कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल अपराजित च्याम्पियन

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट

काठमाडौं — नेपाल अपराजित रहँदै एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगिताको आइतबारको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो ।

नेपाल अपराजित च्याम्पियन


विशालविक्रम केसीको अर्धशतक र नारायण जोशीको आक्रामक ब्याटिङपछि बैंककस्थित ट्रेड थाई क्रिकेट मैदानमा टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाई १ सय ८३ रन बनायो । जवाफमा सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमै अलआउट भयो ।
नियमित कप्तान रीत गौतम अस्वस्थ भएपछि उनीबिनै नेपालले फाइनल खेलेको थियो । नेपालका टिम निर्देशक विनोद दासका अनुसार ओठमा एलर्जी भएका रीत ज्वरो पनि आएका कारण खेल्न नसक्ने भएका हुन् । डाक्टरलाई देखाएपछि उनलाई सुई लगाइएको विनोदले जनाए ।
‘नेपालको यो विशेष सफलता हो किनभने हामीले तीन साताअघि मात्र यो प्रतियोगिताका लागि टिम छानेर तयारी सुरु गरेका थियौं, त्यसैले यो विशेष छ,’ दासले बैंककबाट भने । नेपाली टोलीको प्रशिक्षकमा जंगबहादुर थापा र दीपेन्द्र चौधरी छन् ।

ट्रफी लिंदै नेपाली टिमका कप्तान र उपकप्तान । तस्बिर : सीएटी

नेपालले तीन वर्षअघि मलेसियामा एसीसी यू–१६ प्रिमियरको नामले आयोजित पछिल्लो प्रतियोगिता पनि जितेको थियो । लामो समय देखिको विवाद र त्यसपछि निलम्बनमा रहेको नेपाल क्रिकेट संघको सदस्यता पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खारेज गर्ने स्थितिमा पुगेको अवस्थामा नेपाली क्रिकेटले असोजमा एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता पनि जितेको थियो । त्यसपछि भारतलाई पराजित गर्दै एसीसी यू–१९ एसिया कपको सेमिफाइनल पुगेको थियो ।
नेपालको सुरुआत राम्रो रहेन । ओपनरद्वय कुशल मल्ल र राजन मगर क्रमश: शून्य र ३ रनमा आउट भए । सुवास ऐर २२ र तृतराज दास १९ रनमा आउट हुँदा नेपाल १६ ओभरमा ६६–४ को स्थितिमा पुगेको थियो । रीतको स्थानमा नेपालको कप्तानी गरिरहेका विशालले अर्धशतक बनाउँदै नेपाली इनिङ्स उकासेका थिए ।
उनले सुनील भण्डारी (१५) सँग पाँचौं विकेटमा ४२ रन जोडे । म्यान अफ द म्याच विशालले ७९ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ६३ रन बनाए । नारायणले २३ बलमा नटआउट ४६ रन जोडेपछि नेपालले अन्तिम ८ ओभरमा ७५ रन जोडेको थियो । उनले ५ चौका र १ छक्का प्रहार गरे । प्रतिश जीसी ६ बलमा १० रन बनाई नटआउट रहे । सिंगापुरका इशान सावनीले २ विकेट लिए ।
साइहर्ष विनुगोपालले ३१ रन बनाए पनि सिंगापुरले नेपाललाई चुनौती दिन सकेन । अर्नाभ वाधवा २१, राउल शर्मा १५ र इशान १२ रनमा आउट भए । नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३–३ विकेट लिए । सूर्यले ७ ओभरमा १ मेडन राख्दै २० र अजयले ५ ओभरमा १६ रन खर्चे । नारायण र कुशलले १–१ विकेट लिए ।
नेपालका तृतराज दास उत्कृष्ट ब्याट्सम्यानमा चुनिए । उनले प्रतियोगितामा १ सय ६२ रन बनाएका थिए ।

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?