१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विकटमा स्वर्णको हर्ष

विमल खतिवडा

चितवन — कान्दा गाउँ जिल्लाको सबैभन्दा विकटमा पर्छ । राप्ती नगरपालिकाभित्र यो राखिए पनि गाउँमा मोटरबाटो, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच अझै पुग्न सकेको छैन ।

विकटमा स्वर्णको हर्ष

नगरपालिकाको १३ नम्बर वडामा पर्ने यस गाउँमा समस्याका चाङ थुप्रै छन् ।

चेपाङ समुदायको बाहुल्य रहेको यो ठाउँमा भोकमरीको समस्या खेप्नेहरू पनि प्रशस्तै छन् । तर कान्देश्वरी आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत सावित्री तामाङले भने सिँगो गाउँमा सबै पीडा बिर्साउने उदाहरणीय कार्य गरिन् । गाउँमै पहिलो स्वर्ण पदक भिर्‍याउने खेलाडी बनेर उनी कान्दा पुगिन् । यही पुस १७ र १८ गते सुनसरीको इटहरीमा भएको १२ औं खुला अन्तर्राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दोमा उनले स्वर्ण पदक जितिन् । स्वर्ण पदक जितेपछि उनी बिहीबार काठमाडौं पुगिन् । शनिबार गाउँ फर्किंदै छिन् । उनको स्वर्णले सिँगो गाउँमा खुसी छाएको छ ।


उनको भव्य स्वागत गर्न गाउँले, आफन्त, शिक्षक र साथीहरू बाटो हेरेर बसेका छन् । त्यस्तै उनीसँगै गएका बुद्धिबहादुर चेपाङ र राममाया चेपाङले ३३ केजी तौल समूहमा कांस्य पदक जित्न सफल भए । बुद्धिबहादुर कक्षा ६ र राममाया कक्षा ५ मा अध्ययनरत छन् । प्रतियोगितामा ५ जनाको सहभागिता थियो । विनोद तामाङ र मंगलसिंह चेपाङले पदक हात पार्न सकेनन् । सबै गाउँकै कुमार–बलराम स्मृति छात्रावासमा बसेर कान्देश्वरी विद्यालयमा अध्ययन गर्छन् । १ सय ६१ बालबालिका आवासीय सुविधासहित छात्रावासमा छन् ।


छात्रावासमा तेक्वाङदो सिकाउन थालेको डेढ वर्ष भयो । प्रशिक्षक सुमन दाहाल आफैं आवासीय सुविधासहित गाउँमा बसेर प्रशिक्षण दिन व्यस्त छन् । ‘स्वर्ण जित्नु भनेको ठूलो कुरा हो,’ दाहालले भने, ‘यसले हामी सबै खुसी छौं ।’ उनले खेलाडी तयार पारेर इटहरी लगेका थिए । ‘सुविधासम्पन्न ठाउँमा प्रशिक्षित खेलाडीलाई धुलोमैलामा तयार भएका खेलाडीले हराउनु भनेको सानो कुरा होइन,’ गौरव गर्दै उनले भने, ‘यस्तो विकट गाउँका खेलाडीका लागि यो ठूलो ऊर्जा हो । यसले अर्को प्रतियोगितामा हाम्रा खेलाडीले झनै राम्रो खेल्ने छन्, मिहिनेत गर्नेछन् ।’


प्रतियोगितामा नेपालसहित १३ देशका खेलाडीको सहभागिता थियो । नेपालका २५ जिल्लाका खेलाडी प्रतिस्पर्धी भएका थिए ।


कान्दाको कथा फरक छ । ०६७ जेठमा विषालु च्याउ खाएर यो गाउँका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । यो गाउँ पुग्न आधा मोटरबाटो र आधा पैदल हिँड्नुपर्छ । करिब ७ घण्टामा यो गाउँ पुग्न सकिन्छ । लक्ष्मी प्रतिष्ठान काठमाडौंले गाउँमा छात्राबास बनाएर भोकमरीको समस्या झेल्दै आएका बालवालिकालाई पढ्ने ब्यवस्था मिलाएको छ । ‘स्वर्ण पदकले हामी सबैमा खुसी छाएको छ,’ प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने, ‘त्यही भएर स्वर्ण जित्नेलाई प्रतिष्ठानले काठमाडौंमा स्वागत गरेर गाउँ फर्काएका छौं, हाम्रो उद्देश्य विभिन्न क्षेत्रमा यसरी नै चेपाङ बालवालिकालाई सहभागिता गराई अगाडि ल्याउनु हो ।’

प्रकाशित : पुस २२, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?