कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बार्सिलोनाको रफ्तार

स्पेनी ला लिगाको उपाधि होडमा बार्सिलोनालाई अरु क्लबले उछिन्न गाह्रो
राजु घिसिङ

काठमाडौँ — स्पेनी व्यवस्थापक पेप ग्वार्डिओलाले सम्हालेको म्यानचेस्टर सिटीले सनसनीपूर्ण प्रदर्शन गर्दै इंग्लिस प्रिमियर लिगमा १३ अंकको अग्रता लिएको छ । ग्वार्डिओलाको पूर्वक्लब बार्सिलोनाले पनि स्पेनी ला लिगामा आफ्नो रफ्तार बढाइरहेको छ । उसले ‘एल क्लसिको’मा रियल म्याड्रिडलाई पराजित गरेपछि नौ अंकको अग्रता लियो ।

बार्सिलोनाको रफ्तार

सिजनको सुरुमा स्पेनी सुपरकपमा रियलले बार्सिलोनालाई दुई लेगमा ५—१ ले हराएको थियो । च्याम्पियन्स लिग, ला लिगा, युरोपेली सुपरकप र स्पेनी सुपरकपमा गत साता क्लब विश्वकपको ट्रफि जोड्दै सन् २०१७ मा रियलले पाँच उपाधि कब्जा गरेको थियो । उसको चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना भने कोपा डेल रेको उपाधिमा सीमित भएको थियो ।


त्यसैले जिनेदिन जिदानको टिमले आफ्नै घरेलु मैदानमा भएको एल क्लासिकोमा शनिबार प्रभाव देखाउनसक्ने अनमुान गरिएको थियो तर अर्नेस्टो भाल्भेर्डेको टिमले त्यस्तो हुन दिएन । लियोनल मेसीबाट प्रेरित खेल बार्साले ३—० ले जित्यो । रियलले एल क्लसिकोको इतिहासमै ला लिगामा घरेलु मैदानमा पहिलोपल्ट लगातार तीन खेल हार्‍यो । मेसीले बार्साको लागि २ सयौं गोलमा फाइनल पास दिए । पेनाल्टीमै भएपनि उनले एल क्लसिकोमा २५ औं गोल गरे । म्याड्रिडमा यस्तै—यस्तै कीर्तिमान बने ।


घरेलु मैदानमा पनि रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको केही सीप चलेन । त्यस हिसाबमा बाजी मारे मेसीले । ला लिगाका यी सर्बाधिक गोलकर्ताले गोल संख्या १५ पुर्‍याए । समग्रमा यो सिजन उनको गोल १९ पुगेको छ । एल क्लासिकोमा जोसे मोउरिन्होले रियल सम्हाल्दासम्म मैदानमा खेलभन्दा बढी झगडा हुने गथ्र्यो । अचेल झगडा कम र खेल बढी देखिन थालेको छ, जुन फुटबलका लागि राम्रो हो । र एल क्लासिकोमा लगातार हारेको खराब रेकर्ड बन्यो तर खेलमै जोड दिनु जिदानको भलाद्मीपन पनि हो ।

क्याटलन महारथीले स्पेनी राजधानीमा ३ अंक जोडेको दिन उसलाई पछ्याइरहेका एट्लेटिको म्याड्रिड र भ्यालेन्सिया पनि पराजित भएका थिए । त्यसैले नौ अंकको अग्रता लिएको बार्सालाई १७ औं चरणमा भाग्यले पनि साथ दियो । बार्सा (४५), एट्लेटिको (३६), भ्यालेन्सिया (३४) र रियल (३१) शीर्ष चारमा छन् । रियलले एक खेल कम खेलेको छ तर उसले अब उपाधि होडमा बार्सालाई उछिन्न अत्यन्तै गाह्रो छ ।


एथलेटिक बिल्बाओबाट यसै सिजन क्याम्पनु पुगेका भाल्भेर्डेको नेतृत्वमा बार्साले आकर्षक खेल पस्किरहेको छ । विशेषगरी उसलाई स्पेनमा रोक्ने वा हराउने मुख्य प्रतिद्वन्द्वी रियल हो तर म्याड्रिड क्लबले यो सिजन लय गुमाएको छ । त्यसैले पनि स्पेनी फुटबलमा फेरि बार्सा बलियो भएको हो । पछिल्ला खेलमा गरिएको प्रदर्शनको आधारमा भन्ने हो भने उसलाई ला लिगामा रोक्ने क्षमता अरु क्लबमा देखिदैन । उसको १४ जित र ३ बराबरीले पनि त्यसलाई पुष्टि गर्छ ।


बार्सिलोनाको लय मे २०१८ सम्म (जतिबेला लिग सकिनेछ) कायमै रहन्छ/रहदैन ? यसैमा उसको च्याम्पियन बन्ने अभियान निर्भर रहनेछ । स्पेनी सुपरकपमा हारेयता अपराजित बार्साले कोपा डेल रे र युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । उसले कोपा डेल रेमा सेल्टाभिगो र च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध खेल्नेछ ।

लिगको पोल पोसिजनमा बार्सा भएपनि रियललाई ‘जनवरी ट्रान्सफर’ उपयोग गर्दै खेलाडी भित्र्याएर टिमको कमजोरी सुधार्ने अवसर छ । तर बार्सालाई डराइहाल्नुपर्ने अवस्था छैन किनभने पछिल्लो सिजन कमजोर देखिएका गोलकिपर मार्क—आन्द्रे टेर स्टेगनले यसपाली उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी यो सिजनको २४ मध्ये १५ खेल ‘क्लिन—सिट’ रहे ।

प्रकाशित : पुस १०, २०७४ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?