कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी फाइनलमा

वेदराज पौडेल

दुहबी (सुनसरी) — त्रिभुवन आर्मी क्लब बिहीबार अग्नि रूपन्देही एघारलाई ४–० ले हराउँदै मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि दाबेदार बनेको छ ।

आर्मी फाइनलमा


आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबविरुद्ध शनिबार दुहबी रंगशालामा उपाधि भिडन्त गर्नेछ । रूपन्देहीले तीन नाइजेरियनसहित आफ्नो टिमलाई मैदान उतारे पनि लय गुमाउँदा यात्रा टुंग्याएको छ ।
पहिलो हाफको २० मिनेट रूपन्देहीले आर्मीलाई निकै दबाबमा राख्यो । दबाबमा राखे पनि गतिलो प्रहार गर्न नसक्दा स्कोर गर्न सकेन । केही समय लय गुमाएको आर्मी पुरानै फर्ममा आएपछि खेल अवधिभर विपक्षीमाथि हाबी भयो । सबै गोल मध्यान्तरपछि भयो । आर्मीले नवयुग श्रेष्ठको गोलबाट खेलमा अग्रता बनायो । ५३ औं मिनेटमा पेनाल्टी बक्समा नवयुगले गोलरक्षक सुजित गुरुङ अगाडि बढेको मौकामा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै ६३ औं मिनेटमा अर्को गोल भयो । नवयुगसँगै दौडेका नीरज बस्नेतले पोस्ट नजिक पुगेपछि बल बाहिर प्रहार गर्ने क्रममा नवयुगको तिघ्रामा लागेर गोलमा परिणत भयो ।
यसबीचमा रूपन्देहीले पनि गोल प्रयास नगरेको होइन । ७३ औं मिनेटमा विजय धिमालको पासमा अमर डंगोलले गरेको हेड पोस्ट माथिबाट बाहिरियो ।
आर्मीका भरत खवासले मध्यभागबाट एक्लैले लगेको बल प्रहार गर्दा चिप्लेर सन्तुलन गुमाएपछि फितलो प्रहार भयो ।
आर्मीका जर्ज प्रिन्स कार्कीले पाएका दुई अवसर सदुपयोग गर्न सकेनन् । एउटा किपर सुजितले बचाए भने अर्को प्रहार पोस्टको दायाँतिरबाट बाहिरियो । तर उनले तेस्रो मौका भने चुक्न दिएनन् । ८० औं मिनेटमा नवयुगको कडा प्रहार गोलरक्षक सुजित गुरुङले डाइभ हानेर बचाउने प्रयास गरे पनि हातबाट बल फुत्कियो । त्यसमै जर्ज प्रिन्स गोल गर्न सफल भए ।
नवयुगले भने ह्याट्रिक गर्ने मौका चुकाए । पोष्ट नजिक पाएको बल सदुपयोग गर्न सकेनन् । रूपन्देहीका आवालाई टयाकल गर्दा प्राप्त फ्रि–किक जिमीले प्रहार गरे । उनको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले विफल बनाइदिए । रूपन्देहीका रुपेश केसीले पनि अवसर गुमाए । तर ८९ औं मिनेटमा पेनाल्टी बक्सभित्र नवयुगले दिएको पासमा दीप लामाले टोलीका लागि चौथो गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग भए ।
रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले आफ्नो टोलीले अपेक्षाकृत राम्रो प्रर्दशन गर्न नसकेको बताए । उनले भने, ‘मेरा खेलाडीले १० प्रतिशतमात्र पर्फमेन्स दिन सके ।’ आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टिमको रणनीति विपक्षीलाई सुरुदेखि नै दबाबमा राख्नु भए पनि आफूहरूलाई लयमा फर्कन झन्डै २० मिनेट लागेको बताए । सुरुमा हाफ ग्राउन्डमै रहे पनि लयमा फर्केपछि विपक्षीलाई पूरै दबाबमा राखेर एकपक्षीय नजिता निकाल्न सफल भएको उनले बताए ।

प्रकाशित : मंसिर २९, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?