कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चितवन टाइगर्सका खेलाडी सार्वजनिक

काठमाडौं — स्तरिय क्रिकेट खेलेर दर्शकलाई सन्तुष्टि प्रदान गर्ने लक्ष्यसाथ चितवन टाइगर्सले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि शनिबार आफ्नो टिमका खेलाडी सार्वजनिक गरेको छ ।

चितवन टाइगर्सका खेलाडी सार्वजनिक


टिमका विदेशी खेलाडीमा प्रवीण गुप्ता, सावेज खान र प्रमेश कुमार छन् । उनीहरू सबै भारतबाट आएका हुन् । उत्तर प्रदेशका प्रवीणले रणजी ट्रफीका ५३ खेल खेलिसकेका छन् । दिल्लीका सावेज र हरियाणाका प्रमेशले स्थानीय क्लब स्तरको प्रतियोगिता खेल्दै आएका छन् । सबै खेलाडीलाई चितवन टाइगर्सले शनिबार पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो ।
पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्समा राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् । अनिल मण्डल, दिलीप नाथ, सुनाम गौतम, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहश आलम, आकाश थापा र गौतम केसी छन् । आकाश टयालेन्ट हन्टबाट आएका खेलाडी हुन् । गौतम पनि टयालेन्ट हन्टकै खेलाडी हुन् । उनी चितवन टाइगर्सको खेल्ने सूचीमा नरहे पनि उहाँलाई चितवनले प्रशिक्षण गर्ने व्यवस्था मिलाइदिनुका साथै सबै सुविधा प्रदान गर्नेछ । टोली प्रशिक्षकमा कलाम अली र दीपेन्द्र चौधरी तथा टिम म्यानेजरमा सुवास खकुरेल छन् । चितवन टाइगर्सले आफ्ना सबै खेलाडीको ५० हजारबराबरको स्वास्थ्य बिमा र १ लाखबराबरको दुर्घटना बिमा गरेको जनाएको छ ।
टोलीका सहमालिकमा रोम श्रेष्ठ र कुशल केसी छन् । रोम नेपालबाट यू–१९ खेलिसकेका खेलाडी हुन् । कर्पोरेट क्षेत्रका प्रतिष्ठित नाम रवि केसी टोलीका प्रमुख सल्लाहकार हुन् । प्रायोजकमा गोर्खा ब्रुअरी, सूर्य नेपाल, यती ड्रिस्टिलरी, सूर्य लाइफ इन्स्योरेन्स, सिटिजन बैंक छन् । चितवन टाइगर्सको स्लोगान ‘गर्ज गर्ज चितवन टाइगर्स’ छ । टोलीका मालिक किशोर भट्टराईले आफूले टिम लिएपछि नाम चितवन राइनोज राख्न खोजेको तर पोखराले राइनोज राखेका कारण टाइगर्स नामाकरण गरेको जनाए । उनले टिममा ल्याइएको विदेशीको पारिश्रमिक सम्झौता भने खुलाउन चाहेनन् ।
पृथुको बचाउमा टिम
चितवन टाइगर्सले आफ्ना कप्तान पृथु निर्दोष रहेको दाबी गरेको छ । अमेरिकन डिजे मार्समेलोको बुधबार राति दरबारमार्गस्थित डेजाभु नाइट क्लबमा कार्यक्रम तय थियो । तर मार्सेमेलो अनुपस्थित रहेपछि दर्शकले आयोजनास्थल डेजाभु तोडफोड गरेको थियो ।
प्रहरीले त्यसपछि पृथुसहित डेजाभुसँग जोडिएका व्यक्तिलाई सञ्चालक भनी प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन टाइगर्सले पृथु डेजाभुका सञ्चालक नभई शेयरधनीमात्र भएका कारण आफ्ना खेलाडी दोषी नभएको जिकिर गरेको हो । मार्सेमेलोको कार्यक्रमको आयोजक डेजाभु नभएर अर्कै कोही इभेन्ट कम्पनी रहेकाले पनि पृथु निर्दोष रहेको चितवनको बुझाइ छ ।
‘प्रहरीले सोधपुछका लागि राखिएका पृथुलाई बिनाकसुर भएकाले चाँडै फुकुवा गर्ने चितवन टाइगर्सको बुझाइ छ । यस विषयमा पृथुलाई आवश्यक सहयोगका लागि चितवन टाइगर्स तयार छ,’ टोलीका मालिक भट्टराईले भने । प्रहरीले पृथुलगायतलाई ठगी मुद्दा लगाएकाले उनले ईपीएलमा खेल्ने निश्चित छैन ।
यस्तो अवस्थामा टोलीको नेतृत्व कसलाई दिने भन्ने प्रश्नमा भट्टराईले भने, ‘हामीले अहिलेसम्म पृथुको विकल्पबारे सोचेका छैनौं, किनभने पृथु निर्दोष छन् भन्ने हाम्रो बुझाइ हो । आइतबारसम्म प्रहरी हिरासतबाट छुट्छन् भन्ने हामीलाई लागेको छ । भएन भने टिम मिटिङ गरेर हामी विकल्प खोज्छौं ।’

