१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दबाबमा फ्लप स्टारहरू

‘घरेलु खेलाडीले सोचेअनुरूप प्रदर्शन गरिरहेका छैनन्, विदेशी खेलाडीले उनीहरूले गरेको प्रदर्शनमा थप मजबुती प्रदान गर्ने हो’ – काठमाडौं किंग्स ११ का कप्तान फरवेज महारुफ
विनोद पाण्डे

काठमाडौँ — ठूलो रकम, ठूलो अपेक्षा । प्रदर्शनचाहिँ निराशाजनक । टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आशा गरिएका ठूला नामका केही खेलाडीको प्रदर्शन निकै कमजोर छ । लिग चरण अन्त्य नजिकिँदा उनीहरू फ्लप स्टारमा दाँजिएका छन् ।

दबाबमा फ्लप स्टारहरू

विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, आसिफ शेख, जितेन्द्र मुखिया, राजेश पुलामी, नरेश बुढाऐर, सिद्धान्त लोहनी, अनिल मण्डल, महबुब आलम, राजु रिजालदेखि दिलीप नाथसम्मका नाम चलेका खेलाडीले अपेक्षाअनुसार खेल्न सकेका छैनन् । यी सबै तिनै खेलाडी हुन् जसले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

ईपीएलमा उनीहरूले देखाएको प्रदर्शन त्यो अनुरूपको छैन । अहिले यी मध्येका कोही राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत छन् । कोही पुनरागमनमा छन्, कोही आफ्नो स्थान नियमित बनाउने प्रयासमा छन् । कीर्तिपुरमा चलिरहेको नेपाली क्रिकेटको ठूलो मेलामा उनीहरूको प्रदर्शनले भने त्यो प्रमाणित गर्दैन ।

विनोद र सागर राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका छन् । पछिल्ला वर्षहरूमा उनीहरूको प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा पनि कमजोर छ । सोही कारण विनोद र सागर नेपालको हारमा आलोचनाका पात्र बन्दै आएका छन् । गत महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यूएई जानु अगाडि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विनोद र सागरतर्फ इंगित गर्दै यूएईसँगको खेल केही खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर रहेको जनाएका थिए ।

विनोद र सागरको प्रदर्शन अबुधाबीमा पनि खासै उपलब्धिजनक थिएन् । ईपीएलको अक्सनमा ‘ए’ ग्रेडमा रहेका खेलाडीले अधिकतम १ लाख ७५ हजार पाउँथे । विनोदमा पूरा भाउ लागेको थियो । प्रदीप ऐरी १ लाख ६० हजार र सागर पुन १ लाख ५० हजार मूल्यमा बिक्री भएका थिए ।

विराटनगर वारियर्ससँगको खेलमा पहिलो बलमा चौका प्रहार गरेका विकेटकिपर–ब्याट्सम्यान विनोद अर्को बलमा आउट भएका थिए । काठमाडौं किंग्स ११ सँगको अर्को खेलमा ब्याटिङ गर्न पाउँदा उनले ५ बलमा ४ रनमात्र बनाउन सके । पोखरा राइनोजले उनीमाथि ठूलो आशा गरेको छ । त्यही भएर प्राय: गरी मध्यक्रममा खेल्ने उनलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइरहेको छ । पोखराका कप्तान शक्ति गौचन अझै विनोदमाथि पूरा भरोसा गर्छन् । ‘विनोद भनेको म्याच विजयी खेलाडी हुन्, उनले यो अनुरूपको प्रदर्शन धेरै पटक देखाइसकेका छन् । जुन दिन उनको ब्याटिङ चल्छ उनले कुनै पनि स्कोर पल्टाउन सक्ने क्षमता राख्छन् । दुई इनिङ्समा चलेनन्, तर प्रतियोगिता अझै बाँकी छ । तपाईंहरूले पक्कै उनको इनिङ हेर्न पाउनुहुनेछ,’ शक्तिले काठमाडौंसँगको खेलपछि विनोदका बारेमा भनेका थिए । राष्ट्रिय टोलीमा पुनरागमनको आशामा रहेका पोखराकै अर्का खेलाडी राजेश पुलामीले २ इनिङ्स खेल्दा ३८ रनमात्र बनाउन सकेका छन् ।


