इंग्ल्यान्डको सम्भावना पातलिँदै

एएफपी

पर्थ — अस्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ र मिचेल मार्सले तेस्रो दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि एसेज सिरिजको तेस्रो टेस्टमा अस्ट्रेलियाले बलियो पकड बनाएको छ । पाहुना टोलीको खेल जित्ने सम्भावना टाढा रहेकाले बाँकी दुई दिन वर्षाको सम्भावना हार टार्ने एकमात्र बाटो देखिन्छ ।

इंग्ल्यान्डको सम्भावना पातलिँदै

दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलिया ४ विकेटमा ५ सय ४९ बनाएर खेलिरहेको छ । कप्तान स्मिथ २२९ र मार्स १ सय ८१ रनमा अविजित छन् । अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ४६ रनको अग्रता लिएको छ । उसको हातमा ६ विकेट बाँकी छ ।
सिरिजमा २–० ले अगाडि रहेको अस्ट्रेलियाले यो खेल जितेमा शृंखला हत्याउने छ । स्थानीय मौसमले खेल बिथोलेको खण्डमा मात्र इंग्ल्यान्डले सिरिजमा कुनै नतिजा निकाल्ने सम्भावना रहेको छ । चौथो दिनमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् । इंग्ल्यान्डका लागि तेस्रो दिन निकै खराब रह्यो । इंग्ल्यान्डका बलरले एक विकेट निकाल्दा ३ सय ४६ रन खर्चे । स्मिथले करिअरको दोस्रो दोहोरो शतक बनाउने क्रममा एक वर्षमा १ हजार रन पनि पूरा गरे । उनले टेस्टमा आफ्नो सर्वाधिक स्कोर बनाए । घरेलु मैदानमा खेलिरहेका मार्सले पुनरागमन गर्दै टेस्टमा पहिलो शतक बनाए ।
स्मिथ र मार्सले पाँचौं विकेटमा अविजित ३ सय १ रन जोड्ने क्रममा इंग्ल्यान्डलाई कुनै मौका दिएनन् । यो वाका मैदानमा इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सबैभन्दा ठूलो साझेदारी पनि हो । अघिल्लो दिन ९२ रनमा रहेका स्मिथले १३८ बलमा आफ्नो २२ औं शतक पूरा गरेका थिए । १ सय सातौं इनिङ्समा २२ औं शतक बनाउने क्रममा उनी डन ब्रेडम्यान (५८) र सुनील गावस्कार (१०१) भन्दा पछाडि रहे । उनले ३ सय १ बलमा दोहोरो शतक बनाउँदा २६ चौका र १ छक्का हाने ।
जारी टेस्टमा मार्सको आगमनसँगै केही विवाद उब्जिए पनि उनले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै सबै आलोचकलाई निराश पारे । पहिलो इनिङ्समा क्याच ड्रप गरेर बलिङमा जम्न नसकेका मार्सले इंग्ल्यान्डका खेलाडीलाई कुनै मौका दिएनन् । उनले १ सय ३० बलमा शतक पूरा गर्दा राम्रो शटहरू खेलेका थिए ।

प्रकाशित : पुस २, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?