कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेरि एएफसी कप नखेल्ने

राजु घिसिङ

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम प्ले–अफमा टिम दर्ता नगर्दा थ्री स्टार क्लबले सन् २०१७ को एएफसी कप खेल्ने अवसर गुमाएको थियो । आउने सिजन (२०१८) का लागि भने एसियाली क्लब फुटबलको दोस्रो महत्त्वपूर्ण प्रतियोगितामा एन्फाले नेपाली टिम नै पठाएन ।

फेरि एएफसी कप नखेल्ने


त्यसैले नेपाली टिमबिनाको एएफसी कप २०१८ को ‘ड्र’ बुधबार एसियाली फुटबल महासंघ (एएफसी) को मलेसियास्थित कार्यालयमा भयो । ड्र अनुसार ३१ क्लबले समूह चरणमा खेल्ने तय भइसकेको छ भने पाँच टिमको छनोट प्लेअफबाट हुनेछ । त्यस पाँच स्थानका लागि १३ टिमले जनवरीमा प्रतिस्पर्धा गर्दै छन् र प्रारम्भिक चरणको यसै छनोटमा नेपाली टिमले खेल्ने अवसर पाइरहेको थियो ।
‘एएफसी कपमा टिम पठाउने भनेर कुरा भइसकेको छ,’ एन्फाका महासचिव धिरेन्द्र प्रधानले भने, ‘लिग सञ्चालन नभएकाले पछिल्लो पल्टको विजेता थ्री स्टार क्लबलाई नै पठाउने कुरा भएको हो । थ्री स्टार नभए अरु कसैलाई पठाउन सकिन्छ । अहिले कार्यालय बिदा छ भोलि खुलेपछि थाह हुन्छ ।’
थ्री स्टारले दुई वर्षअघि भएको राष्ट्रिय लिग जितेको थियो । त्यसैले उसले सन् २०१७ को एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । थ्री स्टारले उलनबटारमा भएको प्रारम्भिक छनोटमा इर्चिम (मंगोलिया) र नागवल्र्ड (कम्बोडिया) लाई पन्छाउँदै अन्तिम प्ले–अफमा स्थान पक्का गरेको थियो । तर एन्फाले टिम दर्ता नगरेपछि थ्री स्टारले प्ले–अफ खेल्नै पाएन । त्यसैले उसले क्षतिपूर्तिस्वरुप ६ करोड रुपैयाँ माग गर्दै प्रतियोगिता पनि बहिष्कार गरेको थियो ।
काठमाडौं उपत्यकाको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता टोली सन् २००५ देखि एएफसी प्रेसिडेन्ट्स कपमा सहभागी हुँदै आएको थियो । यसको अन्तिम संस्करण २०१४ मा भएको थियो । त्यसयता एएफसीले च्याम्पियन्स लिग र एएफसी कपमात्र आयोजना गरिरहेको छ । एएफसी च्याम्पियन्स लिगपछि महादेशकै ठूलो क्लब प्रतियोगिता हो, एएफसी कप ।
प्रेसिडेन्ट्स कप २०१४ को समूह चरणमा पुगेको आधारमा मनाङ मस्र्याङ्दीले एएफसी कप २०१५ खेल्ने अवसर पाएको थियो । तर उसले आर्थिक समस्या देखाउँदै प्रारम्भिक छनोटको ‘ड्र’ निस्केपछि प्रतियोगिता त्यागेको थियो । घरेलु लिग निरन्तर आयोजना नगरेपछि एन्फाले पछिल्लोपल्टको विजेतालाई एएफसीको प्रतियोगितामा पठाउँदै आएको थियो । तर उसले सन् २०१६ मा कुनै पनि नेपाली क्लबलाई पठाएन । त्यसैले सन् २०१७ मा आएर थ्री स्टार एएफसी कपमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली क्लब बनेको थियो तर उसको सहभागितालाई एन्फाले बीचमै तुहाइदियो ।
पश्चिम, पूर्व, दक्षिणपूर्वी (आसियन), मध्य र दक्षिण गरी एसियाका पाँच क्षेत्रमा एएफसी कप हुने गर्छ । बुधबार सम्पन्न ‘ड्र’ अनुसार दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स, बंगलादेश र भुटानले मात्र टिम दर्ता गरे । भारत, माल्दिभ्स र बंगलादेशका लिग च्याम्पियनले सीधै समूह चरणमा खेल्ने अवसर पाउँछन् भने कप (नकआउट) विजेता वा लिग उपविजेताले छनोटमार्फत् प्रवेश पाउनेछन् । भुटानको लिग च्याम्पियनले पनि छनोट खेल्दै छ ।
नेपाली मिडफिल्डर/डिफेन्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङको क्लब भने आउँदो एएफसी कपमा प्रतिस्पर्धा गर्दै छन् । किरण नम्बर एक गोलकिपरको रूपमा रहेको माल्दिभ्सको टीसी स्पोर्ट्सले धिवेही प्रिमियर लिग उपविजेताका रूपमा प्रारम्भिक छनोटमा बंगलादेशी टिमसँग खेल्नेछ । रोहितको इन्डोनेसियन क्लब पर्सिजा जकार्ताले सीधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । 
नेपाल, श्रीलंका र पाकिस्तानी टिम भने आउने सिजन एसियाली क्लब फुटबलमा हुने छैनन् । प्रारम्भिक छनोट जनवरी २०१८ मा हुनेछ भने अन्तिम प्ले–अफ फेब्रुअरीलाई तोकिएको छ । २६ देशका ३६ टिमले ९ समूहमा रहेर फेब्रुअरीदेखि अप्रिलसम्म खेल्नेछन् । त्यसपछि नकआउट चरण सुरु हुनेछ । फाइनल अक्टोबरमा हुनेछ । एएफसी कपको प्रारम्भिक छनोट खेल्ने टिमले यातायात खर्चस्वरुप २० हजार अमेरिकी डलर पाउने एएफसीले जनाएको छ । प्ले–अफमा पुग्नेलाई थप २० हजार डलर दिइनेछ । क्षेत्रीय विजेताले १ लाख पाउनेछ । च्याम्पियन हुनेले १० लाख र उपविजेताले ५ लाख डलर प्राप्त गर्नेछन् ।


