२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आरिफको आक्रोश

विनोद पाण्डे

काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा बिहीबार निर्णायकका हिसाबमा निकै विवादित दिन रह्यो । ललितपुर प्याट्रियट्ससँग एउटा निर्णयमा भैरहवा ग्लाडियटर्स विवादास्पद निर्णयलाई पार लगाउन सफल भए पनि अर्कोमा टोलीका ब्याट्सम्यान आरिफ शेख त्यसको सिकार हुन पुगे ।

आरिफको आक्रोश

खेलको १३ औं ओभरमा आरिफ शेखलाई ६ रनमा ललित राजवंशीले आउट गरे । बलरले आरिफमाथि एलबीडब्लू आउटको अपिल गरेका थिए । मैदानमा रहेका अम्पायर विनयकुमार झाले बलरको अपिललाई सदर गरे । जबकि टेलिभिजन रिप्लेमा बल आरिफको ब्याटमा लागेको र प्याडमा नलागेको स्पष्ट देखिएको थियो । अम्पायरको निर्णयमा आरिफले तत्कालै मैदानमा आक्रोश देखाए । उनी बलले ब्याटमा लागेको संकेत गर्दै अम्पायर झा अगाडि आक्रामक रूपमा प्रस्तुत भए । आरिफले मैदान छाड्न पनि केही समय लिएका थिए । उनको स्थान लिन प्रदीप ऐरी मैदान छिरिसकेपछि आरिफ दौडिँदै पवेलियन फर्किएका थिए ।

पवेलियन फर्किनेक्रममा उनले आफूले लगाएको हेलमेट फाल्दा ‘डग आउट’ मा भैरहवाका अर्का खेलाडीलाई लाग्न पुगेको थियो । आक्रोशित आरिफले ब्याट पनि डग आउटमा फालिदिए । रोहित पौडेलले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गर्दा खुसीले आरिफको खुट्टा बाउन्ड्रीभित्र पुगेको थियो । भैरहवाले जितपछि दगुरेर मैदानभित्र छिर्नेमा आरिफ अग्रपंक्तिमा थिए ।

खेल सकिएपछि भैरहवाका कप्तान शरद भेषावकर, टिमका पदाधिकारीले आरिफका अगाडि मैदानभित्र म्याच रेफ्री समिर खान (मोहम्मद साफिक) सँग प्रतिवाद गरिरहे । ईपीएल आयोजक समितिले अम्पायरको निर्णयमा गम्भीर आपत्ति जनाएको भन्दै आरिफमाथि लेभल टु को अभियोग लगाई उनको म्याच फीको ५० प्रतिशत जरिवाना गराएको छ ।

भैरहवाको फाइनल यात्रामा आरिफले ठूलो प्रभाव पार्दै आएका छन् । उनले १ सय ६० रन बनाउनुका साथै ७ विकेट लिइसके । नेपाली खेलाडीमा सर्वाधिक रन बनाउनेमा उनी पोखरा राइनोजका सुनील धमला (१७१ रन) भन्दा मात्र पछाडि छन् । आरिफ म्यान अफ द सिरिजको दौडमा आफ्ना कप्तान शरद र विराटनगर वारियर्सका बाबर हायतसँगै छन् ।


‘प्लेइङ ११ मा नभएका खेलाडी’

ललितपुर प्याट्रियट्सले टसका लागि जाँदा जुन खेलाडीको नाम प्लेइङ ११ मा राखेको थियो, त्यसमा दीपेश भण्डारी थिएनन् । उनको नाम ललितपुरले १५ औं नम्बरमा राखेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको विकेट पतनसँगै उनी १९ औं ओभरमा ब्याटिङ गर्न आएका थिए । दीपेशले नै पहिलो इनिङ्सको अन्तिम ओभरमा हरिशंकर शाहलाई २ छक्का र २ चौका प्रहार गरे र अन्तिम बलमा उनी शरद भेषावकरबाट क्याचआउट भएका थिए ।

रोहित पौडेलले भैरहवा इनिङ्सको अन्तिम ओभरमा दीपेशको पहिलो दुई बलमा छक्का प्रहार गरी खेललाई नाटकीय हिसाबमा टुंग्याए । ललितपुरको टिम लिस्टमा दीपेशको स्थानमा सन्दीप जोरा राखिएको थियो । आरिफको विषयमा म्याच रेफ्री खानसँग मैदानमा भएको छलफलमा भैरहवा टोलीले यस विषयमा पनि आवाज उठाएको बताइएको छ ।



