प्रतिनिधिमा लिग नै नखेलेको क्लब

एन्फा निर्वाचन
भूषण यादव

वीरगन्ज — बारा जिल्ला फुटबल संघको शनिबार सम्पन्न निर्वाचनमा लिग नै नखलेको क्लबलाई सहभागी गराइएको छ । निर्वाचनमा सहभागी भएका ११ क्लबमध्ये शिव शक्तिमान युवा क्लबले लिग नै नखलेको र अस्तित्वमा समेत नरहेको जिल्लाका खेलपदाधिकारीले आरोप लगाएका छन् । 

प्रतिनिधिमा लिग नै नखेलेको क्लब

शक्तिमान क्लबको ठाउँमा शिव शक्तिमान युवा क्लब राखेर फर्जी प्रतिनिधि बनाइएको ती पदाधिकारीले बताए । शक्तिमानले ०७० र ०७३ मा सम्पन्न जिल्ला लिगमा सहभागिता जनाएको भए पनि शनिबार निर्वाचनमा उक्त क्लबलाई प्रतिनिधित्व गराइएन । शक्तिमानले श्याम चौधरी, चन्द्रिका चौधरी र मनोज चौधरीलाई मताधिकारसहित प्रतिनिधि बनाई पठाएको थियो । तर, उनीहरूलाई सहभागी नगराई शिव शक्तिमानको नाम राखी महम्मद शकिल, विजय चौधरी र सोमराज चौधरीको नाम समावेश गरी अधिवेशन गरिएको छ ।

एन्फाले जिल्ला अधिवेशनलाई जारी गरेको निर्देशिका ०७४ अनुसार जिल्ला संघहरूको साधारणसभा तथा कार्यसमिति निर्वाचनका लागि यसअघि ०७० सालको अधिवेशनमा भाग लिई जिल्ला फुटबल संघले आयोजना गरेको कम्तीमा दुईटा जिल्ला लिगमा भाग लिएको क्लबमात्र सहभागी हुन योग्य मानिन्छ । ‘०७० को अधिवेशनमा भाग नलिएको तर जिल्ला फुटबल संघले सञ्चालन गरेको कुनै एक जिल्ला लिगमा विजय भई कम्तीमा दुई जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको क्लबले ०७४ को जिल्ला अधिवेशनमा सहभागिता जनाउन पाउने छन्,’ निर्देशिकामा उल्लेख छ । ‘शिव शक्तिमान भन्ने क्लब नै छैन,’ बारा जिल्ला फुटबल संघका पूर्व महासचिव शम्भुसिंह ठकुरी भन्छन्, ‘न त त्यस क्बलले लिग ने खेलेको छ ।’

त्यस्तै संघर्ष युवा क्लबलाई जानकारी नै नदिई अन्य व्यक्तिलाई मताधिकार प्रयोग गर्न दिइएको थियो । कलैयाका जवाहिर अन्सारीलाई फर्जी प्रतिनिधि बनाएर अधिवेशनमा सहभागी गराइएको छ । पूर्व महासचिव ठकुरी यसपालि अध्यक्षका दाबेदार थिए । तर, उनलाई कारबाही गरिएको भन्दै अधिवेशनमा सहभागी गराइएन ।

एन्फा केन्द्रीय सदस्य मोहम्मद समिउल्लाहले जिल्ला अध्यक्ष पद कब्जा गर्न आफूअनुकूल प्रतिनिधि छनोट गरेको आरोप छ । लिग नखेलेका र अस्तित्वमै नरहेका क्लबलाई सहभागी गराई उनी अधिवेशनबाट यसपालि पनि सर्वसम्मत अध्यक्ष भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । १३ सदस्यीय समिति चयन भएको हो ।

एन्फाको केन्द्रीय समिति कब्जा गर्न जिल्लाबाटै आफ्नो प्यानल जिताउन केन्द्रीय पदाधिकारीहरू लागिपरेका छन् । गैरफुटबलरह फुटबलको विकासमा बाधक भइरहेको गुनासो बढ्दो छ । निर्देशिकाभित्र पर्ने तर आफ्ना विपक्षमा रहेका क्लबलाई अधिवेशनमा आमन्त्रण समेत गरिएको छैन । समिउल्लाहले जिल्ला अधिवेशनमा सहभागी हुन आएका २० क्लबको नाममा केन्द्रमा पठाएको बताए । ‘केन्द्रले नै ११ क्लबलाई निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो,’ उनले भने, ‘जुन पनि क्लबले जसलाई पनि प्रतिनिधि तोकेर पठाउन सक्छ ।’

गत शनिबार नै जिल्ला अधिवेशन गर्ने भनिए पनि विवादका कारण स्थगित भएको थियो ।

ताप्लेजुङमा साँवा

ताप्लेजुङ– जिल्ला फुटबल संघ ताप्लेजुङको अध्यक्षमा बालकुमार साँवा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा साँवाले ७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी मोती पतङाले ४ मत पाए । उपाध्यक्षमा हाङनारायण लिम्बूले १०, नरेन्द्र लिम्बूले ९ र चन्द्र थेवेले ७ मत ल्याएर विजयी भए । कार्यसमिति सदस्यमा सुधीर लिम्बू, विजय लिम्बू, अम्बिका लिम्बू, शैलेन्द्र गुरुङ, सुरेन्द्र निरौला, दिनेश खवास, कमल लिम्बू र विन्दुप्रसाद तामाङ विजयी भएको निर्वाचन अधिकृत बलराम भट्टराईले जानकारी गराए । अधिवेशनमा ११ क्लबको सहभागिता थियो ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?