कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व क्रिकेट लिग च्याम्पियनसिप : दीपेन्द्रले दोस्रो खेल पनि नखेल्ने

काठमाडौं — राम्रो फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीबिनै नेपाल शुक्रबार यूएईसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेल खेल्ने भएको छ । नेपाल बुधबार यूएईसँग ७ विकेटले पराजित खेलमा पनि दीपेन्द्रले चोटका कारण खेलेनन् ।

नेपाली क्रिकेट टोलीका फिजियो पूरन तिरुवाका अनुसार दीपेन्द्रलाई मंगलबार अभ्यासका क्रममा मुखमा चोट लागेको थियो । उनको मुखमा ५ टाँका लगाइएको छ । दीपेन्द्रको स्थिति सामान्य रहेको तिरुवले जनाए । मार्चमा केन्यासँग कीर्तिपुरमा भएको च्याम्पिनयसिपको खेलबाट राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका दीपेन्द्रले केन्यासँग अर्को खेलमा ६२ रन बनाएका थिए ।

यूएईसँग खेल्नुअघि केन्यासँगको अभ्यास खेलमा पनि दीपेन्द्रले ३५ बलमा ४६ रन बनाएका थिए । नेपालले दीपेन्द्रको स्थानमा अनिलकुमार साहलाई टोलीमा राखेको छ । अनिल र कुशल भुर्तेललाई अतिरिक्त खेलाडीका रूपमा यूएई भ्रमणमा लगिएको थियो । अमेरिकासँगको अभ्यास खेलमा शून्यमा आउट भएका अनिलले केन्यासँग १३ रन बनाएका थिए ।

टोलीमा समावेश गरिए पनि अनिलले यूएईसँग खेल्न पाउने निश्चित छैन । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी शरद भेषावकरको अर्धशतकमा नेपालले यूएईसँग पहिलो खेलमा २ सय २१ रन बनाएको थियो । त्यो पनि विजयलाई पर्याप्त भएन । ओपनर ज्ञानेन्द्रले ५४ र तेस्रो नम्बरमा खेल्दै शरदले नटआउट ८१ रन बनाएका थिए । अनिल विशेषत: ओपनिङ र तेस्रो नम्बरमा खेल्छन् ।

मध्यक्रममा भने नेपालले केही परिवर्तन गर्न सक्छ । आरिफ शेख र विनोद भण्डारीको प्रदर्शन निकै कमजोर थियो । आरिफ खाता खोल्नुपूर्व नै रनआउट भए भने विनोदले ४ रनमात्र बनाउन सकेका थिए । सागर पुन मध्यक्रममा अलराउन्डरका रूपमा आउन सक्छन् । लामो समयदेखि राम्रो प्रर्दशन देखाउन नसकेकाले विनोद र सागर दबाबमा छन् । सागर खेलेमा भेट्रान स्पिनर शक्ति गौचनले पनि आफ्नो स्थान गुमाउन सक्छन् । यूएईसँग पराजित भएपछि नेपाल कम्तीमा शीर्ष पाँचभित्र पर्ने मौका गुमाएको थियो । ८ राष्ट्रसम्मिलित च्याम्पियनसिपमा यूएईलाई शुक्रबार पराजित गरेमा नेपाल छैटौं स्थानमा यथावत् रहनेछ । यूएईले जितेमा नेपाललाई उछिन्दै टोली छैटौंमा पनेछ ।

प्रकाशित : मंसिर २२, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?