कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आर्मी फाइनलमा

खप्तड गोल्डकप फुटबल

काठमाडौँ — त्रिभुवन आर्मी क्लब शनिबार मनाङमाथि ३–१ को जित निकाल्दै मोफसलको सर्वाधिक पुरस्कार राशि रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल पुगेको छ । डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलबाटै बाहिरिएको हो ।

आर्मी फाइनलमा

यस सिजनमा वीरगन्जको विशाल मेमोरियल तथा झापामा सताक्षी गोल्डकप र काँकडभिटा गोल्ड कप जितिसकेको आर्मीले सोमबार हुने फाइनलमा एपीएफ क्लब र आयोजकको सुदूरपश्चिम ११ बीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आइतबार हुनेछ ।

यसअघि क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको आर्मीले निरन्तर खेल्नुपरेको मनाङलाई पन्छाउन पनि केही मेहनत गर्नुपरेको थियो । मनाङले २४ घण्टाअगाडि मात्र रूपन्देही ११ लाई ४–० ले पराजित गरेको थियो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपरेकाले स्वाभाविक खेल्न नसकेको जनाए । ‘यति लामो यात्रा गरेर यहाँ खेल्न आएका हौं, तर आयोजकले खेलतालिका मिलाउन सकेन,’ उनले भने, ‘लगातार दुई दिन खेल्न गाह्रो हुन्छ । त्यसमाथि आर्मीजस्तो फिजिकल्ली र स्पिड टिमसँग खेल्नुपरेको छ । हाम्रा खेलाडीमा लगातार दुई दिन खेल्ने शक्ति खासै मैले देखेको छैन ।’

आयोजक सुदूरपश्चिमले पुस २१ मा च्यासल युवा क्लबसँग खेलेको थियो । टोलीले त्यसपछि आइतबार एकैपल्ट सेमिफाइनल खेल्न लागेको हो । आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि यसमा सहमत थिए । ‘मनाङ अघिल्लो दिनमात्र खेलेकाले हामीलाई त्यसको फाइदा थियो । त्यही भएर हामीले उनीहरूलाई दबाब दिएर खेल्ने रणनीति बनाएका थियौं,’ मनाङका पूर्व खेलाडी न्यौपानेले भने, ‘एक गोलले पछाडि पर्दा निश्चय पनि केही दबाब भयो । तर, हामी तुरुन्तै खेलमा फर्कन सक्यौं । बराबरीमा आएपछि हामीलाई खेल्न सजिलो भयो ।’

धनगढी रंगशालामा मनाङले नवौं मिनेटमा हेमन गुरुङको गोलमा अग्रता लियो । विमल रानाको क्रसमा हेमनले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोल भयो । यसअघि तेस्रो मिनेटमा कप्तान अनिल गुरुङले फ्री हेड तथा सुवास गुरुङले सातौं मिनेटमा खुला अवसर सदुपयोग गर्न नसक्दा मनाङ चुक्चुकाइसकेको थियो । आर्मीले २३ औं मिनेटमै खेल बराबरीमा ल्यायो । कर्नरमा आएको बल हुलमुलबीच कप्तान भरत खवासले गोल गरी आर्मीलाई बराबरीमा ल्याए । यसको आठ मिनेटअघि नै भरतले मनाङका गोलरक्षक दिनेश थापामगरलाई बिट गरे पनि गोल गर्न सकेका थिएनन् । जबकि त्यो समयमा अर्का स्ट्राइकर नवयुग श्रेष्ठ गोल गर्नलाई सजिलो स्थानमा थिए ।

मनाङका रक्षक कमल श्रेष्ठ अघिल्लो खेलमा घाइते भएकाले रक्षापंक्तिमा टोली दबिएर खेल्नुपरेको थियो । कमलको स्थानमा मनाङले मिडफिल्डर भिक्टोरलाई रक्षापंक्तिमा खेलायो । यसको फाइदा उठाउँदै मध्यान्तरको ठीकअघि दिनेश हेन्जनको क्रसमा म्यान अफ द म्याच नवयुगले आर्मीलाई अग्रता दिलाए ।

मध्यान्तरपछि मनाङ आक्रामक खेल्न खोजे पनि आर्मीले रक्षात्मक हिसाबमा खेलेको थियो । मनाङका विशाल राईले दोस्रो हाफमा एउटा अवसर गुमाउन पुगे । काउन्टर अटयाकमा बेला बेलामा आर्मीले विपक्षी पोस्टमा आक्रामण गरेको थियो । ८८ औं मिनेटमा भरतले आफ्नो मध्यभागबाट काउन्टरमा अगाडि बढाएको बलमा नवयुगको प्रहार मनाङका गोलरक्षक दिनेशले फर्काए पनि रिबाउन्डमा सन्तोष तामाङले गोल गरी आर्मीको विजय निश्चित गरे ।

प्रतियोगिता विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद जित्नेछ । घरेलु नकआउट प्रतियोगितामा मोफसलमा दिन लागिएको यो सर्वाधिक धनराशि हो । उपविजेताको भागमा ५ लाख ५५ हजार पर्नेछ ।


दीपक सम्मानित

दक्षिण एसियाली खेलकुदमा नेपालबाट सर्वाधिक ४ स्वर्ण पदक जितेका दीपक विष्ट शनिबार गृहनगरमा सम्मानित भए । उनलाई नेपाल आइस दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको आयोजकका अध्यक्ष सुरेश हमाल र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य गणेश चन्दले ताम्रपत्रसहित सम्मान गरे । उनलाई ८ केजीको फुलको माला लगाइदिइएको थियो । दीपकले गृहनगरको सम्मानले आफ्ना लागि छुट्टै अर्थ राख्ने गरेको बताए । तेक्वान्दो खेलाडी विष्टले सन् १९९९ देखि २०१० सम्म गरी दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जितेका थिए । ओलम्पियन उनले २००२ र २००६ को एसियाली खेलकुदमा कांस्य पनि जितेका थिए ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?