रोहितका ती दुई छक्का

काठमाडौं (कास)– रोहित पौडेलले अन्तिम ओभरमा लगातार दुई छक्काका साथै विजयी रन प्रहार गरेपछि भैरहवा ग्लाडियटर्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल पुगेको छ । भैरहवाले बिहीबार क्वालिफायर २ मा ललितपुर प्याट्रियट्समाथि ३ विकेटको विजत पायो ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको ललितपुरले ७ विकेट गुमाई १ सय ३३ रन बनायो । म्यान अफ द म्याच रोहितले १७ बलमा नटआउट २८ रन बनाएपछि भैरहवाले ३ बलअघि लक्ष्य भेट्यो । शनिबार हुने फाइनलमा भैरहवाले विराटनगर वारियर्सको सामना गर्नेछ । १९ औं ओभरको तेस्रो बल खेलको निर्णायक मोड बन्यो । रोहितले लङअफमा प्रहार गरेको बल बाउन्ड्री लाइनमा कुशल भुर्तेलले क्याच छाड्न पुगे । अर्को बल रशिद खानले नो–बल फाले । फ्री हिटमा २ रन प्रहार गरेका कृष्ण कार्कीले अन्तिम बलमा रन जोड्न सकेनन् ।

रोहितले अन्तिम ओभरको पहिलो दुई बलमा लङअफ र स्ट्रेट छक्का प्रहार गरेर सनसनी ल्याए । तेस्रो बलमा १ रन लिई भैरहवालाई फाइनल पुर्‍याए । ‘मेरो लक्ष्य खेललाई अन्तिम ओभरसम्म लानु थियो । १९ औं ओभरमा सोचेअनुरुप रन निकाल्न नसक्दा अन्तिम ओभरमा ठूलो हिट हान्नुपर्ने थियो । दुवै बल आफ्नै क्षेत्रमा आएपछि मैले बाउन्ड्री कटाइदिएँ,’ उनले भने ।

‘खेल निकै रोचक रह्यो । सायद प्रतियोगिता यसकै लागि थियो । ब्याटिङ लाइनअप राम्रो भए पनि बिचमा विकेट जाँदा केही दबाबमा पर्‍यौं,’ भैरहवाका कप्तान शरद भेषावकरले भने, ‘रोहितले निकै राम्रो फिनिसिङ गरे । उसले खेलेको तरिका हेर्दा नेपालले नै नयाँ फिनिसर पाएको अनुभूति भइरहेको छ । आशा छ उनलाई छिट्टै राष्ट्रिय टोलीमा देख्न पाइन्छ ।’

भैरहवाबाट प्रथम सालुन्केले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । उनले सन्दीप लामिछानेलाई लगातार तीन छक्का प्रहार गरेका हुन् । सन्दीपले २ ओभरमा ३३ रन खर्चिए । राहुल यादव र शरद ९–९, आरिफ ६, प्रदीप ऐरी ५ र भूपेन्द्र थापा १९ रनमा आउट भए । पुनीत मिश्रले ११ बलमा ३ चौका प्रहार गरी १६ रन बनाए ।

ललितपुरबाट जयकिसन कोल्सावालाले ४२ रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे । शंकर राना १२, कप्तान ज्ञानेन्द्र मल्ल २०, सन्नी पटेल २४ रनमा आउट भए । कुशलले खाता खोल्न सकेनन् । सोनु तामाङ १० रनमा नटआउट रहे । ‘सन्दीपको दुई ओभर र अन्त्यमा कुशलको क्याच छुट्नु हारको कारण बन्यो,’ ज्ञानेन्द्रले भने, ‘हामीले राम्रो सुरुआत गरे पनि फिनीसिङ राम्रो नहुँदा हार बेहोर्‍यौं । दबाबका कारण खेलाडीमा क्रिकेट सेन्स कमी हुँदा राम्रो योगफल खडा गर्न नसकेजस्तो लाग्छ ।’

प्रकाशित : पुस १४, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?