विराटनगरमा हङकङका स्टार

काठमाडौं — नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले हङकङका स्टार ब्याट्सम्यानद्वय अनुस्मन रथ र बाबर हायातलाई टोलीमा समेटेको छ । गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष तीन ब्याट्सम्यानमध्येका यी दुई खेलाडीले विराटनगरबाट खेल्ने भएका हुन् ।

विराटनगरमा हङकङका स्टार

रथ टोलीमा सामेल भइसकेका छन् भने हङकङका कप्तान हायात सोमबार राजधानी आइपुग्नेछन् । टोलीले तेस्रो विदेशी खेलाडीको टुंगो भने केही दिनमा लगाउने कप्तान पारसले बताए ।
आइतबार एक कार्यक्रमबीच विराटनगरले जर्सी अनावरणसँगै आफ्नो टोलीको घोषणा गर्‍यो । यसबीचमा ट्यालेन्ट हन्टमार्फत छनोट गरिएका खेलाडीको नाम पनि सार्वजनिक भएको छ । टोलीले ट्यालेन्ट हन्टबापत चार खेलाडी छनोट गरेकामा राजन मगर नेपाली यू–१६ राष्ट्रिय टोलीमा समेटिँदै एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगितामा विजयी भएका थिए । कप्तान खड्काले टोलीमा बलर चाहिएका कारण लेफ्ट आर्म स्पिनर दीपेश कँडेल समेटिएको जानकारी गराए ।
कप्तान खड्काले युवा जोसले भरिपूर्ण टोलीले उपाधिका लागि मैदानमा उत्रने बताए । ‘पछिल्लो सिजन विशाल वारियर्सबाट खेल्दा वर्षा बाधक बनेको थियो । यसपटक हाम्रो टोली निकै राम्रो बनेको छ । तर मैदानमा प्रमाणित नगर्दासम्म कागजमा बलियो हुनुले केही अर्थ राख्दैन । हाम्रो प्राविधिक टोलीले पनि निकै मिहिनेत गरेको छ । सबैको मिहिनेतको फल राम्रो हुने अपेक्षा गरेको छु,’ उनले भने ।
विराटनगरमा कप्तान खड्का र दीपेशसँगै उपकप्तान वसन्त रेग्मी, करण केसी, अभिनाश कर्ण, प्रनित थापा मगर, आसिफ शेख, पुष्प थापा, अनिलकुमार साह, सुमित महर्जन, आकाश विष्ट र रामनरेश गिरी रहेका छन् । टोलीको प्रशिक्षकमा महेश रिजाल र सहायक प्रशिक्षकमा शंकर राना छन् । टोली व्यवस्थापकमा रौनक मल्ल र फिजियोथेरापिस्टमा दिनेश भट्ट छन् ।
टोलीको मालिक विशाल अग्रवाल र सहमालिक अनुज अग्रवाल छन् । सहमालिक अनुजले विराटनगर वारियर्स लामो यात्रा तय गर्न मैदान उत्रिएको बताए । ‘हामीले क्रिकेट विकासका लागि यसमा हात हालेका हौं । यस प्रतियोगिताको समापनपश्चात पनि हामी टोलीसँगै रहेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । हाम्रा खेलाडीहरू मैदानमा विराटनगर सहरको प्रतिनिधित्व गरिरहेका हुनेछन् । हामीले आफ्नो ठाउँलाई क्रिकेटको सहर बनाउन विभिन्न योजना ल्याउने जमर्को गरेका छौं,’ उनले भने । टोलीको मुख्य प्रायोजकमा एनआईसी एसिया बैंक रहेको छ भने स्निकर्स र हाइलाइफ सुज सहप्रायोजक छन् ।

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?