बलियो चुनौती पेस गर्छाैं
कलाम अली, प्रशिक्षक, चितवन टाइगर्स
दस दिनदेखि हाम्रो टोली प्रशिक्षणमा छ । राष्ट्रिय टोली र विदेशी खेलाडीको आगमनले टोलीमा उर्जा थपिएको छ । विदेशीसँग धेरै समय काम गरेका छैनौं । उनीहरू राम्रा खेलाडी हुन् र टोलीमा समन्वय बढेसँगै थप सहज हुनेछ । राष्ट्रिय टोलीका दीपेन्द्र, ललित र दिलीप टोलीमा छन् । उनीहरूको उपस्थितिले टोली बलियो बनेको छ । अन्य टोली पनि राम्रा छन् तर हामीले सबैलाई बलियो चुनौती पेस गर्नेमा विश्वस्त छु । पहिलो संस्करणमा पञ्चकन्या तेजबाट उपाधि जितेको थिएँ । यसपालि पनि त्यसैलाई दोहोर्‍याउने आस छ । हाम्रो पहिलो लक्ष्य दोस्रो चरणमा स्थान बनाउनु हुनेछ ।

स्तरीय क्रिकेटको लक्ष्य
किशोर भट्टराई, मालिक
ईपीएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास छ । विश्व क्रिकेटमा राम्रो गतिमा नेपाली क्रिकेट अगाडि बढिरहेको हुनाले केही गरौं भनेर हामी यसमा आबद्ध भएका हौं । नेपाली क्रिकेटमा यस्तो प्रतियोगिताहरू हुन जरुरी छ । मुख्य पक्ष भनेको यस्ता प्रतियोगिताले निरन्तरता पाउनु पर्छ । जसले खेलाडीदेखि, मालिक, आयोजक र प्रायोजक सबैलाई फाइदा पुगोस् ।
हामी चितवन टाइगर्स बनाउन निकै मिहिनेत गरेका छौं । अहिलेको स्थितिमा हाम्रो खर्च १ करोड रुपैयाँ पुगिसकेको छ । त्यसमध्ये ८० लाख प्रायोजकबाट जुटाएका छौं । फ्रेन्चाइज क्रिकेट भनेको व्यावसायिक क्रिकेट हो, त्यहीअनुरुप व्यावसासिक घरानालाई यस्ता प्रतियोगितामा स्थान दिन जरुरी छ । प्रायोजकहरू आएसँगै नेपाली क्रिकेट अझ उचाइमा पुग्न सक्छ । हाम्रो युवा टोली छ । जित–हारभन्दा पनि स्तरीय क्रिकेट खेल्ने हाम्रो लक्ष्य हो । यसले दर्शकलाई सन्तुष्टि दिन्छ । टिममा यत्रो लगानी गरिसकेपछि जितको आशा राख्नु स्वाभाविक नै हो ।

प्रकाशित : पुस २, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?