‘एक्ली’ नविता

सुबास हुमागाईं

काठमाडौँ — टेबलटेनिसकी नम्बर वान खेलाडी नविता श्रेष्ठ शनिबार लगातार सातौं एकल उपाधिका लागि प्रतिस्पर्धामा थिइन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उनको फाइनल प्रतिद्वन्द्वी थिइन् आफ्नै नन्द एलिना महर्जन । अघिल्लो दिनमात्र यी दुईले महिला डबल्सको उपाधि जितेका थिए । तर, शनिबार एलिनाको एकमात्र लक्ष्य नवितालाई कीर्तिमानी उपाधि जित्नबाट रोक्नु थियो ।

‘एक्ली’ नविता

यो चार दिनदेखि जारी राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिसमा नन्दभाउजुबीच बनेको फाइनल समीकरण हो । पहिलो सेटमा एलिनाले अपेक्षाकृत सुरुआत गर्दै १०–६ को अग्रता बनाइन् । उनको हरेक अंकमा हलभरी उपस्थित दर्शकले साथ दिइरहे । जवाफमा नविताको अंकमा भने बिरलै समर्थन सुन्न सकिन्थ्यो । तर, नवितालाई त्यसले फरक पारेन । पहिलो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले १२–१० ले सेट जितिन् । पहिलो सेटको लय दोस्रोमा पनि जारी राख्दै नविताले १०–० को अग्रता बनाइन् । त्यसपछि नविताले एलिनाको सर्भिसमा उपहारकै शैलीमा एक अंक जानाजान गुमाइन् । लगत्तै नविताले एलिनाको अर्को सर्भिस फर्काए पनि एलिनाले सट बाहिर फालेपछि दोस्रो सेट ११–१ ले नविताको नाममा रह्यो । तेस्रो सेटमा पनि एलिनाले पुनरागमन गर्ने कुनै छाँटकाँट देखाइनन् र नविता ११–२ ले विजयी रहिन् ।

निकै प्रतिस्पर्धात्मक हुने आशा गरिएको फाइनल एकतर्फी हुँदा दर्शकदीर्घामा भने नैराश्यता थियो । तर चौथो सेटमा एलिनाले केही राम्रो सट खेल्दै दर्शकलाई पुन: आफूतिर तानिन् । उनको पुनरागमनलाई नविताले अगाडि बढ्न दिइनन् । नविताले १२–१० ले चौथो सेट जितेर लगातार सातौं एकल उपाधि आफ्नो नाममा गरिन् । लगातार सातौं एकल उपाधि जित्ने उनी एक्ली खेलाडी हुन् । समग्रमा सिजरिन शाहको नाममा आठपल्ट उपाधि जितेको कीर्तिमान छ ।

यसअघि एलिना भाउजु नवितासँग लगातार तीन फाइनलमा हारेकी छन् । उनले विगत तुलनामा दुई खेलाडीको स्तरमा खासै भिन्नता नरहेको बताइन् । ‘विगतमा उहाँको स्तर केही माथि थियो । तर अहिले अन्य खेलाडीको पनि स्तर पहिलाभन्दा सुधारिएको छ । मैले व्यक्तिगत रूपमा सुधार गर्नुपर्ने केही पाटा छन्, सायद त्यसैले आज पनि राम्रो नतिजा साथ आउन सकेन,’ एलिनाले भनिन् । पारिवारिक प्रतिद्वन्द्वी भए पनि कोर्टमा उत्रिएपछि खेलाडीकै रूपमा प्रतिस्पर्धा गरिने एलिनाको स्पष्टोक्ति छ ।

च्याम्पियन नविता भने एकै घरका दुई खेलाडी भिड्दा खेल झनै कठिन हुने बताउँछिन् । उनले लगातार उपाधि जित्नुमा आफ्नो मिहिनेत र लगनशीलता नै मुख्य कारक रहेको बताइन् । ‘म कीर्तिमानी उपाधि जित्दा निकै खुसी छु । मैले निकै लामो समयदेखि लगातार प्रशिक्षणमा मिहिनेत गरेकै कारण यो सम्भव भएको हो । अन्य खेलाडीको तुलनामा मेरो मिहिनेत अलि बढी भएका कारण सफलता हात पारेको हो जस्तो लाग्छ,’ उनले भनिन् ।

पुरुषतर्फ पुलिसकै स्यान्टु श्रेष्ठले लगातार दोस्रोपल्ट उपाधि आफ्नो नाममा गरे । उनले फाइनलमा आफ्नै विभागका विनेश खानियाँलाई ११–५, ११–४, ११–९, ११–९ को सोझो सेटमा हराए । उनले त्यसअघि सेमिफाइनलमा एपीएफका पुरुषोत्तम बज्राचार्यलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । क्वाटर र सेमिफाइनल तुलनामा फाइनल खेल केही सहज रहेको स्यान्टु आफैंले पनि स्वीकारे । ‘फाइनलसम्मको यात्रा निकै कठिन थियो । तर, फाइनलमा भने सोचेअनुरुप प्रतिस्पर्धा हुन सकेन । लगातार दोस्रो उपाधि जित्दा निकै खुसी छु । प्रशिक्षणका क्रममा पढाइमा केही बाधा पुगे पनि उपाधिले सबै ठीक भएको महसुस गरिरहेको छु,’ उनले भने । स्यान्टुले आफ्नै विभागका दिप साउनलाई एक सेट गुमाएर क्वाटरफाइनलमा हराएका थिए । फाइनल प्रतिद्वन्द्वी विनेशले पुलिसकै प्रदीप रोक्कालाई हराएका थिए । प्रदीपले त्यसअघि एपीएफका अमरबहादुर मल्ललाई हराएका थिए ।

मिक्स डबल्सतर्फ आर्मीका स्वेच्छा नेम्वाङ र चन्दन शाहीको जोडीले एपीएफका अमरबहादुर मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७, ११–९ ले पराजित गर्दै स्वर्ण जित्यो । एपीएफकै पुरुषोत्तम बज्राचार्य र सिक्का सुवालको जोडीलाई हराएर फाइनल पुगेका आर्मी जोडीले साविक विजेता दीप साउन र नविता श्रेष्ठलाई क्वाटरफाइनलमा रोकेको थियो । अमर र सेलिशाले पुलिसका स्यान्टु र एलिनाको जोडीलाई हराएका थिए । महिलाको सेमिफाइनलमा नविताले आर्मीकी दीक्षा तामाङ र एलिनाले आर्मीकै रविना महर्जनलाई सोझो सेटमा हराएका थिए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजना र काठमाडौं जिल्ला टेबलटेनिस संघको संयोजनमा भएको प्रतियोगितामा करिब साढें २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । समावेश ७ विधामध्ये मिक्स डबल्सबाहेक सबै विधामा पुलिसले स्वर्ण जितेको थियो ।


नविताका सात उपाधि

साल प्रतियोगिता विपक्षी

२०६७ ३३ औं स्वेच्छा नेम्वाङ

२०६८ ३४ औं रेनुका खत्री

२०६९ ३५ औं रविना देशार

२०७० ३६ औं एलिना महर्जन

२०७१/७२ ३७ औं एलिना महर्जन

२०७३ ३८ औं एलिना महर्जन

२०७४ ३९ औं एलिना महर्जन

प्रकाशित : पुस ३०, २०७४ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?