१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

शिवराम च्याम्पियन

धरान — नम्बर एक प्रो शिवराम श्रेष्ठले निर्वाणा कन्ट्री क्लबमा शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनको यो सिजनको चौथो उपाधि हो । शिवरामको यो करिअरको ३९ औं उपाधि हो ।

शिवराम च्याम्पियन

उनले अन्तिम चरणमा २ अन्डर ६८ स्कोर गर्दै समग्रमा ७ अन्डर २ सय ३ को कार्ड बनाएर उपाधि जितेका हुन् । उनलाई एमेच्योर गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्कीले अन्तिम होलसम्म चुनौती दिएका थिए । त्यसैले उपाधि होड रोमाञ्चक रह्यो ।


टंकले दुई स्टोकको अग्रताबाट फाइनल चरण सुरु गरेका थिए । शिवरामले सुरुका नौ होलसम्म २ अन्डर ३४ खेल्दै ३ स्ट्रोकले अग्रता लिए । सुरुका नौ होलमा शुक्रले १ ओभर ३७ र टंकले ३ ओभर ३९ स्कोर गरेका थिए । शिवरामले १४ औं होलको समाप्तिसँगै टंकसँग ३ स्ट्रोक र शुक्रसँग ५ स्ट्रोकको अग्रता लिए । १५ औं होलमा शुक्र र टंकले बर्डी खेलेका थिए भने शिवराम बोगीमा परे । त्यसैले टंक र शुक्र फेरि शिवराम नजिक पुगेका थिए । १६ औं होलमा शिवरामले करिब १२ फिट टाढाबाट ‘पट’ गर्दै पार खेले भने टंक नौ फिटबाट बर्डी गर्न चुके । शुक्रले पनि त्यस होलमा करिब ५ फिटको पट मिस गर्दा पार खेल्न सकेनन् । १७ औं होलमा शिवरामले फेरि बोगी खेले भने टंकले पार बनाए । र, शुक्रले बर्डी गरे ।


त्यसैले अन्तिम होलमा पुग्दा शिवराम र टंक समान सात अन्डरको स्कोरसहित शीर्षस्थानमा थिए भने शुक्र दुई स्ट्रोक अन्तरमा थिए । शुक्रले निकै राम्रो सट प्रहार गर्दै पार ४ को अन्तिम होलमा आफूलाई ‘इगल’ को मौका बनाए भने शिवराम र टंक दुवै राम्रो सुरुआत गर्न चुके । टंकले रुख छल्दै सुरक्षित खेले भने शिवरामले झण्डामा आक्रामक खेल्दा उनको बल बंकरमा पुगेको थियो । टंकले करिब आठ फिटबाट पार बनाउन सकेनन् र बोगीमा परे । अनि शिवरामले करिब ६ फिटबाट पट गर्दै सिजनको चौथो उपाधि कब्जा गरे ।


शुक्रले इगल गर्न नसके पनि बर्डी बनाए र उनी काउन्ट ब्याकको आधारमा टंकलाई उछिन्दै एमेच्योरतर्फ विजेता बने । अन्तिम ३६ होलको खेलमा शुक्रको ४ अन्डर रह्यो भने टंकको स्कोर २ अन्डर बन्यो । शुक्रले अन्तिम दिनको खेल १ अन्डरमा टुंग्याउँदै कुल ६ अन्डर २ सय ४ को कार्ड बनाए । टंकले १ ओभर ७१ खेल्दै कुल ६ अन्डर २ सय ४ को कार्ड बनाए ।

व्यावसायिक गल्फरतर्फ सन्जय लामा र जयराम श्रेष्ठले संयुक्त दोस्रो स्थानमा रहे । अन्तिम चरणमा जयरामले २ अन्डर र सन्जयले २ ओभर खेलेर कुल १ अन्डर २ सय ९ स्कोर गरे । च्याम्पियन शिवरामले ट्रफीसाथ १ लाख १५ हजार रुपैयाँ हात पारे । सन्जय र जयरामले जनही ६३ हजार ५ सय पाए । चौथो स्थान हासिल गर्दै शिवकुमार माझीले ४२ हजार हात पारे । उनले अन्तिम दिन २ ओभर ७२ खेल्दै समग्र स्कोर १ ओभर २ सय ११ बनाए ।


भुवन नगरकोटी र सविन सापकोटा संयुक्त पाँचौं स्थानमा रहे । सविनले १ अन्डर खेले भने भुवनले ३ ओभर ७३ स्कोर गरे । समग्रमा उनीहरूको स्कोर २ ओभर २ सय १२ रह्यो ।उनीहरूले जनही ३४ हजार ५ सय रुपैयाँ हात पारे । धनबहादुर थापाले ३ ओभर २ सय १३ सहित सातौं हुँदै २९ हजार हात पारे । उनले अन्तिम दिन इभन पार ७० को कार्ड बनाए ।


आठौं स्थानमा रहेका दीपक थापामगरले ३ ओभर ७३ खेल्दै समग्र स्कोर ४ ओभर २ सय १४ बनाएर २६ हजार प्राप्त गरे । सूर्यप्रसाद शर्मा, देवराज पाख्रिन र सुमन राईले संयुक्त नवौं स्थान हासिल गर्दै जनही २२ हजार प्राप्त गरे । उनीहरूको कुल स्कोर ५ ओभर २ सय १५ रह्यो ।

प्रकाशित : पुस १५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?