कहलिएका खेलाडी नचल्दा बलियो मानिएको काठमाडौं लिग चरणबाटै बाहिरिने खतरामा पुगेको छ । ओपनर सागर पोखरासँगको पछिल्लो खेलमा ४७ बलमा ३६ रन बनाई १९ औं ओभरमा आउट भएका थिए । बिहानको सत्रमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ब्याटिङ गर्न सहज छैन । सो खेलमा सागरको ब्याट चाहिएको समयमा पनि नचलेको आरोप उनीमाथि खनिएको छ । उनले त्यसअघि चितवन टाइगर्ससँग ५, भैरहवा ग्लाडिटिएर्ससँग १६ र ललितपुर प्याट्रियट्ससँग ४ रनमात्र बनाउन सकेका थिए ।

काठमाडौंका अन्य खेलाडीमा राजु रिजालले ४ खेलमा ४३ रन, सिद्धान्तले २१ रनमात्र बनाउन सकेका छन् । ललितपुरसँगको पहिलो खेलमा शून्यमा आउट भएपछि राष्ट्रिय टोलीबाट ओपनर खेलिसकेका नरेश बुढाऐर क्रिजमा देखिएका छ्रैनन् । ‘योर्कर किंग्स’ जितेन्द्र मुखियाले पनि २ खेलमात्र खेल्न पाएका छन् र विकेटविहीन छन् ।

काठमाडौंको कप्तानी गरिरहेका श्रीलंकाका अलराउन्डर फरवेज महारुफ यसको दोष नेपाली खेलाडीलाई थोपार्छन् । ‘म आफ्नो प्रदर्शन देखेर निराश छु । मैले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न सकेको छैन,’ काठमाडौंको कमजोर प्रदर्शनमा उनले भनेका थिए, ‘घरेलु खेलाडीले सोचेअनुरूप प्रदर्शन गरिरहेका छैनन् । विदेशी खेलाडीले उनीहरूले गरेको प्रदर्शनमा थप मजबुती प्रदान गर्ने हो । हामीले आउने खेलमा धेरै सुधार गर्नु जरुरी छ ।’

विनोदको कमजोर प्रदर्शनले निरन्तरता पाउँदा राष्ट्रिय टोलीमा विकेटकिपिङमा अवसर बनिरहेको छ । यही क्रममा आसिफ शेख र दिलीप नाथले मौका पाइसकेका छन् । आधुनिक क्रिकेटमा विकेटकिपरलाई उनको ब्याटिङसँग जोडेर टिममा स्थान दिइन्छ । ईपीएलको पहिलो सिजनमा आसिफले शतक नै प्रहार गर्दा नेपाली टोलीले नै ठूलो राहत महसुस गरेको थियो । बंगलादेशसँग यू–१९ शृंखलाको अन्तिम खेललाई छाड्ने हो भने त्यसयता आसिफले त्यो अनुरूपको छवि देखाउन सकेका छैनन् । उनी ‘वान सिजन वन्डर’ जस्ता भएका छन् । अर्थात एक सिजनमात्र खेल्ने । उनले विराटनगरबाट खेल्दै ईपीएलको ४ खेलमा २६ रनमात्र बनाउन सकेका छन् ।

हालैका दिनमा राष्ट्रिय टोलीमा देखिएका विकेटकिपर–ब्याट्सम्यान दिलीप अपेक्षाअनुरूप खेल्न नसक्ने अर्का खेलाडी हुन् । उनले ४ खेलमा ५२ रनमात्र बनाएका छन् । पछिल्ला दुई खेलमा उनी शून्यमा आउट भएका छन् । युवा टोली चितवनको धेरै आशा उनी र अनिल मण्डलमा थियो । अक्सनमा अनिललाई भाउ लागेको थिएन । सुवास खकुरेल घाइते भएपछि उनलाई चितवनले ल्याएको थियो । पोखरासँग ३२ र काठमाडौंसँग २ रन बनाएका अनिललाई पछिल्लो दुई खेलमा खेलाइएको छैन ।

भेट्रान अलराउन्डर महबुब आलमले ३ इनिङ्समा १६ रनमात्र बनाउन सक्दा उनको टोली ललितपुर ठूलो दबाबमा छ । नेपाली क्रिकेटको व्यस्त सत्र आउँदै छ । कमजोर प्रदर्शन गर्दै आएका यी कहलिएका नामहरूलाई ईपीएलको बाँकी खेल आफ्नो क्षमता प्रमाणित गर्ने एउटा अर्को अवसर छ ।

प्रकाशित : पुस १०, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?