कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेलकुद सहर बन्दै इटहरी

राखेप सदस्यसचिव केशवकुमार विष्टका अनुसार स्पोर्ट्स सिटीको अवधारणामा इटहरीमा खेलकुद पूर्वाधार तयार पारिँदैछ ।

इटहरी — सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा पूर्वाधारको अभाव खेपेको इटहरीले अब त्यस्तो अवस्था झेल्नुपर्ने छैन । किनकि एउटै रंगशालाभित्र आउटडोर र इन्डोरका विभिन्न खेलका १२ प्रतियोगिता एकैपल्ट आयोजना गर्न मिल्ने गरी भौतिक पूर्वाधार विकसित गरिँदै छ ।

खेलकुद सहर बन्दै इटहरी

इटहरी रंगशाला यतिखेर स्पोर्ट्स कम्प्लेक्सको रूपमा विकसित हुँदै छ । ८ विघा क्षेत्रफलमा फैलिएको यस रंगशालाभित्र विभिन्न खेलका संरचनाहरू बन्ने क्रमले तीव्रता पाएको छ ।

स्पोर्ट्स सिटीको अवधारणामा इटहरीमा खेलकुद पूर्वाधार तयार गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बताए । उनका अनुसार राष्ट्रिय प्राथमिकताभित्रका १५ खेललाई पूर्वाधार तयार हुनेछ । अहिले ११ खेलका संरचनाहरू तयार हुँदै छन् । दुई वर्षभित्र नमूना स्पोर्ट्स सिटी बनाइने दाबी छ । सबै जिल्लालाई पायक पर्ने, यातायातलगायत आवश्यक सबै सुविधा उपलब्ध हुने भएकाले प्रदेशस्तरीय खेलकुद संरचना तयार पार्ने अभियानमा काम भइरहेको सदस्यसचिव विष्टले जानकारी गराए ।

अघिल्लो वर्ष पुस दोस्रो साता भएको सातौं राष्ट्रिय खेलकुदलाई बनाइएका पूर्वाधार समयमा नबन्दा अधिकांश खेलका प्रतिस्पर्धा कन्तबिजोग बनेका थिए । राष्ट्रिय खेलकुद सकियो । निर्माणको काम बाँकी भए पनि बजेट अभावमा ती अलपत्र परेका थिए । त्यसपछि बर्खा मौसमले गर्दा ५–६ महिना कामै हुन सकेन । रंगशालावरपरका भाग समेत डुबानमा परे । तर अहिले बजेट आएसँगै पूर्वाधार निर्माणको कामले तीव्रता पाएको जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले बताए ।

सातौं राष्ट्रिय खेलकुदमा त्रिपाल टाँगेर खेलाइएको तेक्वान्दो भवन निर्माण सम्पन्न हुने क्रममा छ । रंगशालाको उत्तर–पूर्वमा बनेको दुई हजार दर्शक क्षमताको तेक्वान्दो हलको ९० प्रतिशत काम सकिएको छ । तेक्वान्दोको भवन आधामात्र सम्पन्न हुँदा नै त्यहाँ त्रिपाल टाँगेर तेक्वान्दो प्रतियोगिता गर्नुपरेको थियो ।

पुस १६ गतेबाट त्यही हलमा अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगिता हुँदै छ । प्रतियोगितामा २० मुलुकका खेलाडीको सहभागिता हुने जनाइएको छ । तेक्वान्दो भवन एक करोड ९० लाखको लागतमा निर्माण गरिएको हो ।

एथलेटिक्स र फुटबल लगायतको प्रतियोगिता हेर्न दर्शकका लागि मैदानमा प्यारापिट थिएन । अहिले मैदानको उत्तर पूर्वदेखि दक्षिण पश्चिमसम्म १ सय २० मिटर पूर्ण रूपमा तीन स्टेपको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ । मैदानमा दुबो उमारेर फुटबल प्रतियोगिताका लागि तयारी गरिने छ । नेपालकै सर्वाधिक पुरस्कार राशिको फुटबल माघ ६ बाट इटहरी रंगशालामा हुँदै छ । नेपाल र भारतका टिमले भाग लिने अन्तर्राष्ट्रिय मदन भण्डारी इटहरी गोल्डकप विजेताले १२ लाख रुपैयाँ जित्नेछ । यो नकआउट फुटबलमा मुलुककै ठूलो राशिको प्रतियोगिता रहने थापाले बताए ।

ब्याडमिन्टन कोर्ट पनि आधा निर्माण भइसकेको छ । एक करोड २५ लाख लागतमा निर्माण भइरहेको ५ कोर्ट रहने हलको लम्बाइ १ सय ४६ फिट छ भने चौडाइ ८६ फिट छ । दर्शकका प्यारापिटसमेत निर्माण गरिने छ ।

त्यस्तै ६८ लाख लागतमा दुई कोर्टमा प्रतियोगिता र एउटामा अभ्यास खेल खेल्ने गरी आउटडोर भलिबल कोर्टको निर्माण पनि अन्तिम चरण पुगेको छ । भलिबल कोर्टकै नजिक ११ करोड लागतमा भलिबल एकेडेमीसमेत निर्माण हुनेछ । त्यसका लागि डीपीआर तयार भइसकेको छ । भलिबल एकेडेमी निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको इन्डोर भलिबल प्रतियोगिता आयोजना गर्न सकिने छ ।

