कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संकटा अन्तिम आठमा

खप्तड गोल्डकप
डीआर पन्त

धनगढी — गत वर्षको उपविजेता संकटा ‘सडनडेथ’ मा धरान फुटबल क्लबलाई पन्छाउँदै आइतबार क्षेत्रीय रंगशालामा भइरहेको नेपाल आइस खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

संकटा अन्तिम आठमा

तेस्रो दिनको खेल निर्धारित समय गोलरहित टुंगिएको थियो । टाइब्रेकरमा पनि ३–३ मा सकिएको थियो । त्यसपछि सडनडेथमा संकटाले सफलता हात पारेको हो । पेनाल्टी सुटआउटमा दुई प्रहार रोक्दै गोलकिपर विनय श्रेष्ठले संकटालाई अन्तिम आठमा पुर्‍याएका थिए । उनी म्यान अफ द म्याच घोषित भए ।


पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिषेक रिजाल सफल रहे भने सुशील लामा र भूषण सुब्बाले प्रहार गरेको बल धरानका गोलकिपर रोशन खड्काले असफल पारेका थिए । धरानका लागि वर्तमान राई, रोमन लिम्बू, सुरज विक र प्रकाश बुढाथोकी मात्र पेनाल्टी सुटआउटमा सफल रहे । सञ्जय राई र रोशन खडकाको प्रहार गोलकिपर विनयले रोक्दै संकटालाई जित दिलाए । धरानका सुवोश शाहीले भने पोस्ट बाहिर प्रहार गरेका थिए ।


खेलको पहिलो हाफसम्म संकटालाई निकै दबाबमा राख्न सफल भए पनि धरानले गोल गर्न सकेन । संकटाका खेलाडीले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि पाएको पेनाल्टीमा पनि धरान अग्रता लिन चुकेको थियो । प्रकाश बुढाथोकीले पेनाल्टी अवसरलाई उपयोग गर्न सकेनन् । यसअघि १० औं मिनेटमा धरानका सौजन राईले पनि गोलको राम्रो अवसर गुमाएका थिए ।


धरानका तीर्थ बस्नेतले दुईपल्ट मौका पाएर पनि गोल गर्न सकेनन् भने वर्तमान राई र जीवन धामीले पनि पटकपटक अवसर गुमाएका थिए । पहिलो हाफमा थुप्रै मौका सिर्जना गरेर पनि धरानले बललाई पोस्टको दिशा दिन सकेन । दोस्रो हाफमा संकटाले सम्हालिएको खेल प्रदर्शन गर्‍यो । उसले पनि गोल गर्ने अवसर सिर्जना गर्‍यो तर सटीक प्रहार गर्न भने सकेन । संकटाका अफ्रिकी मूलका खेलाडी सेडरिक अबाले गोल गर्ने सुन्दर अवसर पाएका थिए तर उनी असफल रहे । अभिषेक रिजाल, सजिन थापा र अनिल गुरुङले पनि सहज अवसरलाई उपयोग गर्न सकेनन् ।


संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलमा आफ्नो टिमले निकै दबाब खेप्नुपरेको प्रतिक्रिया दिए । उनले भने, ‘खेल बराबरी जस्तै हो तर पहिलो हाफसम्म निकै दबाब खेप्नुर्‍यो । दोस्रो हाफमा भने टिमले सुधारिएको प्रदर्शन गर्‍यो ।’ ३१ घण्टा लामो यात्राको थकानले पनि राम्रो खेल्न नसकेको उल्लेख गर्दै उनले उपाधि जित्न धनगढी आएको दाबी गरे । संकटा गत वर्षको उपविजेता पनि हो । धरानका प्रशिक्षक अशोक राईले आफूले सोचेजस्तै राम्रो खेले पनि नतिजामा भाग्यले साथ नदिएको बताए । ‘दुर्भाग्य नै भन्नुपर्छ,’ उनले भने, ‘राम्रो तयारी गर्न पाएका थिएनौं तर पनि धेरै राम्रो खेलेका थियौं । जित्न भने सकिएन ।’


आजको खेल

थ्री–स्टारविरुद्ध झापा–११

प्रकाशित : पुस २४, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?