कभर्डहल स्वामित्वबारे अन्योल देखिएको छ । उक्त कभर्डहल जिल्ला ब्याडमिन्टन संघको सक्रियतामा निर्माण भएको हो ।

कभर्डहल स्वामित्वबारे अन्योल

तीन वर्षअघि कभर्डहल निर्माण थालनी गर्दा ब्याडमिन्टन संघसँग जग्गा नभएपछि क्याम्पसले आफ्नो जग्गा दिएको थियो । ७२ बाई ५४ फिट क्षेत्रफलको जग्गामा ३ कोर्ट रहेको ट्रसवाला कभर्डहल निर्माण भएको छ । सम्पूर्ण फिनिसिङका काम नसकिएको भए पनि एक वर्षयता खेल्न मिल्ने भएको छ । खेल्न पनि थालेका छन् । 

तर कभर्डहलको स्वामित्व कस्को रहने भन्नेमा क्याम्पस र ब्याडमिन्टन संघ दुवै अनभिज्ञ छन् । कभर्डहल निर्माणका लागि क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ बजेट परेपछि काम चाँडै थाल्नैपर्ने र संघको आफ्नै जग्गा नभएको अवस्थामा फ्रिज हुने सम्भावना भएपछि हेमन्त राईले आफू क्याम्पस प्रमुख हुँदा जग्गा दिएका थिए ।

क्याम्पसकै उप–प्राध्यापक निमा शेर्पा ब्याडमिन्टन संघका अध्यक्ष हुन् । उनी हेमन्तपछि क्याम्पस प्रमुख भए । तत्कालीन समयमा कभर्डहल बनाउन जग्गा दिने निर्णय भएको भए पनि स्वामित्व कस्को रहने भन्ने हालसम्म टुंगो लागेको छैन । कभर्डहल निर्माणका लागि क्याम्पसको जग्गा भए पनि निर्माणको सम्पूर्ण लगानी र प्रयास संघले गरेको थियो । 

कभर्डहल संघले निर्माण गरेको भए पनि जग्गा आफ्नो भएकाले सम्पूर्ण स्वामित्व क्याम्पसकै हुने प्रमुख रोहितकुमार श्रेष्ठ बताउँछन् । ‘क्याम्पसको जग्गा कसैको स्वामित्वमा हस्तान्तरण गर्न मिल्दैन र कुनै विधि पूरा नगरी भोगचलनमा दिन मिल्दैन । तर भोजपुरको अस्तित्वसँग क्याम्पस र कभर्डहल दुवै महत्त्वका पाटाहरू हुन्,’ उनले भने, ‘जग्गा लिजमा दिन मिल्छ, हामीले लिजमा दिएको पनि होइन । कभर्डहल कसको स्वामित्वमा रहने भन्ने निर्णय नै भएको छैन ।’ 

क्याम्पसले तत्काल प्रयोगमा नआएको जग्गा कभर्डहल निर्माणका लागि दिएको हुँदा कुनै बेला क्याम्पसलाई आवश्यक परेको खण्डमा जग्गा आफूअनुकूल प्रयोग गर्न सक्ने उनले बताए । 

ठूलो संघर्ष गरेर निर्माण गरेको कभर्डहलको जग्गाका सम्बन्धमा अस्पष्ट रहँदा ब्याडमिन्टन संघलाई पनि चिन्ताको बिषय बनेको छ । उसले आफ्नो परिश्रमको लगानी परेको कारण जग्गा क्याम्पसकै स्वामित्वमा रहे पनि कभर्डहल स्वामित्वबारे क्याम्पस प्रशासनले चाँडै टुंगो लगाउनुपर्ने बताउँछ । ‘संघले जग्गाको स्वामित्व लिन त मिल्दैन तर कभर्डहलमा संयुक्त स्वामित्व रहनुपर्छ, आयआर्जनका कुराहरू टुंगो लाग्नुपर्छ,’ ब्याडमिन्टन संघ भोजपुरका सचिव विकास श्रेष्ठले भने, ‘क्याम्पसलाई पनि समस्या नहुने र जिल्लाको ब्याडमिन्टनलाई उकास्न सघाउ पुग्ने गरी कानुनी प्रक्रियामा जानुपर्छ ।’ 

संघले कार्यविधि बनाउन क्याम्पस प्रशासनलाई दुईपल्ट लिखित र मौखिक जानकारीसमेत गराइसकेका छन् । तर क्याम्पसले कार्यविधि बनाएको छैन । 

निर्माणाधीन व्याडमिन्टनको कभर्डहल बजेट अभावले पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । ट्रस उठाएर जस्ता र त्रिपालले घेराबारा गरिएको छ । प्यारापिट निर्माणलगायत फिनिसिङका लागि बजेट अभाव छ । बजेट बाँडफाँटमा ब्याडमिन्टनलाई बेवास्ता गरेका कारण समस्या भएको समितिको भनाइ छ । संघका अनुसार निर्माणका लागि हालसम्म करिब ४५ लाख खर्च भइसकेको छ । पूरा गर्न थप ५० लाख आवश्यक पर्ने अनुमान छ । क्षेत्र विकास कोषबाट पाउने केही रकम बाहेक सरकारी तबरबाट अन्य सहयोग आउन नसक्दा बजेट अभाव रहेको जनाइएको छ । 

यसअघि खेलाडी तथा संघले फेसबुक पेजमार्फत देश तथा विदेशमा बस्ने नेपालीबाट सहयोग जुटाएर कभर्डहल निर्माण गरेका थिए । ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन सरादेवी तामाङ विकास श्रेष्ठ, नङसलदेवी तामाङ, विवेक श्रेष्ठ, रत्नजित तामाङ र नवीन श्रेष्ठ भोजपुरे माटोले जन्माएका हुन् । हाल अन्तर्राष्ट्रिय स्तरमा ब्याडमिन्टनमा सहभागी हुन जाँदा भोजपुरका ४–५ खेलाडी कोर्टमा उत्रन्छन् । 

प्रकाशित : मंसिर १९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?