कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज एल क्लासिको

खेल
एल क्लासिको क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनल मेसीको खेल पनि हो । दुवै खेलाडीको शैली र व्यक्तित्व फरक छ । 
बार्सिलोनाले आफ्नो स्वतन्त्रता घोषणा गरेयता पहिलोपल्ट यी दुई पारम्परिक शत्रु क्लब भिड्न लागेका हुन् । 
हिमेश

काठमाडौँ — सबैभन्दा पहिले सन् १९४३ तिर फर्कौ । त्यति बेला जर्नल्सकपको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना ३–० अगाडि थियो । दोस्रो लेगका लागि बार्सिलोनालाई रियल म्याड्रिडको भ्रमण गर्नु थियो । त्यो जर्नल्सकप अहिलेको कोपा डे रे बराबरको थियो । दोस्रो लेगमा बार्सिलोना अविश्वसनीय रूपमा ११–१ ले पराजित रह्यो । रियलले हात पारेको यो नै एल क्लासिकोको सबैभन्दा ठूलो अन्तर हो । एल क्लासिको अर्थात् रियल म्याड्रिड भर्सेस बार्सिलोना ।

आज एल क्लासिको


त्यो दिन छ र आज । तर पनि स्थिति उस्तै छ । आजभन्दा ७४ वर्षअगाडिको त्यो खेलपछि बार्सिलोनाका खेलाडीले बताएका थिए, खेलअगाडि, खेलुन्जेल र पछि कुनै पनि बेला उनीहरूले सुख पाएनन् । रियल समर्थक दर्शकको लगातार ढुंगामुढा र गाली, स्थानीय प्रहरीको एकपक्षीय व्यवहार । अनि रेफ्रीको खराब निर्णय । अब के चाहियो र, खेल रियलले अविश्वसनीय गोलअन्तरले जित्यो । बार्सिलोनालाई त्यति बेला कतैबाट सहयोग भएन ।

भनिरहनु पर्दैन, त्यति बेला स्पेनमा भर्खर भर्खर तानाशाही जर्नेल फ्रान्सिस्को फ्रान्कोले सत्ता सम्हालेका थिए । त्यति बेला भर्खर स्पेनको डरलाग्दो गृहयुद्ध सकिएको स्थिति थियो । जति जति बेला रियल र बार्सिलोना एक आपसमा भिड्ने गर्छन्, फेरि फेरि दोहोर्‍याएर यिनै इतिहासका प्रसङ्ग अगाडि आउने गर्छन् । यस्तो गर्दिनँ भन्दा पनि पाइन्न । बार्सिलोनाले भर्खरै स्पेनबाट स्वतन्त्रता घोषणा गरेको पनि धेरै भएको छैन । त्यो आन्दोलन कता पुग्यो, त्यसलाई हेर्ने आँखा राजनीतिक होलान् ।

फुटबलको नजरमा आज यिनै दुई क्लब मैदानमा भिड्दै छन् । स्थान बर्नाबाउ, रियलको घरेलु मैदान । त्यसै खेलबारे चर्चा गर्नुअगाडि फेरि एकपल्ट पुरानै घटना सम्झिनुपर्ने हुन्छ । प्राय: बार्सिलोनाका समर्थकले प्रयोग गर्ने शब्द छ, गुरुसेटा । खासमा यो कसैको नाम थियो, पछि रेफ्रीले गर्ने झेल्लीका लागि प्रयोग हुने शब्द बन्यो । सन् १९७० मा रियललाई फेरि एकपटक त्यही जर्नल्सकप जित्नु थियो, युरोपमा खेल्न छनोट हुनका लागि ।

बर्नाबाउमा भएको पहिलो खेलमा रियललाई २–० को अग्रता प्राप्त भयो । दोस्रो लेग बार्सिलोनाको घर नुक्याम्पमा थियो । त्यसमा एक समय बार्सिलोनाले १–० को अग्रता लियो र तय देखियो, अब उसले खेलमा पुनरागमन गर्न सक्छ । तर सकेन, किनभने रेफ्री जोसे इमिलो गुरुसेटाले साँच्चै झेली गरेर रियललाई पेनाल्टीको अवसर दिए । कतै फल भएकै थिएन । फल भए पनि त्यो पेनाल्टी एरियाभित्र थिएन । तर रेफ्रीले निर्णय दिएपछि दियो ।

खासमा यो खेल पूरा समय पनि चलेन । दर्शक मैदानमा ओर्लिए । झगडाको स्थिति बन्यो । तर यही नतिजाले रियललाई फाइदा भने गर्‍यो । त्यसैले अचेल कुनै रेफ्रीले खराब निर्णय दियो भने त्यसका लागि उही शब्द प्रयोग हुने गर्छ, गुरुसेटा । आज रातिको खेलमा यस्तो होला, त्यो सम्भवजस्तै छैन । अचेल फुटबलको मैदानमा यस्तो प्रसङ्ग सुन्न पाइन्न । कम्तीमा ला लिगाजस्तो विश्वकै सर्वाधिक उत्कृष्ट लिगमा यस्तो हावादारी निर्णय हुने छैन ।

