कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

किन हार्‍यो नेपाल यूएईसँग ?

विश्व क्रिकेट लिग च्याम्पियनसिप

काठमाडौं — नेपाली क्रिकेट टोली बुधबार विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको पहिलो खेलमा यूएईसँग ७ विकेटले पराजित भएको छ । शीर्ष चारमा पर्न नसकी यसअघि नै विश्वकप छनोटको दौडबाट बाहिरिएर विश्व क्रिकेट लिग डिभिजन २ मा झरेको नेपालले बुधबार खासै जोसिलो प्रदर्शन गर्न सकेन ।

किन हार्‍यो नेपाल यूएईसँग ?


टस हारेर ब्याटिङमा आएको नेपालले यूएईको राजधानी अबुधाबीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो । शरद भेषावकरले नटआउट ८१ रन बनाएपछि नेपालले मध्यम स्कोर खडा गरेको थियो । उनीभन्दा अगाडि उपकप्तान ज्ञानेन्द्र मल्लले ५४ रन बनाएका थिए ।

जवाफमा घुलाम सब्बरले नटआउट ८१ रन बनाएपछि यूएईले ४५.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । नेपालबाट शरद र सन्दीप लामिछानेले १(१ विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ । पुछारमा रहेको यूएई जितपछि ८ अंकसहित सातौं स्थानमा उक्लेको छ । नेपाल नौं अंकसहित छैटौं स्थानमा छ ।

खेलका म्यान अफ द म्याच घुलाम सब्बर ट्रफी ग्रहण गर्दै । तस्बिर सौजन्य : रमन सिवाकोटी

यूएईले निकै आक्रामक सुरुआत गरेको थियो । नेपालका ओपनिङ बलर सोमपाल कामी र ललितसिंह भण्डारीमाथि हाबी हुनेक्रममा मुस्ताफाले अस्फाक अहमदसँग ७ ओभरभित्र ४२ रन जोडेका थिए । अहमद १९ रनमा रनआउट भए । त्यसपछि मुस्ताफा र सब्बरले दोस्रो विकेटमा जोडेको ८१ रन यूएईलाई जितको आधार बन्यो ।

मुस्ताफा ६२ रन बनाई शरदको बलमा विकेटकिपर दिलीप नाथबाट क्याच भए । ७१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । म्यान अफ द म्याच सब्बरले १ सय १६ बलको इनिङ्समा ८ चौका प्रहार गरे । उनले रमिज शाहजादसँग तेस्रो विकेटमा ६७ रन जोडेका थिए । ३ चौका र शक्ति गौचनलाई १ छक्का प्रहार गरेका शाहजादले ४७ बलमा ३७ रन बनाए । मोहम्मद उस्मान १७ रनमा नटआउट रहे ।

यसअघि ज्ञानेन्द्र मल्लले १२ रनमा हुँदा जीवनदान पाएका थिए । उनले प्रहार गरेको सट स्क्वायर लेगमा रहेका फिल्डरले समाप्त सकेनन् । लगत्तै उनी रनआउट हुनबाट जोगिए । च्याम्पियनसिपमा पहिलो खेल खेलिरहेका दिलीपसँग ४३ रन जोड्दै ज्ञानेन्द्रले नेपाललाई मध्यम सुरुआत दिलाएका थिए । आत्मविश्वासी प्रदर्शन दिन नसकेका दिलीप १६ रन बनाई देव्रेहाते स्पिनर अहमद राजाको बलमा बोल्ड भए ।

ज्ञानेन्द्रले ८३ बल खेल्दै ६ चौका प्रहार गरे । उनी मुस्ताफाको बलमा एलबीडब्लू आउट भए । शरदले निकै संयमित भएर खेले । तर कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, विनोद भण्डारी ४ र आरिफ शेख शून्यमा आउट भएपछि शरदको ब्याट केही खुलेको थियो । उनले वसन्त रेग्मीसँग सातौं विकेटमा अन्तिम ५ ओभरभित्र ४० रन जोडे । वसन्त १४ रनमा नटआउट रहे । शरदले ९५ बल खेली ५ चौका प्रहार गरेका थिए ।

शरदको चौथो अर्धशतक र ४ सय रन

-ज्ञानेन्द्र मल्ल र दिलीप नाथले जोडेको ४३

रन नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो विकेटमा दोस्रो ठूलो साझेदारी हो । यसअघि अनिल मण्डल र महेश क्षेत्रीले जुलाइ २०१५ मा स्कटल्याण्डविरुद्ध ४४ रन जोडेका थिए ।

-ज्ञानेन्द्र मल्लको च्याम्पियनसिपमा यो दोस्रो अर्धशतक हो । यसै वर्ष उनले केन्याविरूद्ध कीर्तिपुरमा नटआउट ६४ रन बनाएका थिए ।

-शरद भेषावकर च्याम्पियनसिपमा ४ अर्धशतक बनाउने नेपालका पहिलो खेलाडी हुन् । यूएईविरुद्ध बनाएको ८१ रन च्याम्पियनसिपमा उनको व्यक्तिगत उच्च स्कोर हो ।

-शरद भेषावकरले च्याम्पियनसिपमा ११ खेल खेल्दै ४ सय २ रन बनाएका छन् । सन् २०१५–१७ को च्याम्पियनसिप सर्कलमा ४ सय रन पूरा गर्ने शरद नेपालका पहिलो र कुल आठौं खेलाडी हुन् । पारस खड्काको १० खेलमा ३ सय ९८ र ज्ञानेन्द्र मल्लको १२ खेलमा ३ सय ५२ रन छ ।

-ललितसिंह भण्डारीको नेपाली राष्ट्रिय टोलीबाट यो पहिलो प्रतियोगितात्मक खेल हो । त्यस्तै दिलीप नाथले च्याम्पियनसिपमा पहिलो खेल खेलेका हुन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?