थ्री स्टारको यात्रामा आर्मी बाधक

खप्तड गोल्डकप
डीआर पन्त

धनगढी — विभागीय टाली त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै थ्री स्टार क्लब धनगढीमा जारी नेपाल आइस खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमै रोकिएको छ । १४ महिनापछि मैदानमा फर्केको थ्री स्टारले पहिलो खेलमा झापालाई हराए पनि बिहीबार आर्मीसँग २–१ ले पराजित हुँदै घर फर्केको हो । थ्री स्टारविरुद्ध आर्मीका नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरेका थिए ।

थ्री स्टारको यात्रामा आर्मी बाधक

खेलको सुरुआतमै आर्मीले अग्रता लिएको थियो । छैटौं मिनेटमा नवयुग श्रेष्ठको गोलमा अगाडि बढेको आर्मीले दोस्रो हाफको सुरुआतमा अग्रता दोब्बर पार्‍यो । त्यसबीचमा १३ औं मिनेटमा थ्री स्टारका बुद्ध चेम्जोङले पोस्ट छेउबाटै गरेको प्रहार गोलमा परिणत हुन सकेन । लगत्तै विदेशी खेलाडी अजायी मार्टिनले सहज तरिकाले हुनसक्ने गोलमा हेड गर्दै बल पोस्ट बाहिर फालेका थिए । उनले लगातार तीन सुन्दर अवसरको सदुपयोग गर्न सकेनन् । पहिलो हाफमै निराजन खड्का, विमल घर्तीमगर र विक्रम लामाले पनि गोल गर्ने राम्रो मौका गुमाएका थिए ।

खेलको ४९ औं मिनेटमा आर्मीका डिफेन्डर सुमन अर्यालले गोल गरेका थिए । त्यसको चार मिनेटपछि थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि खेल रोचक मोडमा पुगेको थियो । त्यसपछि निरन्तर आक्रमण बुने पनि थ्री स्टारले गोल भने गर्न सकेन । थ्री स्टारका खेलाडी दोस्रो हाफमा पनि चारपल्ट गोल गर्ने सहज मौका पाउँदा असफल भएका थिए । दोस्रो हाफमा विमल र बुद्धसँगै विजय धिमालले पनि मौकाको फाइदा लिन सकेनन् । थ्री स्टारका खेलाडीले पटक–पटक गोलका लागि गरेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले असफल पारेका थिए । उत्कृष्ट प्रदर्शन गरेका आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

खेलपछि प्रतिक्रिया दिँदै बलियो रहेको प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टिमले समयमा नै गोल गर्न सकेका कारण जित हात परेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । ‘नयाँ मैदान र अत्यधिक चिसोका कारण आफ्नो टोलीले धेरै राम्रो प्रदर्शन गर्न नसकेको पनि उनले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको सानो गल्तीले गर्दा दुई गोल खानुपरेको बताए । ‘राम्रो खेल्दाखेल्दै पनि सानो कमजोरीका कारण खेलमा हार बेहोर्नुपरेको हो,’ केसीले भने, ‘दोस्रो हाफमा हामीले आर्मीलाई पूरै दबावमा राखे पनि गोल गर्न सकेनौं ।’

शुक्रबार रूपन्देही–११ र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ ।

प्रकाशित : पुस २८, २०७४ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?