पूर्वका फुटबलमा प्रायोजन बढ्दै

‘प्रायोजकबिना कुनै पनि प्रतियोगिता गर्न सम्भव छैन,’ सन्तोष बानियाँ भन्छन्, ‘पूर्वाञ्चल फुटबलमय बनेको छ, त्यो सबै प्रायोजककै देन हो ।’

विराटनगर — फुटबलका प्रतिष्ठित प्रतियोगिताहरू भइरहेको पूर्वका जिल्लामा प्रायोजकको सक्रियताले भरथेग गरिरहेको छ । विभिन्न औद्योगिक प्रतिष्ठानले प्रतियोगिताको प्रायोजन गर्न थालेका छन् । केहीले टिम प्रायोजन पनि गर्न थालेका छन् । स्थानीय तहले पनि फुटबललगायत खेल प्रतियोगिताका लागि बजेट विनियोजन गर्न थालेका छन् ।

पूर्वका फुटबलमा प्रायोजन बढ्दै

प्रायोजक बढ्दै जाँदा फुटबल र यसका खेलाडीको विकासमा सघाउ पुगिरहेको खेलसम्बद्ध पदाधिकारी बताउँछन् । करिब एक करोड रुपैयाँ लागतमा फागुन पहिलो साता विराट गोल्डकपको पाँचौं संस्करण आयोजना गर्ने तयारी भइरहेको छ । आयोजक समितिसँग यति बेला सुको पनि छैन । तर, रकम संकलन गरेर प्रतियोगिता गर्ने अठोट आयोजक समितिको छ ।

‘आवश्यक बजेटको ७० प्रतिशत रकम प्रायोजकबाट आउने विश्वास छ,’ आयोजक समिति अध्यक्ष नवीन रिजालले भने, ‘बाँकी ३० प्रतिशत रकम टिकट बिक्रीबाट संकलन हुनेछ ।’ यसअघिका सबै संस्करण पनि प्रायोजककै सहयोगमा गरिएको थियो ।

तेस्रो र चौथो संस्करण आयोजक समितिका अध्यक्ष राजेन्द्र राउत प्रायोजककै सहयोगमा विगतका प्रतियोगिताको सफल रूपमा गर्न सम्भव भएको बताउँछन् । यो प्रतियोगितालाई विराटनगर महानगरपालिकाले पनि प्रायोजन गर्दै आएको छ । अघिल्लो संस्करणसम्म ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएकामा यसपालि १० लाख गोल्डकपका लागि छुटयाएको प्रमुख भीम पराजुलीले बताए । उनका अनुसार महानगरपालिकाले यसैपालिदेखि १० लाखको लगानीमा मेयर कप क्रिकेट पनि आयोजना गर्दै छ ।

प्रायोजकको भरथेग

पूर्वका जिल्लामा हुने फुटबलका साना–ठूला हरेक गोल्डकप प्रतियोगिता प्रायोजककै भरमा हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानियाँले बताउँछन् । ‘प्रायोजकबिना कुनै पनि प्रतियोगिता गर्न सम्भव छैन,’ उनले भने, ‘यति बेला पूर्वाञ्चल फुटबलमय बनेको छ, त्यो सबै प्रायोजककै देन हो ।’

प्रायोजककै भरमामा ८ लाख पुरस्कार राशिको मेची नेत्रालय गोल्डकप काँकडभिट्टा, ४ लाखको मदन भण्डारी दुहबी गोल्डकप सुनसरी, ३ लाख राशिको फाल्गुनन्द गोल्डकप फिदिम र २–२ लाख पुरस्कार राशि भएका भीमनारायण गोल्डकप धनकुटा, पाथीभरा गोल्डकप ताप्लेजुङ, रामधुनी गोल्डकप सुनसरी सफल रूपमा सम्पन्न भइसकेका छन् ।

सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष एवं पूर्वमा हुने हरेक गोल्डकप प्रतियोगिताका प्राविधिक संयोजक दिलीप राईका अनुसार सबैभन्दा बढी पुरस्कार राशि भएको इटहरी गोल्डकप सुनसरी– १२ लाख, झापा गोल्डकप ५ लाख, सुरुङगा गोल्डकप झापा ५ लाख, बुढासुब्बा गोल्डकप ७ लाख, माइभ्याली गोल्डकप इलाम ५ लाख र ५ लाख राशिको विराट गोल्डकप पनि छन् ।

‘सबै प्रतियोगिता प्रायोजकमा निर्भर छन्,’ राईले भने, ‘प्रायोजकहरू तँछाडमछाड गरिरहेका छन् तर समय अभावले सबै प्रतियोगिता गर्न सक्ने स्थिति छैन । उनका अनुसार पछिल्लो समय स्थानीय निकायमा जनप्रतिनिधि चुनिएका कारण पनि खेलकुदमा बढी लगानी हुने थालेको छ ।

पूर्वका हरेक खेलकुद प्रतियोगितामा एसियन थाई फुड्स प्रालिको रमपम चाउचाउले सर्वाधिक प्रायोजन गर्दै आएको छ । खेलकुदमा सर्वाधिक प्रायोजन गरेकै कारण प्रालिका प्रबन्ध निर्देशक महेश जाजुलाई हालै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान पनि गरिन् ।

आफ्नो कम्पनीले हरेक वर्ष फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, तेक्वान्दो लगायत खेलमा एक करोड रुपैयाँभन्दा बढी लगानी गर्दै आएको

जाजुले बताए । प्रालिले रमपम झापा ११ फुटबल क्लबलाई पाँच वर्षदेखि प्रायोजन गर्दै आएको छ ।

यसैगरी स्थानीय निकाय, रुस्लान, टुबोर्ग, विभिन्न ब्रान्डका सिमेन्ट उद्योग, पीएलओ लुब्रिकेन्ट, स्थानीय औद्योगिक घराना र व्यापारीले यसक्षेत्रमा फुटबललगायत विभिन्न खेलकुद प्रतियोगितालाई प्रायोजन गर्दै आएका छन् ।

आफैं पनि जुटाउँदै

कतिपय क्लबले आफैं आर्थिक संकलन गर्न खेलकुद गतिविधि गर्दै आएका छन् । इलाममा माइभ्याली गोल्डकपका लागि दसैं र तिहारमा बिंगो खेलाएर क्लबले करिब ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

खेल आयोजनाबाट कुल ९ लाख २७ हजार ४ सय ७५ रुपैयाँ आम्दानी भएकामा कर, व्यवस्थापन खर्चलगायत कटौती गर्दा करिब ८ लाख रुपैयाँ बचत भएको हो । यो रकम यसपालि माइभ्याली गोल्डकप आयोजनामा खर्चिने क्लबले जनाएको छ ।

आफ्नो जन्मथलोमा हुने प्रतियोगिताका लागि विदेशमा बस्नेबाट पनि उल्लेख्य सहयोग जुट्ने गरेको छ । इलामको माइभ्यालीका लागि मलेसिया, बेलायत, हङकङलगायत मुलुकमा बसिरहेका इलामेहरूले रकम संकलन गरी पठाउने गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । धरानको बूढासुब्बा गोल्डकपका लागि पनि विदेशमा बस्ने धरानेहरूले यथेष्ट सहयोग गर्दै आएका छन् ।

जिल्ला र क्षेत्रीयस्तरका प्रतियोगिता गर्ने क्लबहरूले तिहारमा देउसी–भैली र अरु बेला सांगीतिक/सांस्कृतिक कार्यक्रम गरेर पनि आर्थिक स्रोत जुटाउने गरेका छन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?