स्वेच्छाको तेहेरो जित

ठमेल ओपन टेबलटेनिस

काठमाडौं — इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगलको सुपर लिगमा मंवलबार आर्मीकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङसहित नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले ह्याट्रिक जित दर्ता गरेका छन् ।

स्वेच्छाको तेहेरो जित

स्वेच्छाले एपीएफकी सिक्का सुवाललाई ३–२, प्रहरीकी सोनु थापा मगरलाई ३–० र प्रहरीकी यशस्वी अवाललाई ३–० को सेटमा पराजित गरिन् । दीक्षाले प्रहरीकी एलिना महर्जनलाई ३–१, एपीएफकी सेलिशा खड्गीलाई ३–२ र आर्मीकी रविना महर्जनलाई ३–१ सेटले हराइन् । एपीएफकी सेलिशा र आर्मीकी रविनालाई ३–० ले हराएकी नविताले प्रहरीकी सिक्काविरुद्ध पनि ३–० कै सोझो सेटमा जित निकालिन् ।
त्यस्तै आर्मीकी रविनाले प्रहरीकी यशस्वी, एपीएफकी सिक्काले यशस्वी र प्रहरीकी एलिनाले आफ्नै क्लबकी सोनुलाई समान ३–० को सोझो सेटमा हराए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुषतर्फ सुपर लिगमा राष्ट्रिय च्याम्पियन प्रहरीका स्यान्टु श्रेष्ठले दोहोरो जित पाएका छन् । उनले एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ३–१ र आर्मीका नारायण घिमिरेलाई ३–० को सेटमा हराए । एपीएफका शिवसुन्दर गोथेले आफ्नै टिमका अमरलाल मल्ल र प्रहरीका प्रदीप रोकालाई समान ३–० तथा प्रहरीका दीप साउनले भक्तपुरका राजीव चिकबन्जारलाई ३–० र आर्मीका चन्दन शाहीलाई ३–१ को सेटमा हराएका थिए ।
एपीएफ क्लबका संयोग कपाली र पिङपोङ सुपरस्टारका आभाष चौलागाईं यू–१६ ब्वाइज सिंगलतर्फ क्वाटरफाइनल पुगेका छन् । संयोग समूह ‘ए’ को विजेता र आभाष उपविजेता हुँदै अगाडि बढे । समूह ‘बी’ बाट एपीएफका एलेक्स महर्जन र एभीएमका विशाल गोले, समूह ‘सी’ बाट भक्तपुरका रोशन खाइतु र रेखन तामाङ तथा समूह ‘डी’ बाट आर्मीका बोधित डीसी र याला स्पिनका डिकेन महर्जन क्रमश: विजेता र उपविजेता हुँदै क्वाटरफाइनल पुगेका छन् ।
यू–१६ गल्र्स सिंगलको समूह ‘ए’ मा पिङपोङकी मारिया थापामगर र भक्तपुरकी मन्जु सुवाल, समूह ‘बी’ मा आर्मीकी दीक्षा दाहाल र बज्र युनियनकी स्मृति पन्त, समूह ‘सी’ मा एपीएफकी अन्जु सुवाल र भक्तपुरकी मनीषा सुवाल तथा समूह ‘डी’ मा वज्रकी नस्ला मानन्धर र भक्तपुरकी आरती सुवाल क्रमश: विजेता र उपविजेता हुँदै अगाडि बढेका छन् । 

प्रकाशित : मंसिर २०, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?