मनाङलाई दुहबी गोल्डकप

वेदराज पौडेल

दुहबी (सुनसरी) — फाइनलमा आफूलाई सुधार्दै मनाङ मस्र्याङ्दी क्लबले शनिबार परिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै मनमोहन दुहबी गोल्डकप फुटबलको ट्रफी जितेको छ ।

मनाङलाई दुहबी गोल्डकप


च्याम्पियन मनाङले ४ लाख रुपैयाँ पुरस्कार जित्यो । काँकडभिट्टा र सताक्षी गोल्डकपको फाइनलमा झै सहज जितको अपेक्षा गरेको आर्मीले मनाङलाई दबाबमा राख्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्‍यो । आर्मीले २ लाख पुरस्कार पायो । आर्मीसँग अघिल्ला दुई फाइनलको कमजोरी सुधार्दै मनाङले भने उत्कृष्ट प्रर्दशन गरेको थियो ।
पहिलो हाफमा १–१ बराबरी रहेको खेलको दोस्रो हाफको १४ औं मिनेटमा मनाङका लागि विमल रानाले गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले खेलमा अग्रता लिएको थियो । त्यसलाई मनाङले २७ औं मिनेटमा विशाल राईको गोलमार्फत बराबरीमा ल्याएको थियो ।
सुरुको पाँचौं मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथु अगाडि बढेको मौकामा मनाङका अनिल गुरुङले गरेको प्रहार पोस्ट नजिकबाट सुमन अर्यालले बचाए । १५ औं मिनेटमा आर्मीका सन्तोष तामाङको प्रहारले पनि लक्ष्य भेट्न सकेन । आर्मीका दिनेश हेम्जनको राम्रो पासलाई नवयुगले उपयोग गर्न सकेनन् । उनको प्रहार पोस्टको दायाँबाट बाहिरियो । तर १६ औं मिनेटमा मध्यभागबाट आफैंले लगेको बल नवयुगले प्रहार गर्दा पोलमा ठोक्किएर गोलमा परिणत भयो । नवयुगले २४ औं मिनेटमा पनि अवसर पाए । तर उनको सोझो प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाए ।
मनाङका विशाल राईले २७ औं मिनेटमा २५ यार्डबाट हानेको प्रहार सिधैं गोल भएको थियो । विकेश कुथुको गल्तीको फाइदा उठाउँदै विशालले बराबरी गोल गरे । मनाङका प्याट्रिकले आर्मीका नवयुगलाई फाउल गर्दा प्राप्त फ्रि–किक जर्ज प्रिन्स कार्कीले सदुपयोग गर्न सकेनन् । ३० औं मिनेटमा जर्ज प्रिन्सको प्रहार गोलरक्षक दिनेशले रिबाउन्ड हुँदा पेनाल्टी बक्सभित्र भरत खवासले पाए । तर भरतको प्रहार पोस्ट माथिबाट बाहिरियो ।
तीव्र गतिमा खेल्ने आर्मीको रणनीति मनाङले दोस्रो हाफपछि थप विफल बनायो । लगातार आक्रमण गर्‍यो तेस्रो मिनेटमै मनाङका विराज महर्जनले गतिलो प्रहार गरे । तर पोस्ट दायाँछेउबाट बाहिरियो । बुद्ध चेम्जोङको अर्काे प्रहार सफल भएन । आर्मीका जर्ज प्रिन्सको प्रहार गोलरक्षक दिनेशले बचाए । १४ औं मिनेटमा मनाङका विमल रानाले गोल गरे । सुजल श्रेष्ठको पासमा विमलले पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार गोलमा परिणत भयो । विमलमा मनाङ खेलमा २–१ ले अगाडि रह्यो । ३६ औं मिनेटमा आर्मीका सन्तोष तामाङको प्रहार मनाङका डिफेन्डर अनन्त तामाङले हेडबाट बचाउँदै संकट टारेका थिए ।
आर्मीलाई रोक्न मनाङले दोस्रो गोलपछि रक्षात्मक खेलेपछि थप गोल हुन सकेन । यद्यपि यसबीचमा भरत खवासले सिधै पोस्टमा प्रहार गरे । दुर्भाग्य, उनको प्रहार पोलमा लागेर फर्कियो ।
सर्वाेत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठ भए । उनले २५ हजार रुपैयाँ पाए । सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए । तीन गोल गरेका उनले १५ हजार पाए । उत्कृष्ट प्रशिक्षक मनाङका प्रशिक्षक छिरिङ लोप्साङ भए । उनले १० हजार जिते । उदीयमान खेलाडीको पुरस्कार आायेजक एलेभेन एरोजका श्रीजित कार्की भए । उनले ५ हजार पाए । मनाङका दिनेश उत्कृष्ट गोलरक्षक भए । उनले १० हजार पुरस्कार पाए । विशाल राई म्यान अफ द म्याच भए । उनले ५ हजार पाए ।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले मनाङको दोस्रो गोलपछि खेलमा सुधार आउन नसक्दा हार बेहोर्नु परेको बताए । उनले भने, ‘खेलाडीको पर्फमेन्स राम्रो भए पनि गोल गर्नुपर्ने दबाबका कारण खेल सन्तुलित हुन सकेन । धेरै अवसर आए पनि त्यसको सदुपयोग गर्न चुक्दा सफल भएनौं ।’
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले नथाक्ने आर्मीका खेलाडी र उनीहरूको पर्फमेन्स झन् बलियो हुने कुरा विचार गरेर त्यहीअनुसारको रणनीति बनाएकाले नतिजा निस्केको बताए ।
उनले भने, ‘आर्मीविरुद्ध ९० मिनेटभित्र नै जित निकाल्न सक्नुले मनाङको खेलमा सुधार भएको संकेत गर्छ ।’

प्रकाशित : पुस २, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?