१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुनसरी–११ च्याम्पियन

शाहिमान राई

पाँचथर — फिदिममा आइतबार सम्पन्न नवौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि सुनसरी–११ ले जितेको छ । उसले फाइनलमा मोरङ–११ माथि २–० को जित रच्दै ट्रफी कब्जा गरेको हो ।

सुनसरी–११ च्याम्पियन

१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ‘ए’ डिभिजन क्लबमा ख्याति कमाएका चर्चित खेलाडीहरू समावेश रहेकाले रोचक प्रतिस्पर्धा भएको थियो । पाँचथरको यासोक गोल्डकप जितेर झापाको दूधे गोल्डकप, सुनसरीको दुहबी गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि हात पारेर फाल्गुनन्द गोल्डकपमा प्रतिस्पर्धा गर्न आइपुगेको मोरङ–११ फिदिममा भने उपाधि जित्न असफल भयो ।


यस वर्षको पहिलो प्रतियोगितामा सहभागी प्रिक्वाटरफाइनलमा ब्वाइज युनियन क्लब, क्वाटरफाइनलमा एपीएफ, सेमिफाइनलमा अग्नि रूपन्देही र फाइनलमा मोरङ–११ लाई पराजित गर्दै सुनसरी–११ फाल्गुनन्द गोल्डकप जित्न सफल भएको हो ।


खेलको ६२ औं मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि सुरज सुनुवारले ८० औं मिनेटमा मोरङ–११ विरुद्ध गोल गरेपछि सुनसरीको जित सम्भव भएको थियो । उनी म्यान अफ द म्याच घोषित भए । उनले दस हजार रुपैयाँ प्राप्त गरे ।


सदरमुकाम फिदिम माविको मैदानमा चारैतिर निर्माण गरिएको बाँसको प्यारापिटमा बसेर खेल हेरेका दर्शकलाई दुवै टिमका खेलाडीले उत्कृष्ट र मनोरञ्जनात्मक खेल देखाए । अनुशासित र मिहिनेतका साथ आकर्षक खेल प्रस्तुत गरे पनि प्राविधिक कारणले उपाधि जित्न असफल भएको मोरङ–११ का प्रशिक्षक मनीष तिम्सिनाले बताए ।


सुनसरी–११ का प्रशिक्षक श्याम मानन्धरले लामो समयपछि प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएर पनि उपाधि जित्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिए ।


सुनसरीका तीर्थ बस्नेत सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ५ गोल गरेका थिए । आयोजक फिदिम स्पोर्टिङका आकाश रानामगर उत्कृष्ट खेलाडी, सुनसरी ११ का विवश चौधरी उत्कृष्ट गोलकिपर, निशान लिम्बू उत्कृष्ट फरवार्ड, मोरङ–११ का कप्तान सुरेन्द्र खवास उत्कृष्ट डिफेन्डर, मोरङकै बुद्धिमान राई उत्कृष्ट मिडफिल्डर र राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका सुनसरी–११ का हेमन्त थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुनसरीका श्याम मानन्धर उत्कृष्ट प्रशिक्षक छानिए ।


हेमन्तले ३५ हजार, तीर्थले १५ हजार तथा अरू व्यक्तिगत पुरस्कार विजेताहरूले जनही १० हजार रुपैयाँ हात पारे । फाल्गुनन्द गोल्डकप च्याम्पियन सुनसरी–११ ले तीन लाख र उपविजेता मोरङ–११ ले दुई लाख रुपैयाँ हात पारे ।


लवको बिदाइ

फिफा रेफ्रीका रूपमा लामो अवधि कार्यरत रहेका लव खत्रीले फाल्गुनन्द गोल्डकपको समाप्तिसँगै यस भूमिकाबाट बिदाइ लिएका छन् । उनलाई गोल्डकप आयोजक फिदम स्पोर्टिङ क्लबले २५ हजार रुपैयाँ र कदरपत्रसहित सम्मान गर्‍यो ।


ललितपुरस्थित थसिखेलका खत्री २०४६ सालदेखि २०५६ सालसम्म फ्रेन्ड्सलगायत ‘ए’ डिभिजन क्लबबाट खेलेका थिए । त्यसपछि एन्फाबाट फिफा रेफ्रीमा मनोनयन भएपछि आइतबारसम्म स्वदेशका ५ सय बढी खेल खेलाएका थिए भने उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : पुस १७, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?