१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मीराको उत्कृष्ट पुनरागमन

घुँडाको शल्यक्रियापछि साहसिक दौडमा फर्केकी मीरा राईले सन् २०१७ मा दुई उपाधि जितिन् । अहिले उनी नयाँ सिजनको तयारीमा छिन् ।
राजु घिसिङ

काठमाडौँ — अल्ट्रा धाविका मीरा राई सन् २०१५ फेब्रुअरीमा हङकङमा भएको एसियन स्काइरनिङ च्याम्पियन भएपछि चर्चामा आएकी थिइन्। वल्र्ड सिरिजको मोन्ट ब्लान्क (फ्रान्स) मा पनि पहिलो भएपछि उनी विश्वमै चर्चित् भएकी थिइन् ।

मीराको उत्कृष्ट पुनरागमन

त्यसैबेला उनले बाँया घुँडामा दुखाइ महसुस गर्न थालेकी थिइन् । तैपनि दौडिरहेकी थिइन् ।

एसीएल टियर भएको रहेछ । उनले २८ जुलाई २०१६ मा इटालीस्थित भेरोना हस्पिटलमा घुँडाको शल्यक्रिया गराउनैपर्‍यो । त्यसबेला चिकित्सकले रिकोभरीका लागि ७–८ महिना लाग्ने बताएका थिए । उनी सात महिनासम्म त दौडिएनन् नै बिस्तारै अभ्यासमा भने सुरु गरेकी थिइन् । हिँड्ने र बिस्तारै दौडिने, साइक्लिङ, वाल क्लाइम्बिङ, योगाको निरन्तर अभ्यास गरिरहिन् । फिजियोथेरापी पनि निरन्तर । त्यसैले उनी २०१७ को सिजन नै दौडमा फर्किन सफल भइन् । सुरुमै सोचेजस्तो नतिजा हात पार्न सकिनन् तर उनी प्रयासरत रहिन् ।

अनवरत प्रयासपछि उनी २०१७ सेप्टेम्बरमा बेन नेभिस अल्ट्रा (स्कटल्यान्ड) मा पहिलो भइन्, जुन उनको पुनरागनको पहिलो उपाधि थियो । डिसेम्बरको पहिलो साता हङकङमा प्रथम हुँदै उनी फेरि एसियन स्काइरनिङ च्याम्पियन भइन् । यसले उनको पुनरागमनमा ऊर्जा थपिदियो ।


दौडनुपर्ने कुनै पनि खेलाडीलाई एसीएल टियर वास्तवमै ठूलो समस्या हुने गर्छ । यसले केही चर्चित खेलाडीको करिअर नै टुंग्याइदिएको छ । मीरालाई पनि त्यस्तो हुन्न भन्ने कुनै ग्यारेन्टी थिएन । तर उनी मानसिक रूपमा निकै बलियो थिइन्/छिन् । आर्थिक संकटमा गुज्रिएको परिवारलाई केही गर्छु भन्ने बेला सेना समायोजनमा ‘अयोग्य लडाकु’ को ट्याग लागेकाले पनि उनलाई जस्तोसुकै तगारो पन्छाउन पनि आत्मविश्वासी बनाएको हुन सक्छ । हुन त उनले बेहोरेका दु:खकष्टको सूची बनाउने नै हो भने सफलताको चाङभन्दा बढी नै हुन आउँछ ।

दौडमा फर्कने तयारीमा रहेकै बेला उनले नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दी इयर २०१७ को अवार्ड जितिन् । अवार्ड जितेपछि उनले गत वर्ष भनेकी थिइन्, ‘अपरेसन गरेको नौ महिना भइसक्यो । अझै सोचेजस्तो रिकोभरी भएको छैन, दौडियो भने घुँडा सुनिन्छ ।’ यसबीच घुँडा ठीक गर्नकै लागि उनी इटाली पनि पुगेकी थिइन् । गत वर्ष एसियन च्याम्पियनसिपमा जुम्लाका सुनमाया बुढा र पूर्णलक्ष्मी नेउपानेलाई लिएर हङकङ पुगेकी उनी धावकभन्दा बढी अल्ट्रा रेस अभियन्ताको रूपमा सक्रिय भइन् । उनले दौडमा फर्कनलाई हिम्मत भने हारेकी थिइनन् । कहिले स्वदेशमा त कहिले फ्रान्स–इटालीमा अभ्यास गरिरहिन् ।