त्यस्तै मैदानको पश्चिमभागमा निर्माण हुने ११ करोडको भीआईपी प्यारापिटको समेत टेण्डर प्रक्रिया अघि बढिसकेको सदस्य–सचिव विष्टले जानकारी दिए । क्रिकेटको इन्डोर प्राक्टिस भवन, उसु, कराँते भवनको निर्माण सुरु भएको छ । उसुका लागि ६८ लाखको लागतमा ६० फिट लम्बाइ र ४७ फिट चौडाइको हल निर्माण भइरहेको छ । त्यस्तै जेष्ठ नागरिकका लागि योगा लगायतको प्रशिक्षणका लागि एक करोडको लागतमा दुईतले भवन निर्माण भइरहेको छ ।

त्यस्तै खेलाडीका लागि होस्टल भवनको समेत निर्माण प्रक्रिया अघि बढिसकेको छ । बाहिरबाट आउने र नियमित प्रशिक्षणमा बस्नुपर्ने खेलाडीलाई होस्टलको व्यवस्था गरिएको हो । रंगशालामा हालसम्म चार करोड ५० लाखको काम भइसकेको छ भने अन्य कामहरू हुने क्रममा छन् ।

सदस्य–सचिव विष्ट सातौं राष्ट्रिय खेलकुदका बेला आवश्यक भौतिक पूर्वाधार बन्न नसक्नु एउटा पाटो भए पनि अब कुनै ठाउँमा राष्ट्रिय खेलकुद हुँदा त्यो अवस्था नरहने दाबी गर्छन् । उनले भने, ‘बजेटका कारण सातौंमा निर्धारित समयमा काम सम्पन्न गर्न पाएनौं । त्यसैले अभाव झेल्नुपर्‍यो । अहिले हामी पूर्वमात्र होइन देशैभर भौतिक पूर्वाधार निर्माणमा अगाडि बढेका छौं । राष्ट्रिय खेलकुद हुँदा पूर्वाधार अभाव हुन दिन्नौं ।’

इटहरीलाई स्पोटर््स सिटीको अवधारणा दिन स्थानीयले पनि त्यत्तिकै अग्रसरता देखाएका छन् । उनीहरू सरकारी बजेट कुरेर बसेका छैनन् । सबै खेलको पूर्वाधारमा सम्बन्धित खेलका व्यक्तिसहितको छुट्टाछुट्टै स्थानीय उपभोक्ता समितिले काम गरिरहेको छ । त्यसले गर्दा निर्माणको काम गर्न सजिलो भएको भलिबल उपभोक्ता समितिका अध्यक्ष नारायण ढुंगाना बताउँछन् । ‘बजेट नआउँदा पनि हामीले काम स्थगित गरेका छैनौं, आफूहरूले पैसा उठाएर भए पनि काम गरिरहेका छौं,’ उनले भने, ‘एक नम्बर प्रदेशको खेलकुद राजधानी इटहरी बनाउँछौं ।’

रंगशाला हातामै तीनतले कार्यालय भवन पनि निर्माणाधीन अवस्थामा छ । बक्सिङको हल बनाउन पुस १३ मा शिलान्यास हुँदै छ भने टेबलटेनिस, भारोत्तोलन, बुद्धिचालको संरचना पनि छिटै बन्ने सदस्यसचिव विष्टले जानकारी गराए । दुई वर्षभित्र २१ करोडमा पूर्ण आकारको स्पोर्ट्स कम्प्लेस बन्ने उनको दाबी छ ।

इटहरीमात्र नभई पूर्वका प्रतिष्ठित विराटनगर र धरान रंगशालालाई पनि पुनर्जीवन दिइँदै छ । दुवै रंगशाला पूर्ण प्रयोगमा नआएको धेरै भइसकेको छ । विराटनगर रंगशालामा उत्तर र दक्षिणतर्फ प्यारापिट निर्माण गरिँदै छ भने चार लेनको २०० मिटर एथलेटिक्स ट्रयाक बनाइने योजना छ । कभर्डहलमा ब्याडमिन्टन, टेबलटेनिस कोर्ट व्यवस्थित गर्नुका साथै क्रिकेट र सफ्ट टेनिसको ट्रेनिङ सेन्टर बन्ने विष्टले बताए । उनका अनुसार विराटनगरकै बैजनाथपुरलाई पनि स्पोर्ट्स कम्प्लेक्समा विकास गरिनेछ । सातौं राष्ट्रियमा क्रिकेट, सुटिङ र सफ्ट टेनिस प्रतियोगिता भएका थिए । सुटिङ र सफ्ट टेनिसको पूर्वाधार निर्णाण भइसकेका छन् क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदानमा रूपान्तरण गरिने जनाइएको छ । त्यस्तै केही इन्डोर खेलका प्रशिक्षण हल बन्ने क्रममा छ भने फुटबल मैदान र एथलेटिक्स ट्रयाक पनि निर्माण गरिने छ । विराटनगर महानगरपालिकाको सहयोगमा पौडी पोखरी बनाइने सदस्यसचिव विष्टले जानकारी गराए ।

उता, धरान रंगशालामा पनि तीनतर्फको प्यारापिट यो वर्ष बनाइने छ । दक्षिणतर्फ बहुउद्देश्यीय कभर्डहलका लागि डीपीआर तयार गरेर अर्को वर्ष काम थाल्ने जनाइएको छ । साथै एथलेटिक्स ट्रयाक, क्रिकेट ट्ेरनिङ सेन्टर, बास्केटबल कोर्ट, कराँतेको ट्ेरनिङ हल पनि निर्माण गरिने राखेपको योजना छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?