कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेजोड फाइनलको अपेक्षा

विराटनगरलाई रोक्ने भैरहवाको लक्ष्य

काठमाडौँ — फ्रेन्चाइजमा आधारित प्रतियोगिताको फाइनल पुग्नु भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषावकरलाई नौलो होइन । उनका लागि यसपालिको मुख्य चुनौती टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विराटनगर वारियर्सको विजय यात्रा कसरी रोक्नु नै हो । 

बेजोड फाइनलको अपेक्षा

नेपाल प्रिमियर लिग (एनपीएल) र ईपीएलको गत वर्षको संस्करण शरदको नेतृत्वमा पञ्चकन्या तेजले जितेको थियो । ५० ओभरको एनपीएल ३ वर्षअघि धनगढीमा भएको थियो । गत वर्ष धनगढी प्रिमियर लिग (डीपीएल) मा भने शरदको कप्तानीमा रहेको विराटनगर किंग्स फाइनलमा पराजित भयो ।


पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले अविस्मरणीय पुनरागमनमा विराटनगरलाई पराजित गरी डीपीएल जितेको थियो । स्थिति अहिले ठिक उल्टो छ । पारसको विराटनगर वारियर्स उत्कृष्ट फर्ममा छ । अपराजित रहेर फाइनल पुग्दै टोलीले उपाधिमा दाबेदारी प्रस्तुत गरेको छ ।


विराटनगरले लिग चरणमा भैरहवालाई ३५ रनले हराएको थियो । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर क्वालिफायरमा भिड्दा विराटनगरले सजिलै ८ विकेटको जित निकालेको थियो । क्वालिफायर २ मा ललितपुर प्याट्रियट्समाथि ३ विकेटको सनसनी विजय हात पारेर भैरहवाले शनिबार हुने विराटनगरसँगको फाइनल पक्का गरेको हो ।


दुवै कप्तान प्रतियोगितामा गरेको प्रदर्शनलाई विगत मान्छन् र फाइनल खेल नयाँ हुने दाबी गर्छन् । ‘फाइनलमा हामी रमेर खेल्नेछौं । मेरो अनुभवको आधारमा क्वालिफायर खेल सधैं सबैभन्दा कठिन हुने गर्छ । हामीले मिहिनेतकै कारण यहाँसम्मको यात्रा तय गरेका छौं । दुवै टोली फाइनलप्रति पूर्ण रूपमा तयार छन् । हामी अहिलेसम्मको फर्मलाई निरन्तरता दिने लक्ष्यसाथ फाइनल उत्रन्छौं,’ पारसले भने ।


विराटनगरले लिग चरणमा सबै ५ खेल जित्दा टोलीलाई काठमाडौं किंग्स ११ बाहेक अन्यले खासै चुनौती दिन सकेन । विशेष गरी हङकङका ब्याट्सम्यानद्वय बाबर हायत र अंशुमन रथ उत्कृष्ट फर्ममा छन् । स्पर्धामा सर्वाधिक रन बनाउनेक्रममा बाबरले ३ र अंशुमनले २ अर्धशतक बनाइसकेका छन् । यी दुईका कारण पारसले पनि ब्याटिङमा मौका पर्खेर बस्नुपर्ने स्थिति छ । ‘हाम्रो सुरुआती जोडी नचलेको अवस्थामा पनि तल्लोक्रम इनिङ्स धान्न सक्षम छ,’ पारसले भने, ‘सबै खेलाडीले कुनै दबाबबिना आफ्नो खेल्ने छन् ।’


माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन दिँदा विराटनगरको तल्लोक्रम परीक्षण नभएकाले आफ्नो टोलीको एउटा मौका त्यहाँ देख्छन् शरद । त्यस बावजुद उनी विपक्षीको कमजोरीभन्दा आफ्नो टोलीको शक्तिमा केन्द्रित हुन खोज्छन् । ‘विदेशी खेलाडीको उपस्थितिले विगत तुलनामा यस प्रतियोगिताले नयाँ आयाम थपेको छ । दुई राम्रा टोली फाइनल पुगेका छन् । हाम्रा लागि सबै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्,’ माथिल्लोक्रमको ब्याटिङ चल्न नसक्दा खासै चिन्तित नदेखिएका शरदले भने, ‘ओपनर नचले पनि मध्यक्रममा कोही न कोही आएर टोलीलाई राम्रो स्थानमा लगेका छन् । विपक्षीको प्रदर्शन हेरेर भन्दा पनि हामी आफ्नो तर्फबाट सक्दो राम्रो प्रदर्शन दिने प्रयास गर्नेछौं ।’


भैरहवाले सुरुआत निकै राम्रो गरेको थियो । उत्कृष्ट ब्याटिङ गर्दै आएका भारतीय खेलाडी पुनीत विष्ट फर्किएपछि टोलीको ब्याटिङ केही धर्मराएको छ । उनको स्थानमा आएका राहुल यादवले दुई खेलमा विदेशी खेलाडीमा हुनुपर्ने छनक अझै दिएका छैनन् । अर्का ओपनर भारतीय खेलाडी प्रथम सालुन्केले पोखरासँगको खेलमा विक्रम सोबलाई लगातार ५ चौका र ललितपुरसँग पछिल्लो खेलमा सन्दीप लामिछानेलाई लगातार ३ छक्का प्रहार गरेका थिए । तर, उनले एकरुपको प्रदर्शन दिन सकेका छैनन् ।


सोही कारण भैरहवाको ब्याटिङ धेरै मात्रामा शरद र आरिफ शेखमा निर्भर छ । युवा खेलाडी रोहित पौडेलले भैरहवालाई फाइनल पुर्‍याउने क्रममा ललितपुरसँग अन्तिम ओभरमा प्रहार गरेको दुई छक्काले टोलीमा नयाँ उर्जा थपेको देखिन्छ । शरदले भने, ‘विराटनगरसँग पहिलेको दुई हारमा गरेको गल्तीबाट सिकेर हामीले फाइनलमा नयाँ सुरुआत गर्दै छौं । आशा छ यसमा राम्रो नतिजा आउनेछ । हामीले राम्रो प्रदर्शन गरेर दर्शकलाई खेलको मजा दिने प्रयास गर्नेछौं ।’


विराटनगरको ब्याटिङमात्र नभई बलिङ पनि सशक्त छ । भेट्रान स्पिनर वसन्त रेग्मीले प्रतियोगितामा सर्वाधिक १२ विकेट लिइसकेका छन् । पहिलो खेल नखेलेका अविनाश कर्णले ५ खेलमा ८ विकेट लिइसके । भैरहवाको अर्को चुनौती विपक्षीको बलिङमा पनि छ ।






बसन्त रेग्मी

‘अझै आशा’

फाइनल आफैंमा दबाब हुन्छ, त्यसमा दुवै टोलीका प्रमुख ब्याट्सम्यान आशिफ शेख र प्रदीप ऐरी अझै दबाबमा हुनेछन् । ठूलो आशा गरिएका दुवैको प्रदर्शन सन्तोषजनक छैन । ईपीएल अक्सनमा आशिफलाई १ लाख २५ हजार भाउ लागेको थियो । आशिफले अधिकतम रकम पाउँदा उनीमाथि भाउ लगाउने अन्य टोलीहरू पनि थिए । त्यसमा विराटनगरले गोलाप्रथामा बाजी मारेको हो ।


हालैका दिनमा राष्ट्रिय टोलीबाट समेत प्रतिनिधित्व गरिसकेका आशिफले गत वर्ष कर्पोरेट संरचनाको एभरेस्ट प्रिमियर लिगको फाइनलमा कलर्स एक्स फ्याक्टर्सविरूद्ध ६४ बलमा नटआउट १ सय ११ रन बनाउँदा शरद भेषावकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले उपाधि जितेको थियो । दुर्भाग्य, त्यसयता आशिफले बिरलैमात्र सम्झनालायक इनिङ्स खेलेका छन् ।