‘क्षतिपूर्ति नदिँदाको असर’
असोज १८ मा थ्री स्टारलाई १ करोड ५० लाख क्षतिपूर्ति दिने र क्लबलाई तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने एन्फाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको रोहवरमा सम्झौता गरेको थियो । सम्झौतामा मंसिर १० भित्र बढीमा तीन किस्तामा उक्त रकम दिने उल्लेख थियो तर एन्फाले हालसम्म थ्री स्टारलाई कुनै रकम दिएको छैन । यसले पनि एएफसी कपको सहभागितालाई असर गरेको थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले बताए ।
‘एएफसी कपमा सहभागी हुन तयारी चाहियो तर थिएन,’ जोशीले भने, ‘गत वर्ष खेल्न नपाएकोमा हामीलाई क्षतिपूर्ति दिने कुरा खाली कागजी रूपमा मात्र भएको छ, व्यावहारिक छैन । त्यसैले पनि एएफसी कपमा असर गर्‍यो । हामीले चाहेर पनि खेलाडी अनुबन्ध गर्न सकिरहेका छैनौं ।’
तोकिएको समयसीमा नाघे पनि क्षतिपूर्ति नपाएपछि अब थ्री स्टारले के गर्छ त ? राष्ट्रिय लिग विजेता क्लब अध्यक्ष जोशीले भने, ‘हाम्रोबाट केही रोकतोक छैन, निकासा निकाल्ने काम एन्फाबाट मात्र अड्कियो । प्रक्रिया पूरा गरेपछि दिनुपर्ने (क्षतिपूर्ति) हो तर दिएको छैन । फुटबल चलाउने वातावरण एन्फाले नै गर्नुपर्‍यो । हाम्रो इच्छा फुटबल नबिग्रियोस् भन्ने हो । फुटबलबाट पलायनको स्थिति नआओस् भन्ने हो । चाँडै बैठक बसेर अब के गर्ने भन्ने तय गर्ने छौं ।’
एएफसीका अध्यक्ष शेख सलमान असोजमा नेपाल भ्रमणमा आएका थिए । त्यसबेला एन्फा पदाधिकारीले थ्री स्टारलाई एएफसी कपमा सहभागी गराउन गरिएको अनुरोधलाई सलमानले सहजै स्वीकार गरेको एन्फाका प्रवक्ता सन्जीव मिश्रले बताए ।

प्रकाशित : मंसिर २३, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?