पीडा २६ गोलको

‘बिहान सूचना पाएपछि खेलाडी त्यसै दिन बेलुका गाडी चढेर काठमाडौं आयौं । कुनै प्रशिक्षण नगरी मैदानमा उत्रनुपर्‍यो ।’
सुबास हुमागाईं

काठमाडौं — मध्यपश्चिमाञ्चल महिला फुटबल टोलीकी कप्तान विमला रानामगर मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा निकै निराश मुद्रामा थिइन् । दर्शकदीर्घामा रहेर पुलिस र सुदूरपश्चिमबीचको खेल नियाल्दा क्षेत्रीय टोलीको समर्थन गरेको उनको व्यवहारबाट प्रस्ट झल्कन्थ्यो ।

पीडा २६ गोलको

अघिल्लो दिन उनको टोली विभागीय टिम एपीएफसँग २६–० ले पराजित भएको २४ घण्टा बितेको थिएन । बिनाकुनै प्रशिक्षण लिग खेल्न राजधानी आइपुगेको उनको टोली नियमित प्रशिक्षणमा रहेको एपीएफविरुद्ध निरीह देखियो ।

टोलीको कमजोर प्रदर्शनबारे प्रश्न गर्दा विमलाले बिहान सूचना पाएपछि खेलाडी त्यसै दिन बेलुका गाडी चढेर काठमाडौं आएको बताइन् । ‘हामी कुनै प्रशिक्षण नगरी काठमाडौं आइपुग्यौं । यहाँ आएर पनि हामीले मैदानमा खेल्न बाहेक प्रशिक्षण गर्न पाएका छैनौं । पहिलोपल्ट एक आपसमा खेल्न त यसै गाह्रो हुन्छ, एपीएफजस्तो नियमित प्रशिक्षणमा रहेको टोलीसँग प्रतिस्पर्धा गर्न कठिन नहुने कुरै भएन,’ उनले सुनाइन् । विमला प्रशिक्षण नहुँदा आफ्ना खेलाडी पहिलो खेलमै घाइते भएर बस्नुपरेको दिक्दारलाग्दो वृत्तान्त पनि सुनाउँदै थिइन् । ‘टोलीले साथमा प्रशिक्षण गर्न पाएको भए फिटनेससँगै प्रदर्शनमा पनि केही सुधार हुन्थ्यो । हामी यहाँ सक्दो राम्रो प्रदर्शन गरेर विभागीय टोलीसम्म पुग्ने बाटो खोज्न आएका हौं । अन्य टोलीका आफैं प्रशिक्षण गरेर राम्रो खेल्छन् अनि माथि पुग्छन् । हामीले आफैं आग्रह गर्दा पनि प्रशिक्षण हुन सकेन,’ उनले सुनाइन् । विमलाका अनुसार धेरै गोल खाएका कारण टोलीका केही सदस्यले अर्को पटकदेखि प्रशिक्षण नभएमा सहभागिता नजनाउने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबार सुरु राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगमा तीन विभागीय र ५ क्षेत्रीय टोली प्रतिस्पर्धी छन् । दोस्रो दिन सोमबार विभागीय टोली एपीएफले क्षेत्रीय टोली मध्यपश्चिममाथि २६–० को ऐतिहासिक जित रचेको थियो । पहिलो हाफमा १४ गोल गरेको एपीएफले दोस्रो हाफमा १२ गोल थप्यो । त्यसअघि आर्मी टोलीले पश्चिमाञ्चलमाथि १२–० को फराकिलो जित दर्ता गरिसकेको थियो । निरन्तर प्रशिक्षणमा रहने एपीएफसँग बिरलै मैदानमा देखिने मध्यपश्चिमका खेलाडीको केही लागेन । खेल अवधिभर मध्यपश्चिमले विपक्षी पोस्टमा एउटै आक्रमण गर्न सकेन । एपीएफकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले खेलभर एकपटक बल समाइन् । त्यो पनि आफ्नै टोलीको काउन्टर अट्याक सुरु गर्न ।