‘सबभन्दा ठूलो आफ्नो स्वास्थ्य हो । पहिले घुँडा ठीक गर्छु । स्वस्थ हुन्छु । अनि दौडनेछु,’ गत वर्ष उनले भनेकी थिइन् । योजनाअनुसार रिकोभरी नभएपछि उनले २०१७ को सिजन केही रेस पनि छाड्नुपर्‍यो । उनी अहिले पनि आफ्नो घुँडा पूर्ण रूपमा ठीक नभएको बताउँछिन् । ‘लगभग ८० प्रतिशत रिकोभरी भएजस्तो लाग्छ । अलि बढी दौड्दा भने अझै दुख्न छाडेको छैन । अझै रिकोभरी हुने प्रक्रियामै छु । चाँडै ठीक हुने आशा छ,’ दोस्रोपल्ट एसियन च्याम्पियन भएपछि उनले भनिन्, ‘घुँडालाई ध्यान दिएर तनाव लिनुभन्दा छिटो रिकोभरी हुने र मानसिक रूपमा बलियो बन्ने प्रयास गरिरहेकी छु ।’

उनलाई तीन वर्षयता स्पोर्ट्स वेयर कम्पनी ‘सलोमन रनिङ’ ले प्रयोजन गरिरहेको छ । उनी पूर्ण रूपमा ठीक नहुँदै सलोमन रनिङको २०१७ को लागि तिब्बतमा भएको क्याम्पमा सहभागी भएकी थिइन् । चोटले सताएपछि उनले तीन दिनमै अभ्यास त्याग्नुपरेको थियो । त्यसैले पनि २०१७ मा उनको मुख्य योजना नै दौडमा फर्कने थियो । फर्किइन् पनि । दुई उपाधि जितिन् बेन नेभिस र एसियन च्याम्पियनसिप । यसले उनको पुरागमनलाई सानदार बनायो ।

हङकङबाट फर्केलगत्तै उनी नयाँ सिजन (२०१८) को तयारीका लागि फ्रान्स पुगिन् । फ्रान्सको आनेसीमा एक साता चलेको सलोमन क्याम्पमा विश्वका उत्कृष्ट साहसिक धावकहरू सहभागी थिए । तयहाँ उनीहरूलाई पनि प्रेरणा दिँदै आउने सिजनलाई आफैं तयारी गर्ने मीराको काम थियो । नयाँ सिजनमा के–कस्तो रणनीति बनाउने ? के–कति रेसमा दौडिने ? त्यसैको तयारीको रूपमा यस्ता क्याम्प सञ्चालन गरिन्छ ।

उनले २०१८ को सिजन लामो दूरीको अल्ट्रा दौडमा प्रतिस्पर्धा गर्ने योजना बनाएकी छन् । ‘अब लामो दूरीको दौडमा केन्द्रित हुनेछु, जसमा ८० देखि १२० किमिसम्म दौडिनुपर्छ,’ क्याम्प सकेर इटाली पुगेकी उनले भनिन्, ‘आउने सिजन सात रेसमा प्रतिस्पर्धा गर्दै स्काई रनिङ अल्ट्रा म्याराथन च्याम्पियन बन्ने प्रयास गर्नेछु । त्यसको लागि स्वदेशमै काठमाडौंका डाँडाहरूमाअभ्यास गर्नेछु ।’

प्रकाशित : पुस ८, २०७४ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?