कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएल आजबाट सुरु

काठमाडौं — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करण सोमबारदेखि राजधानीमा सुरु हुँदैछ । ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको विजयी टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । ठूलो रकमको प्रतियोगिता भए पनि यसपटक विदेशी खेलाडीको सहभागिताले सबैको नजर त्यसतर्फ तानिएको छ ।

ईपीएल आजबाट सुरु


विश्वकप क्रिकेटमा फाइनल पुगेको टोलीका सदस्य रहेका फरवेज महारुफदेखि एसोसिएट क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा स्थापित गरिसकेका अनुस्मन रथ प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि मात्र आईसीसीको मान्यता पाएका कारण अझै ठूला नाम ल्याउन सफल नभएको टोली मालिकहरूको दाबी छ । यद्यपि पहिलो संस्करणमै नाम चलेका स्टारहरूको आगमनले प्रतियोगितामा अझै उत्साह थपेको छ । राष्ट्रिय टोलीमा स्थापित नामसँगै युवा खेलाडीहरूको उपस्थितिले क्रिकेट विकासमा पनि टेवा पुग्ने पक्का छ ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले नेपाली क्रिकेटको विकासमा यस प्रतियोगिताले ठूलो मदत पुग्ने बताए । ‘हामीले यस प्रतियोगिता आयोजना गर्न निकै मिहिनेत गरेका छौं । यसले खेलाडीदेखि दर्शक र टोली मालिक सबैलाई जित–जितको अवस्थामा पुर्‍याएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको खेलको मजा दर्शकले लिनेछन् । खेलाडीले पनि आफ्नो स्तर उकास्ने राम्रो अवसर पाएका छन्,’ उनले भने । प्रतियोगिताको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 
ललितपुर र काठमाडौं भिड्दै
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर प्याट्रिएट्स र श्रीलंकाली खेलाडी महारुफको कप्तानीमा रहेको काठमाडौं किङ्स ११ भिड्दैछन् । ललितपुरको टोलीमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाइसकेका योगेश नागरसँगै भारतीय खेलाडी जयकिशन कोस्लावाला र सुबोध भाटी छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने र महबुब आलमले ललितपुरको टोलीलाई थप बलियो बनाउनेछन् । टोलीमा यू–१९ टोलीका पवन सर्राफ र रसिद खान पनि छन् । टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । 
यता काठमाडौंमा कप्तान महारुफसँगै अर्का श्रीलंकाली खेलाडी अक्षु फर्नान्डो पनि छन् । मध्यक्रमका ब्याट्सम्यान फर्नान्डोसँगै भारतीय ब्याट्सम्यान सगर कुमारले टोलीलाई थप बलियो बनाएका छन् । टोलीमा मार्की खेलाडीका रूपमा सोमपाल कामी छन् भने राष्ट्रिय टोलीका सागर पुन पनि छन् । सिद्धान्त लोहनी, जितेन्द्र मुखिया र नरेश बुढाऐरको उपस्थितिले टोली मजबुत देखिएको छ । टोलीको प्रशिक्षक मनोज कटुवाल छन् ।


आजको खेल
ललितपुर प्याट्रिएट्सविरुद्ध काठमाडौं किङ्स ११ 
बिहान ११:०० बजे
टीयू मैदान, कीर्तिपुर


आ–आफ्नै दाबी


फरवेज महारुफ
कप्तान, काठमाडौं किङ्स ११
म नेपाल आएको दुई दिन मात्र भए पनि टोलीको प्रशिक्षणमा राम्रो समय बित्यो । प्रशिक्षणमा हेर्दा टोली निकै बलियो पाएको छु । म आफ्नो अनुभवका आधारमा टोलीलाई अझै बलियो बनाउने प्रयास गर्नेछु । युवा टोलीमा निकै जोस पाएको छु । विदेशी खेलाडीको प्रदर्शन पनि राम्रो रहने अपेक्षा राखेको छु । हामी सबैको संयुक्त प्रयासलाई मैदानमा उतारेर सक्दो राम्रो नतिजा ल्याउने लक्ष्य छ ।

ज्ञानेन्द्र मल्ल
कप्तान, ललितपुर प्याट्रिएट्स
राष्ट्रिय टोलीको खेलका कारण तयारी सोचेजस्तो राम्रो हुन सकेन । पाएको समयको सक्दो सदुपयोग गरेर टोलीको प्रशिक्षणलाई अगाडि बढायौं । टोलीको आवश्यकताअनुसार विदेशी खेलाडीलाई समावेश गरेका छौं । उनीहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । सबै टोली उत्तिकै बलिया छन् र विदेशी खेलाडीका कारण झनै मजबुत भएका छन् । सबै टोलीको उत्तिकै सम्भावना रहेको छ ।

दीपेन्द्र सिंह ऐरी
मार्की खेलाडी, चितवन टाइगर्स
टोलीको तयारी राम्रो भइरहेको छ । राष्ट्रिय टोलीका खेलाडी नहुँदा पनि दुई साता अगाडिदेखि टोलीले तयारी गरिरहेको थियो । आफ्नो प्रदर्शनलाई बढी ध्यान दियौं भने नतिजा अवश्य राम्रो आउँछ । 
 

शरद भेषावकर
कप्तान, भैरहवा ग्ल्याडियटर्स
अक्सनमा सोचेअनुसार टोली गठन गर्न सकेका थियौं । त्यसैले अहिले प्रशिक्षणमा पनि टोली राम्रो देखिएको छ । अब मैदानमा पनि त्यसैअनुसार उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ । विदेशी खेलाडीको आगमनले लिगलाई अर्को स्तरमा पुर्‍याएको छ । सबैले केही सिक्ने मौका पाउने आशा गरेको छु । 

पारस खड्का
कप्तान, विराटनगर वारियर्स
टोलीले विगत डेढ सातादेखि राम्रो तयारी गरेको छ । प्रतियोगिताले आईसीसीको मान्यता पाएसँगै सबै खेलाडीले राम्रो प्लेटफर्म पाएका छन् । विशेषत: युवा खेलाडीले आफ्नो प्रतिभा देखाएर अगाडि बढ्ने मौका छ । हामीले प्रतियोगिता जित्ने लक्ष्य राखे पनि त्यसलाई हासिल गर्नु उत्तिकै चुनौतीपूर्ण छ । अन्य टोली पनि बलिया छन् त्यसैले नतिजा अहिले आकलन गर्न सकिन्न ।

शक्ति गौचन
कप्तान, पोखरा राइनोज
भाग्य नै भन्नुपर्छ हाम्रा विदेशी खेलाडी पनि समयमै आइदिए । त्यसले गर्दा हाम्रो नेपाली खेलाडीले उनीहरूसँग अभ्यास गर्न पनि पाए । छोटो समयमै टिमको फर्मेसन गर्न पायौं । प्रतियोगितामा सुरुआत कस्तो हुन्छ र प्रतियोगिता दौरान कस्तो लय समात्छौं त्यसमा टिमको प्रदर्शन भर पर्छ । पोखराको टिम भएर पोखरामै हाम्रो अभ्यास भयो । विकेट त्यस्तो स्तरीय नभए पनि हाम्रो अभ्यास राम्रो भएको छ ।

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?