दिनेशले तोडे १९ वर्षअघिको कीर्तिमान

कान्तिपुर संवाददाता

लेखनाथ — आर्मीका दिनेश श्रेष्ठले राष्ट्रिय भारोत्तोलनमा १ सय ५ केजी तौल समूहको १९ वर्षपछि पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलुकदमा मदन शिवभक्तिले स्न्याचतर्फ बनाएको १ सय २० केजीको कीर्तिमान दिनेशले भंग गरेका हुन् । उनले शुक्रबार पोखरामा १ सय २१ केजी उचालेर नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । 

राष्ट्रिय भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएका आर्मीका दिनेश श्रेष्ठ । १०५ केजी तौल समूहमा उनले १९ वर्षअघिको राष्ट्रिय कीर्तिमान तोडेका गरे । 

राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलनमा क्लिन एन्ड जर्क र कुलमा समेत पहिलो भएर दिनेशले तीन स्वर्ण आºनो पक्षमा पारे । स्न्याचमा १ सय २५ केजी उचाल्ने प्रयास भने असफल रह्यो । उनले क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ६१ केजी भार बहन गरे । स्न्याचतर्फ पुलिसका सन्देश गुरुङले १ सय केजीसाथ रजत र बाराका मोहम्मद आशिफ हुसेनले ८८ केजीसाथ कांस्य जिते । सन्देशले क्लिन एन्ड जर्कमा १ सय ३२ र कुल २ सय ३२ केजीसाथ रजत र हुसेनले क्लिन एन्ड जर्कमा १ सय ५ र कुल १ सय ९३ केजीसाथ कांस्य पाए ।
पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिताको अन्तिम दिन आर्मीकै पुकार गुरुङले १ सय ५ केजी माथिको तौलमा आºनै नामको कीर्तिमान सुधार्दै स्वर्ण जिते । उनले स्न्याचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १ सय २४ केजी तौलमा सुधार गर्दै १ सय २५ केजी भार बहन गरे । दोस्रो स्थानमा पुलिसका राजीव महर्जन रहे । उनले ९५ केजी भार उचाले । कञ्चनपुरका सुवास उपाध्यायले ८७ केजीसाथ स्न्याचमा कांस्य पाए । पुकारले क्लिनमा १ सय ४० केजी र कुल २ सय १५ केजी गरी पहिलो स्थान हात पारे । क्लिन एन्ड जर्कमा सुवासले १ सय २० केजीसाथ रजत जिते । राजीवले क्लिनमा १ सय १८ केजी उचालेर कांस्य जिते । कुलतर्फ राजीवले रजत र सुवासले कांस्य पाए ।
८५ केजी तौलमा आर्मीका सुरेन्द्र श्रेष्ठले स्वर्ण हात पारे । उनले स्न्याचमा १ सय ५, क्लिन एन्ड जर्कमा १ सय २७ केजी भार बहन गरे । पुलिसका गगन चन्दले स्न्याचमा ९३, क्लिनमा १ सय १७ केजी भार उचालेर रजतमा चित्त बुझाए । तेस्रो भएका कञ्चनपुरका विशालसिंह विष्टले स्न्याचमा ८५, क्लिनमा १ सय १५ केजी उचालेका थिए । पुरुषकै ९४ केजी तौलमा आर्मीका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलतर्फ स्वर्ण जिते । उनले क्लिनमा १ सय २७ र कुलमा २ सय १७ केजी उचाल्न सफल भए । उनले स्न्याचमा भने ९० केजीमात्रै उचालेर रजतमा चित्त बुझाउनुपर्‍यो । उनले स्न्याचमा पुलिसका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । श्रीकृष्णले स्न्याचमा १ सय केजी उचाले । उनले क्लिनमा १ सय १० केजी र कुलमा २ सय १० केजीसाथ रजत थापे । भक्तपुरका जयदी कोजुले स्न्याचमा ८१ केजी, क्लिनमा १ सय १० केजीसहितकुल १ सय ९१ केजी उचालेर तीन कांस्य पाए ।
च्याम्पियनसिपमा आर्मीका कमलबहादुर अधिकारीले पुरुषतर्फ स्ट्रोङगेष्ट र उत्कृष्ट लिफ्टरको उपाधि जितेका छन् । महिलामा स्ट्रोङगेस्ट खेलाडीमा पुलिसकी तारादेवी पुन र उत्कृष्ट लिफ्टरमा आर्मीकी सञ्जु चौधरी चुनिए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए । राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीले पनि ५ हजार पुरस्कार पाए । प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका थिए ।
आर्मी, प्रहरी र एपीएफसहित १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीको सहभागिता थियो ।

प्रकाशित : पुस २९, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

टंकलाई अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्यमाञ्चलका एमेच्योर गल्फर टंकबहादुर कार्कीले पूर्वाञ्चलका शुक्रबहादुर राईलाई सात स्ट्रोकले पछाडि पार्दै शुक्रबार राखेप ओपन गल्फ च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा पनि उपाधि जितेका छन् ।

यसअघि टिम स्पर्धामा सफलता हात पारेका टंकले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा भएको ५४ होलको च्याम्पियनसिपमा कुल तीन ओभर २ सय ७ स्कोर गरे । उनले अन्तिम दिन दुई ओभर ७० को कार्ड बनाए भने सुरुका दुई दिन ७१ र ६६ शट खेलेका थिए । धरानस्थित निर्वाणा कन्ट्री क्लबका शुक्रले अन्तिम चरणमा १ अन्डर ६७ स्कोर गर्दै समग्रमा आठ ओभर २ सय १२ को कार्ड बनाएर रजत पदक हात पारे । उनले सुरुका दुई दिन ७१ र ७४ शट खेलेका थिए ।
मध्यमाञ्चलका सुवास घिसिङले १८ ओभर २ सय २२ स्कोरसहित कांस्य प्राप्त गरे । पहिलो दिन ७ ओभर ७६ खेलेका उनले दोस्रोमा १ ओभर ६९ र तेस्रो चरणमा नौ ओभर ७७ स्कोर गरेका थिए । विपिन तामाङ (१९ ओभर २ सय २३) चौथोमा रहे भने सुन्दर राई (२१ ओभर २ सय २५) शीर्ष पाँचमा अटाए ।
अघिल्लो दिन टंक, सुवास, सन्दीप तामाङ समावेश मध्यमाञ्चलले टिम स्पर्धामा स्वर्ण जितेको थियो । शुक्र, युवराज भुजेल र सुन्दर राई रहेको पूर्वाञ्चल टिमले रजत हात पारेको हो ।

प्रकाशित : पुस २९, २०७४ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्