मध्यपश्चिमलाई फराकिलो अन्तरले पराजित गर्दा राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । मध्यपश्चिमका प्रशिक्षक सानु तामाङ भने टोलीले तयारी गर्न समय नपाएको कारण यस्तो फराकिलो नतिजा बेहोर्नुपरेको बताउँछन् । ‘टोलीले राम्रो तयारी गर्न पाएन । क्षेत्रमा एक साताअघि खबर आए पनि हामीले टोलीको तयारीबारे केही खबर भएन । खेल हुने दुई दिनअघि टोली लिएर जानुपर्‍यो भनेपछि हामी खेलाडी लिएर काठमाडौं आएका हौं,’ उनले भने । प्रशिक्षक तामाङका अनुसार बाँके, बर्दिया र सुर्खेत जिल्लाबाट सिफारिस गरिएका खेलाडी जम्मा गरेर टोली तयार गरिएको हो ।

एन्फा प्रवक्ता सन्जिव मिश्रका अनुसार सबै क्षेत्रमा पुस ५ गते नै प्रतियोगिताबारे जानकारी गराइएको थियो । तर, अरु केही प्रशिक्षकले पनि टोलीलाई खेलबारे केही दिनअघि मात्र जानकारी भएको बताए । केही टोलीले त जिल्लाबाट सिफारिस खेलाडीलाई काठमाडौं आउने क्रममा गाडीमा बटुल्दै आएको पनि जानकारी दिए । एन्फाले प्रतियोगितामा सहभागिता जनाउने सबै टोलीलाई तयारीमा खेल्ने जर्सीबाहेक केही सामग्री एवं सुविधा प्रदान गरेको छैन । विभागीय टोलीको तुलनामा अन्य विकास क्षेत्र यसै पनि कमजोर हुन्छन्, त्यसमाथि पनि एन्फाबाट कुनै सहयोग नपाउँदा क्षेत्रीय टोलीको सहभागिता केवल औपचारिकतामै सीमित भएको छ ।

प्रवक्ता मिश्र क्षेत्रबाट स्तरीय टोली गठन गर्न कम्तीमा पनि क्षेत्रभित्र रहेका जिल्लाबीच एक आपसमा छनोट प्रतियोगिता आयोजना गर्नु जरुरी रहेको बताउँछन् । तर, क्षेत्रीय टोली छनोट गर्न दुई दिनअघि खबर पुगिरहेको अवस्थामा छनोट प्रतियोगिता गर्न आर्थिकमात्र नभएर प्राविधिक रूपमा पनि सम्भव छैन । प्रतियोगितामा सहभागी विभागीय टोलीमध्ये मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलका अधिकांश खेलाडीसँगै प्रशिक्षण गर्ने भएकाले नतिजा तुलनात्मक हेर्नलायक छ । तीबाहेक अन्य टोली भने दोहोरो अंकको गोल बचाउनुलाई प्राथमिकतामा राख्न बाध्य छन् ।

विगतमा पनि एन्फाद्वारा सञ्चालित क्षेत्रीय टोली सहभागी प्रतियोगितामा यस्ता नतिजा आउने गर्थे । तर विभागीय टोलीको स्तर बढै गएको अवस्थामा क्षेत्रीय स्तरबाट कुनै कदम नचाल्दा प्रतिफल निकै दुर्भाग्यपूर्ण हुँदै आएको छ । देश संघीयतामा प्रवेश गरिसकेको अवस्थामा अब क्षेत्रीय फुटबलको अस्तित्व छिट्टै समाप्त हुँदै छ ।

५ क्षेत्रबाट अब ७ प्रादेशिक फुटबल संघ स्थापना हुँदै छन् । त्यस समयमा पनि व्यवस्थापन यस्तै भएको खण्डमा विभागीय टोलीको एकछत्र राज त कायम रहन्छ नै । धेरै गोल खाने डरले खेलाडीको उपस्थिति नै नहोला पनि भन्न नसकिने फुटबलका जानकारहरू बताउँछन् ।

प्रकाशित : पुस १९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?