१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आर्मीको प्रतिद्वन्द्वी एपीएफ

खप्तड गोल्डकप
एपीएफ २–० सुदूरपश्चिम

काठमाडौँ — आयोजक सुदूरपश्चिमाञ्चल–११ स्पोर्टिङ क्लबको चुनौती २–० ले पन्छाउँदै एपीएफ आइतबार नेपाल आइस दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल पुगेको छ । एपीएफले सोमबार नै उपाधि भिडन्तमा अर्को विभागीय टोली आर्मी क्लबको सामना गर्दैछ ।

आर्मीको प्रतिद्वन्द्वी एपीएफ

दोस्रो हाफमा अञ्जन विष्ट र नवीन लामाले गरेको गोल विवादस्पद बने पनि दोस्रो सेमिफाइनल खेल एपीएफलाई विजय दिलाउन पर्याप्त बनेको थियो । पुस २१ मा च्यासल युवा क्लबसँग खेलेयता पहिलोपटक प्रतिस्पर्धा गरेको घरेलु टोलीले निरन्तर दबाब बनाए पनि अनुभव नभएका कारण उनीहरू गोलपोस्ट अगाडि कमजोर देखिन पुगे ।

सुरुमै युवराज खड्काले सजिलो मौका गुमाउँदा एपीएफ चुकचुकाउन पुग्यो । सुदूरपश्चिमका रामसिंह राना र सुमित गुप्ताले राम्रो अवसर चुकाउँदा टोलीले अप्रत्याशित अग्रता लिने मौका गुमाएको थियो । ५७ औं मिनेटमा अञ्जनको ‘कुल फिनिसिङ’ मा एपीएफले अग्रता लियो । त्यही गोल नै विवादको कारण बन्यो ।

युवराजले दबाब राखेको बल आउट भएको भनी सुदूरपश्चिमका खेलाडीले बल चेज गर्न छाडिदिएका थिए । त्यसैमा युवराजले गरेको क्रसमा अञ्जनले गोल गरे । यसमा सुदूरपश्चिमका खेलाडीले फिफा रेफ्री श्रवण लामासामु असहमति जनाए । त्यही क्रममा दर्शकदीर्घाबाट प्रहार गरेको सामग्रीले सहायक रेफ्री किसन यादवको हातमा लाग्दा खेल

८ मिनेट रोकिएको थियो । यादवको सामान्य उपचार गरेपछि खेल पुन: सुचारु गरिएको थियो ।

अञ्जन विष्ट । तस्बिर सौजन्य: एसएससी

पहिलो गोल नै खेलको ‘टर्निङ प्वाइन्ट’ बनेको सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दको दाबी थियो । ‘पहिलो गोलपछि हाम्रो खेलाडीको मनोबल झर्न पुग्यो । रेफ्रीले जहिले पनि ठूला टिमको मात्र समर्थन गर्छन् । किनभने पहिलो हाफमै हामीले स्पष्ट पाउनुपर्ने पेनाल्टी पाएका थिएनौं,’ चन्दले भने, ‘खेलाडीले पहिलो गोल हुनुअघि नै बल आउट भएको भन्दै मुभ गरेनन् । उनीहरू त्यो बल आउट भएको भनिरहेका थिए । तर सहायक रेफ्रीले झन्डा उठाएनन् ।’

उनले च्यासलसँगको खेलमा १ गोलले पछाडि परे पनि खेलमा फर्कन सकेको तर आइतबारको निर्णयमा आफ्नो टोलीले पुनरागमन गर्न नसकेको आरोप लगाए । पहिलो हाफमै अफ्रिकन खेलाडी जिको घाइते भएपछि घरेलु टोलीको आक्रमण झन् कमजोर बन्न पुगेको थियो ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो गोलको घटनामा आफू टाढा रहेका कारण स्पष्ट नदेखेको जनाए । उनले खेलका बारेमा भने, ‘घरेलु टोलीसँग खेल्न जहिल्यै पनि दबाब हुन्छ । हामीले यो टिमसँग पहिला पनि खेलेका थियौं । त्यही आधारमा फरक रणनीति बनाएर आफ्नो पक्षमा नतिजा निकाल्यौं ।’ पूर्ण फिट नरहेका आदित्य चौधरीलाई पहिलो हाफको अन्त्यमा सुदीप सिख्राकारको स्थानमा खेलाइएको थियो । पूर्ण स्वस्थ नरहे पनि आदित्यलाई खेलाउनुपर्ने स्थिति आएको महर्जनले बताए ।

अफसाइडमा रहेका अञ्जनले मुभ नगरेपछि ७७ औं मिनेटमा नवीनले काउन्टरमा सुन्दर गोल गरी एपीएफको अग्रता दोब्बर बनाए । ८६ औं मिनेटमा उनकै प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यसपछि पनि श्याम नेपालीले खुला अवसर गुमाउन पुगे । ११ मिनेट थपिएको इन्जुरी टाइमको छैटौं मिनेटमा सुदूरपश्चिमका फिलिप तामाङले वान भर्सेज वान र त्यसको अर्को मिनेटमा दिनेश ठगुन्नाले राम्रो अवसर गुमाउन पुगे । ‘हामीले प्रतियोगिताका लागि एक सातामात्र प्रशिक्षण गरेका थियौं । पहिलो खेलपछि १० दिन विश्राम पाए पनि ठूलो मैदानमा अभ्यास गर्न नपाउँदा हाम्रो टिम अझै सेट हुन सकेको थिएन,’ सुदूरपश्चिमका प्रशिक्षक चन्दले भने, ‘हामीले यो प्रतियोगिताका लागि तीन अफ्रिकन खेलाडी ल्यायौं । तर उनीहरूको प्रदर्शन सोचेजस्तो पनि रहेन ।’


फाइनल आजै

एपीएफले लगत्तै सोमबार त्रिभुवन आर्मी क्लबसँग फाइनल खेल्दै छ । आर्मीले क्वाटरफाइनलमा रुस्लान थ्री–स्टार क्लबलाई २–१ ले र डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङदीलाई ३–१ ले पराजित गरेको थियो । एपीएफले पहिलो खेलमा गत वर्षको उपविजेता संकटा क्लबलाई २–० ले पराजित गरेको थियो ।

‘आर्मी अहिलेको उत्कृष्ट फर्ममा रहेको टिम हो र उसले एक दिन जस्तो बिराएर खेल्दा आराम पनि पाइरहेको छ । हामी पनि आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं,’ एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने । गत वर्ष धरानमा अञ्जन विष्टको दुई गोलमा आर्मीलाई फाइनलमा २–० ले पराजित गरी एपीएफले सातौं राष्ट्रिय खेलकुदको स्वर्णपदक जितेको थियो । त्यसपछि झिलझिले (झापा) मा भएको सताक्षीधाम गोल्डकपको भेटमा आर्मीले ३–२ ले जितेको थियो । महर्जन आफ्नो टोली त्यसको बदला लिने दाउमा रहेको बताउँछन् ।

‘फाइनलका लागि राम्रो तयारी छ, खेलाडी पनि सबै फिट छन् । हामी उपाधि जित्न आतुर छौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने । उनको प्रशिक्षणमा आर्मीले यस सिजनमा वीरगन्जको विशाल मेमोरियल, झापाको सताक्षीधाम गोल्डकप र काँकडभिट्टा गोल्डकप जितिसकेको छ ।

खप्तड गोल्डकपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पाउँछ । घरेलु नकआउट प्रतियोगितामा मोफसलमा दिन लागिएको यो सर्वाधिक धनराशिको पुरस्कार हो । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार पाउनेछ ।

प्रकाशित : माघ १, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?