पछिल्ला दुई खेलमा उनी शून्यमा आउट भएका छन् । त्यसअघि पनि उनी भैरहवाविरूद्ध १ रनमै आउट भए । ओपनिङमा ब्याटिङ गर्ने उनले ६ खेलमा २५ रनमात्र बनाउन सकेका छन् । विराटनगरका कप्तान पारस खड्काले आशिफको अहिले खराब समय रहेको तर उनकै प्रदर्शनका कारण टोलीमाथि दबाब रहेको स्वीकारेनन् । ‘आशिफ नचलेको भए पनि उसमा ठूलो क्षमता छ । पछिल्लो सिजन फाइनलअघि उसका बारे कमैलाई थाहा थियो । आशा छ उसले राम्रो खेल्नेछ,’ पारसले भने ।


एक समय नेपाली टोलीका ओपनिङ ब्याट्सम्यान रहेका प्रदीपले ६ खेलमा २९ रनमात्र बनाउन सकेका छन् । अक्सनमा लागेको १ लाख ६० हजार उनको भाउलाई रनले भाग गर्ने हो भने प्रतिरन ५ हजार ५ सयभन्दा पर्न जान्छ । निकै कमजोर प्रदर्शनका

कारण उनलाई भैरहवाले एक खेलमा ‘ड्रप’ पनि गरिसकेको छ । भैरहवाका कप्तान शरदले जुनै समयमा आफ्नो आक्रामक स्वरुप देखाउने खेलाडी भएकाले प्रदीपमाथि विश्वास देखाउँदै आएका छन् ।


शेख परिवारमा एउटा खुसी भने पक्का भित्रिँदै छ । ईपीएल ट्रफी जसले जिते पनि शेख परिवारले त्यसको खुसी साट्ने छ । आशिफका दाजु आरिफ भैरहवाबाट खेल्दै उत्कृष्ट फर्ममा छन् । उनले १ सय ६० रन बनाउनुका साथै ७ विकेट लिएका छन् । गत वर्ष आशिफ र आरिफ दुवै पञ्चकन्यामा थिए । शेख परिवारको प्रतीक्षा भनेको ट्रफी दाजुभाइमध्ये कसकोमा पर्छ भन्ने मात्र हो ।


आरिफ शेख


प्रभावशाली देखिएका खेलाडी


ब्याटिङ

विराटनगर वारियर्स

खेलाडी खेल रन उच्च स्कोर स्ट्राइक रेट

बाबर हायत ६ ३०२ ८१ १४०.४६

अंशुमन रथ ६ २३० ६० १०१.३२

पारस खड्का ६ १४८ ४२८ १२३.३३

अनिल शाह ६ ५७ ४७ ११४.००

आशिफ शेख ६ २८ २१ ५७.१४

प्रनित थापा ६ २५ १४ १७८.५७

भैरहवा ग्लाडियटर्स

आरिफ शेख ७ १६० ४८८ १२०.३०

पुनीत विष्ट ३ १०७ ५० १३३.७५

पुनीत मेहरा ७ १०६ ४९ ११५.२१

शरद भेषावकर ७ १०४ ३२८ ८३.२०

रोहित पौडेल ७ ८७ ३१ १०७.४०

प्रथम सालुन्के ५ ६६ ३२ १४०.४२




बलिङ

विराटनगर वारियर्स

खेलाडी ओभर रन विकेट इकोनोमी

वसन्त रेग्मी २२.५ १०१ १२ ४.४२

अविनाश कर्ण १६ ८९ ८ ५.५६

पारस खड्का १८ ९३ ७ ५.१६

करण केसी २३ १६१ ६ ७.००

भैरहवा ग्लाडियटर्स

दीपेश श्रेष्ठ १४.३ ९७ ९ ६.६८

पुनीत मेहरा २६ १३६ ८ ५.२३

शरद भेषावकर २५ १४३ ८ ५.७२

हरिशंकर शाह २४ १४७ ८ ६.१२


प्रकाशित : पुस १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?