कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हल्चोकमा नर्सहरू दौडिए

काठमाडौं — बिरामीको स्वास्थ्योपचारमा सक्रिय भूमिका खेल्ने नर्सहरू शनिबार रंगशालाको ट्रयाकमा देखिए । अस्पतालमा सधैं सेतो ड्रेसकोडमा चौबिसै घण्टा बिरामीको सेवामा तल्नीन नर्सहरू ट्रयाकमा फरक–फरक पोसाकमा थिए ।

हल्चोकमा नर्सहरू दौडिए


हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशलामा उनीहरू भेला भएका थिए त दौड्नका लागि । प्रथम नर्सेस एथलेटिक्स मिट भएकाले उनीहरू दौड्न पनि त्यत्तिकै उत्साही थिए ।
राजधानीका विभिन्न ९ अस्पतालका झन्डै २ सयभन्दा बढी नर्सले दौडमा सहभागिता जनाए । ‘स्वस्थ रहनु नै दौड्नु’ भन्ने नारासहित डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले एथलेटिक्स मिट गरेको थियो । मिटमा ५ विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा वीर अस्पतालकी सुक्दिकी शेर्पाले दोहोरो स्वर्ण जितिन् । उनले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले २.५ किलोमिटर दौडमा पनि कांस्य जित्दै तीन पदकको हकदार भइन् ।
सुक्दिकीले १ सय मिटर दूरी १७.९८ सेकेन्डमा पूरा गरिन् । पाटन अस्पतालकी कोकिला राउत दोस्रो र सविना महर्जन तेस्रो भए । ४ सय मिटर दूरी पार गर्न सुक्दिकीले १ मिनेट २८.७२ सेकेन्ड लगाइन् । एमसीभीटीसीकी दीपिका राईले रजत र नेपाल क्यान्सर अस्पतालकी युमा राईले कांस्य जिते । २ सय मिटर दौड ३७.५६ सेकेन्डमा पूरा गर्दै अल्काकी सरस्वती विजेता भइन् । पाटनकी कोकिला दोस्रो र ओमकी सीता धामी तेस्रो भए ।
स्वयम्भू परिक्रममा गराइएको २.५ किलोमिटर दौडमा एमसीभीटीसीकी दीपिका राईले स्वर्ण, नेपाल प्रहरी अस्पतालकी खुशी हिराचनले रजत र सुक्दिकीले कांस्य जितेका थिए । ब्लु क्रसको आन्तरिक १ सय मिटर दौडमा राजन थापा, पोखरीप्रसाद ढकाल र सन्दीप रन्जितकार पहिलो तीन स्थानमा विजयी भए । पूर्व खेलाडी तथा प्रतिष्ठानका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले विजेतालाई पुरस्कृत गर्दै सबैलाई व्यावसायिक खेलाडी बन्न नसके पनि स्वस्थ रहन दौड आवश्यक रहेको सुनाए ।
एकदिने मिट भए पनि उत्साहजनक सहभागिताले यसलाई निरन्तरता गर्न उर्जा थप्ने फाउन्डेनका महासचिव रजत श्रेष्ठले बताए ।

प्रकाशित : पुस २, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?