तर मैदानबाहिर स्थिति फेरि दोहोर्‍याएर भन्नुपर्छ, उस्तै छ । कम्तीमा यस्तो धारणा त पक्कै पनि बार्सिलोना समर्थकले राख्नेछन् । ‘क्याटलान भाषा र संस्कृति नै फरक, अझ देश नै फरक, किन स्पेनसँग आफ्नो अस्तित्व मेटेर जोडिएर बसिरहनुपर्‍यो ?’ बार्सिलोनाको संसद्ले आफूलाई अलगै देश भनेर घोषणा गर्दा लागेको थियो, अब एल क्लासिको पनि नहुने भयो । तर स्पेनले बार्सिलोनाको निर्णयलाई मानेन । उल्टै दमन गरियो, क्याटलान समर्थकहरूमाथि ।

साँच्चै कुनै दिन त्यस्तो स्थिति आउने छ र, जति बेला बार्सिलोनाको छुट्टै अस्तित्व हुनेछ ? यसको ठ्याक्कै उत्तर कसैसँग नहोला । तर मैदानमा यस्तो भाव पोख्न सकिन्छ नि । क्याटलान समर्थकका लागि हामी फरक छौं, हाम्रो भाषा र संस्कृति पनि फरक छ भनेर देखाउने ठाउँ भने मैदान हुने गरेको छ । धेरै भयो, यस्तो हुन थालेको पनि । त्यसैले एल क्लासिकोमा जत्तिको विवाद, सनसनी, रोमाञ्चकता अरू खेलमा हुन्न भनिन्न ।

हो पनि ।

बार्सिलोनाले आफ्नो स्वतन्त्रता घोषणा गरेयता पहिलोपल्ट यी दुई पारम्परिक शत्रु क्लब भिड्न लागेका हुन् । त्यसैले पनि यसको फरक महत्त्व छ । रियल जितोस् अथवा बार्सिलोना, त्यसको अर्थ फरकफरक ढंगले हुने पनि तय छ । सीधै मैदानको प्रसङ्ग निकाल्ने हो भने हो, अहिले बार्सिलोना धेरै बलियो देखिएको छ । पोहोर सिजनसम्म रियलले चारैतर्फ सबै जितिरहेको थियो, ला लिगा त जित्यो नै, सँगै युरोपेली च्याम्पियन्स लिग पनि ।

तर अहिले रियल लिगमा राम्रो खेल्न संघर्षरत छ । बार्सिलोनाले १६ खेल खेलेको छ र त्यसबाट ४२ अंक बटुलेको छ । रियलले एक खेल त कम खेलेको छ, तर अंक पनि कम छ, त्यो भनेको ३१ । धेरै हो, ११ अंकको दूरी भनेको । जहाँ बार्सिलोना आरामले शीर्ष स्थानमा छ, त्यहीं रियल चौथो स्थानमा खुम्चिएर बसेको छ । यसपल्टको ला लिगाको अहिलेसम्मको स्थितिको निचोड हो, बार्सिलोना लयमा रहनु, रियलको भने खस्केको औसत खेल ।

यस्तोमा बार्सिलोनाले खेल्न जित्ने सम्भावना गाढा छ, भलै खेल बर्नाबाउमा भइरहेको छ । फेरि रियलसामु अर्को राम्रो अवसर पनि छ, यो जितेर लिगमा दमदार पुनरागमन रच्ने । रियलले अहिलेको एल क्लासिको जितेर कम खेलको एक खेलबाट पनि तीन अंक बटुल्यो भने अन्तर त पाँच अंकमा झर्न सक्छ । एल क्लासिकोलाई लिएर भन्ने पनि गरिन्छ, यो खेल अगाडि–पछाडि कसले कसरी खेलेको थियो, त्यसको अर्थ हुन्न । खालि अर्थ हुन्छ त, त्यो खास खेलमा कसले गतिलो प्रदर्शन गरेको थियो ।

फेरि यो क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनल मेसीको खेल पनि त हो । दुवै खेलाडीको शैली र व्यक्तित्व पनि नितान्त फरक छ । रोनाल्डो घमण्डी पाराका छन्, मेसी चुपचाप बस्न चाहने । रोनाल्डोको त मुखैमा झुन्डिने गर्छ, उनका जति आलोचक छन्, सबै उनको प्रदर्शन देखेर ईष्र्यालु भएका रे । मेसी उति साह्रो प्याच्च प्रतिक्रिया दिइहाल्ने खालका मान्छे पनि होइनन । तर पनि यिनै दुई खेलाडी विश्व फुटबलले अहिलेको पुस्तामा देखेका सबैभन्दा राम्रा खेलाडी त पक्कै हुन् ।

आजको एल क्लासिकोलाई हेर्ने नजर यसरी पनि तयार हुन्छ । दुवै एकै खेलमा हेर्ने अवसर हुँदा कम्तीमा त्यो खेलमा को राम्रो भनेर विश्लेषण गर्ने अवसर पनि प्राप्त हुन्छ । एल क्लासिकोकै प्रसङ्गमा जब यी दुई क्लब भिड्छन्, प्राय: मेसीको हात माथि हुने गरेको छ । फेरि मेसीसँग रोनाल्डोको तुलनामा स्पेनमा बढी खेलेको तथ्य पनि छ । रोनाल्डोलाई यस्तो होइन भनेर सिद्ध गर्ने अवसर पनि हो, यो । योभन्दा ठूलो अर्को तथ्य के हो भने बार्सिलोनाले यो खेल जित्यो भने ठोकेर भन्न सकिन्छ, यो सिजन त रियलले उसलाई भेटाउन सकिन्न ।

twitter : @himeshratna

प्रकाशित : पुस ८, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?