सुशील ६ महिना बाहिरै

सुबास हुमागाईं

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को लिग चरणअन्तर्गत गत बिहीबार सातौं खेलमा काठमाडौं किंग्स ११ र चितवन टाइगर्स खेलिरहेका थिए । पहिलो इनिङ्सको छैटौं ओभरमा चितवनका दिलीप नाथले काठमाडौंका अमरसिंह राउटेलाको बलमा अनसाइडतर्फ सट खेले । मिडअनमा रहेका सुशील कँडेलले उक्त सटलाई उत्कृष्ट ढंगले डाइभ हान्दै निश्चित चौका रोके । तर, बिडम्बना उनको दायाँ काँधको हड्डीमा नराम्रो चोट लाग्यो ।

सुशील ६ महिना बाहिरै

टोलीका फिजियो प्रयुष न्यौपाने सुशीललाई चोट लागेको केही समयमै मैदानभित्र पुगे । न्यौपानेले उनको दुखाइ र चोट लागेको स्थान हेर्दै कप्तान महारुफ फरवेजलाई सुशीलले खेल्न नसक्ने संकेत दिए । मैदानबाहिर रहेको मेडिसिटी अस्पतालको टोलीले परीक्षणपश्चात उनलाई अस्पताल लाग्ने सुझाव दियो । खेल चलिरहँदा उनलाई अस्पताल पुर्‍याइयो ।

अस्पताल लगेर थप परीक्षणपछि सुशीलको काँधको हड्डी भाँचिएको र शल्यक्रिया गर्नुपर्ने थाहा भयो । भोलिपल्टै उनको शल्यक्रिया भयो । ६ दिनको अस्पताल बसाइपछि सुशील बिहीबार गृहनगर नवलपरासी गएका छन् । अस्पतालको सम्पूर्ण खर्च काठमाडौं किंग्सले नै बेहोरेको हो । यद्यपि ईपीएलले सम्पूर्ण खेलाडीको स्वास्थ्य बीमाका साथै सुशीलको शल्यक्रिया भएको मेडिसिटी अस्पतालले प्रतियोगितामा सहकार्य जनाइरहेको हुनाले उपचारको खर्चभार फ्रेन्चाइजमै नपर्ने सम्भावना पनि छ । सुशीलका अनुसार उनलाई डाक्टरले मैदानमा फर्कन ६ देखि ८ महिना लाग्ने बताएका छन् । ‘चोट लागेको भोलिपल्ट शल्यक्रिया गरेपछि ६ दिन अस्पतालमै रहेँ । डाक्टरले ६ देखि ८ महिना भने पनि मैले सात महिनासम्म फिर्ता हुन्छु भन्ने आशा गरेको छु । १० दिनपछि फेरि एकपटक फलोअपमा आउने छु,’ उनले सुनाए ।

घरेलु क्रिकेटमा सुशील कँडेलले विगत एक वर्ष बलिङतर्फ एकछत्र राज जमाए । एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करणमा सर्वाधिक विकेट लिएका सुशीलले पञ्चकन्या तेजलाई उपाधि दिलाउन ठूलो भूमिका खेलेका थिए । यसपालि ईपीएलमा उनलाई टोलीमा समेट्न काठमाडौंले भाग्यको सहारा लिनुपरेको थियो । अक्सनमा धेरै टोलीले सर्वाधिक १ लाख २५ हजार रुपैयाँ बोली लगाएपछि गोलाप्रथाबाट सुशील काठमाडौं टिममा पुगेका थिए । टोलीका कप्तान महारुफले टोलीमा सुशीलको कमी खडेको स्वीकारे । ‘सुशील नेपालका उत्कृष्ट बलरमध्ये एक हुन् । यस विकेटमा देब्रेहाते स्पिनको निकै महत्त्व हुन्छ र उनको साथ नपाउनुले हामीलाई निकै असर गर्‍यो । अन्य टोलीको प्रदर्शन हेर्दा पनि देब्रेहाते स्पिनर चम्किएका छन् । उनको उपस्थिति नहुँदा टोलीमा पक्कै समस्या थियो,’ उनले भने ।

ईपीएलसँगै धनगढी प्रिमियर लिगमा पनि उनले सर्वाधिक विकेट लिँदै उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । भदौमा सम्पन्न प्रधानमन्त्री कपमा नेपाल प्रहरीले संयुक्त रूपमा उपाधि जित्दा सुशील टोलीका सर्वाधिक विकेट लिने बलर थिए । निरन्तर राम्रो प्रदर्शनकै कारण उनले राष्ट्रिय टोलीको प्रारम्भिक छनोट हुँदै विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको अन्तिम टोलीमा स्थान बनाएका थिए । यूएईविरुद्ध २० सदस्यीय टोलीमा अटाएका सुशील अन्तिममा भने परेनन् । राष्ट्रिय टोलीमा डेब्यू गर्न अझै बाँकी रहेका सुशील सफल पुनरागमन गर्नेमा ढुक्क छन् । ‘चोट खेलाडीको जीवनमा नचाहेर पनि आउने पाटो हो । चोटले खेलाडी कत्तिको बलियो छ भनेर जाँच्ने काम गर्छ । मेरो करिअर धेरै लामो छ र मैले अहिले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छु । खेलाडीको आत्मबल बलियो छ भने पुनरागमन गर्न कुनै कठिनाइ हुँदैन,’ उनले भने । क्रिकेट खेल्न थालेको ७ वर्ष पुग्दा सुशीलको यो तेस्रो ठूलो चोट हो । २० वर्षीय सुशीलको यसअघि औंला र घाँटीमा पनि चोट लागेको थियो । घाँटीको चोटका कारण उनले एसीसी यू–१९ एसिया कप नै गुमाएका थिए ।

नेपाली क्रिकेट क्यालेन्डर हेर्दा सुशीलले ठूला प्रतियोगिता गुमाउने पक्का भएको छ । फागुनमा हुने प्रधानमन्त्री कपदेखि वर्षको अन्त्यतिर हुने डीपीएल पनि उनले गुमाउने छन् । अन्तर्राष्ट्रिय सहभागितामा उनले आसन्न डिभिजन २ र त्यसपछि सम्भावित विश्वकप छनोट गुमाउने सम्भावना बढेको छ ।

अरुले खेलेको हेर्न गाह्रो हुने भए पनि सुशील आफू कसरी बलियो भएर फर्कने भन्नेमै केन्द्रित हुन चाहन्छन् । ‘बाहिर बसेर अरुले खेलेको हेर्दा निकै कठिन हुन्छ । अहिले ईपीएलमै पनि केही दिनमात्र बाहिर बस्दा मलाई निकै गाह्रो भयो । अब मैले यो खेर जाने समय कसरी सही रूपमा प्रयोग गर्छु भन्ने हो । पुनरागमनका लागि स्वास्थ्य कसरी छिटो ठिक बनाउने भन्ने मेरो मुख्य लक्ष्य हो,’ उनले भने ।

प्रकाशित : पुस १४, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?