कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलमा रोकियो सिटी

एएफपी

लिभरपुल — लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पहिलो हारको स्वाद चखाएको छ । आक्रामक पारामा उत्रेको लिभरपुल तालिकामा शीर्षस्थानको सिटीविरुद्ध ४–३ ले विजयी रह्यो । लिभरपुलले आफू फिलिपे कोउटिन्होबिना पनि उत्तिकै सशक्त हुनसक्ने प्रमाण पेस गर्न सफल रह्यो । एनफिल्डमा उत्रनुअगाडि सिटी माथिल्लो डिभिजनको ३० खेलमा अपराजित थियो । 

लिभरपुलमा रोकियो सिटी

धेरैले पूरा लिग अवधिमा सिटीले अपराजित रहेर उपाधि जित्ने अनुमान पनि गर्न सुरु गरेका थिए । तर खेलको ९० मिनेटयता पेप ग्वार्डिओलाको टिम घाइते देखियो । उसले गत सिजन एफए कप सेमिफाइनलमा आर्सनलविरुद्ध हारेयता पहिलो असफलता चाख्यो । हारेपछि ग्वार्डिओलाले भने, ‘लिग उपाधिको होड अझै सकिएको छैन, आजको हारले यही सिद्ध गरेको छ । हामीले अझै धेरै खेल्नु छ । जितप्रति लिभरपुललाई बधाई छ ।’

ब्राजिली मिडफिल्डर कोउटिन्हो बार्सिलोना गएयता लिभरपुल कमजोर हुने अनुमान गलत साबित गर्दै योर्गन क्लोपको लिभरपुलले आक्रामक फुटबलको नमुना पेस गरेको थियो । कोउटिन्होबिना पहिलो खेल खेलिरहेको लिभरपुलले एलेक्स अक्सलेड चेम्बरलिनको गोलमा सुरुआती अग्रता लियो । पहिलो हाफअघि लेरोय सानेले सिटीका लागि बराबरी गोल फर्काए । तर रोबर्टो फिर्मिनो, साडियो माने र मोहम्मद सलाहले ९ मिनेट अन्तरमा तीन गोल गर्दै सिटीलाई स्तब्ध पारे ।

खेलको अन्त्यतिर सिटीका लागि बर्नार्डो सिल्भा र इल्काय गुन्डोगनले दुई गोल थपे । हारले सिटीलाई उपाधि होडमा ठूलो धक्का पुर्‍याउने भने छैन । सिटी अझै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १५ अंकले अगाडि छ । लिभरपुल भने तेस्रो स्थानमा उक्लियो । ‘यो खेल वास्तवमै ऐतिहासिक रह्यो,’ क्लोपले भने, ‘यो खेलको नतिजालाई लिएर आउने २० वर्षसम्म चर्चा हुनेछ । यो खेलमा हाम्रा सबै खेलाडीले मिहिनेत गरेर खेले ।’

स्पेन

म्याड्रिड– लुइस स्वारेजले दुई गोल गर्नुका साथै खेलको अन्त्यतिर एक गोलमा सहयोगी भूमिका खेलेपछि बार्सिलोनाले स्पेनी ला लिगमा उत्कृष्ट पुनरागमन गर्दै आइतबार राति रियल सोसिडाडमाथि ४–२ को जित रचेको छ । जितपछि बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा आफ्नो ९ अंकको अग्रता कायम राखेको छ । सोसिडाडले विलियन जोसे र जुआनमीको गोल मदतमा पहिलो हाफमै अग्रता लिएको थियो ।

तर स्वारेजले ५० र ७१ औं मिनेटमा गोल गरे भने खेल सकिन ६ मिनेटअगाडि पाउलिन्होको गोलमा पनि अवसर सिर्जना गरिदिए । टिमलाई खेलमा फर्काउन लियोनल मेसीले फ्रि–किकबाट उत्कृष्ट गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ५१ अंक भएको छ । यो जितले बार्सिलोना रियल म्याड्रिडमाथि १९ अंकको अग्रता खोल्न पनि सफल रह्यो । बार्सिलोना सोसिडाडको मैदानमा सन् २००७ यता जितविहीन थियो । यसपल्ट पनि खेलले ३४ मिनेट छुँदा यो क्रम जारी रहने देखिएको थियो ।



नेपाली समर्थकप्रति लिभरपुलको सम्मान

काठमाडौं (कास)– लिभरपुल फुटबल क्लबले रोगका कारण अल्पायुमै ज्यान गुमाएका एक समर्थकलाई आइतबार सम्मानस्वरुप जर्सी प्रदान गरेको छ । सन् २०१६ को डिसेम्बरमा ज्यान गुमाएका लिभरपुल समर्थक विकास न्यौपानेको स्मृतिमा क्लबका सबै खेलाडीद्वारा हस्ताक्षरित जर्सी एक कार्यक्रमबीच उनको परिवारलाई हस्तान्तरण गरिएको छ । स्व. विकासका पिता टेकबहादुर न्यौपाने र बहिनी सुलोचनालाई फ्रेम गरिएको जर्सी प्रदान गरिएको हो ।

जर्सी स्वीकार्दै परिवारजनले आफ्नो छोरालाई सम्मान गरेकोमा लिभरपुल क्लबप्रति कृतज्ञता जनाए । लिभरपुल र काल्र्सबर्गबीचको सम्बन्ध २५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा क्लब समर्थकको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित : माघ २, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?