काठमाडौं — फाइनल खेलमा सुरुआती जोडीको ब्याटिङ चलेपछि नेपालले प्रथम ह्विलचियर क्रिकेट च्याम्पियनसिप २०१७ को उपाधि जितेको छ । बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो ।
टस हारेर ब्याटिङ निम्तो पाएको नेपालका लागि डिगमसिंह चेम्जोङ र नवीन राईले पहिलो विकेटमा १ सय ४९ रनको साझेदारी गरेका थिए । डिगम ७९ रनमा अविजित रहँदा नवीनले ५९ रन जोडे । देव्रे र दाहिने हाते जोडीले बंगलादेशका बलरलाई कुनै मौका दिएनन् ।
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश १ सय ६ रनमा अलआउट भयो । १९ औं ओभरमा अलआउट भएको बंगलादेशका लागि मोर्साद आलमले सर्वाधिक २० रन जोडे । नेपालका विपिन खत्रीले तीन तथा विष्णु अधिकारी, रामबहादुर तामाङ र हिमाल अर्यालले १–१ विकेट लिए ।
प्रतियोगिताका तीन खेलमा १ सय २५ रन जोडेका नवीन राई उत्कृष्ट ब्याट्सम्यान चुनिए । सात विकेट लिएका विपिन पौडेल बेस्ट बलर चुनिँदा राजु गुरुङ उत्कृष्ट विकेटकिपर भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै डिगमसिंहले पाए । उनले तीन खेलमा १ सय ३० रन जोडेका थिए । स्पर्धामा भारतसहित तीन राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित : पुस २, २०७४ ०९:२३