३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दोस्रो पिंकाथन फागुनमा

सुबास हुमागाईं

काठमाडौँ — भारतीय चलचित्र क्षेत्रमा आफूलाई स्थापित गरिसकेका अभिनेता एवं निर्माता मिलिन्द सोमनले सन् २०१२ मा नयाँ सोचको सुरुआत गरे ।

दोस्रो पिंकाथन फागुनमा

फिटनेसको दुनियाँमा पनि बेग्लै पहिचान बनाइसकेका मिलिन्दले भारतको मुम्बई सहरमा पिंकाथनको पहिलो संस्करण आयोजना गर्दा करिब २ हजार महिलाले त्यसमा सहभागिता जनाए ।


उनले त्यस समय म्याक्सिमस माइस नामक कम्पनीसँग सहकार्य गरेर म्याराथन आयोजना गरेका थिए । महिलालाई स्वस्थ राख्न नियमित व्यायाम जरुरी छ भन्ने सोचसाथ अगाडि बढेको यस म्याराथनले स्तन क्यान्सरलगायतका रोगबारे जनचेतना पनि फैलाउँदै आएको छ । ‘महिला स्वस्थ रहे सारा परिवार नै स्वस्थ’ भन्ने मान्यता राख्दै आएका मिलिन्द पिंकाथानको सफलता देखेर आफैं दंग छन् । हालसम्म भारतमा ३६ पटक पिंकाथन आयोजना गरिसकेको उनको संस्थाले आगामी फागुन १२ मा नेपालमा पनि दोस्रो संस्करण आयोजना गर्दै छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच यसपल्टको दौडबारे जानकारी गराइको थियो ।


चार विधामा प्रतिस्पर्धा हुने पिंकाथनमा हाफ म्याराथन र १० किलोमिटर दौडमा नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । हाफ म्याराथन विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ जित्ने छन् । १० किलोमिटर दौडतर्फ शीर्ष ३ स्थानका खेलाडीले क्रमश: ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक ५ किमि र ३ किमि दौडका शीर्ष खेलाडीलाई भने गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । निर्धारित दौड पूरा गर्ने सम्पूर्ण सहभागीलाई फिनिसर मेडल प्रदान गरिनेछ । साथै राष्ट्रिय कीर्तिमान तोडेको खण्डमा १० हजार रुपैयाँ प्रदान गरिने पनि जानकारी दिइयो ।


६ वर्षअघि सुरु पिंकाथनले भारतमा करिश्मा कपुर, विपाशा वासु जस्ता ठूला स्टारको पनि साथ पाएको छ । नेपालमा पनि सन् २०१७ की मिस युनिभर्स नेपाल नगमा श्रेष्ठ पिंकाथनको एम्बेसडर रहेकी छन् । कार्यक्रममा बोल्दै उनले आफू लामो समयदेखि यसबारे जानकार रहेको बताइन् । ‘मैले भारतमा यसको आयोजना भव्यतासाथ भइरहेको मिडियामार्फत थाहा पाएको थिएँ । नेपालमा पनि आउने थाहा पाएँ र आफैंलाई यसमा संलग्न हुने मौका मिल्दा खुसीसाथ स्वीकारें,’ उनले भनिन् ।


पिंकाथनका संस्थापक मिलिन्दका अनुसार यो दौड प्रतिस्पर्धाका लागि नभएर दौडन प्रेरित गर्ने लक्ष्य रहेको बताए । ‘हाम्रो दौडको मुख्य लक्ष्य महिलालाई स्वस्थ रहनुपर्छ भन्ने चेतना जगाउनु हो । दौडले मानिसलाई स्वस्थ राख्छ र यस कार्यक्रममार्फत महिलामाझ रोगबाट बच्न जनचेतना जगाउने प्रयास गरेका छौं,’ उनले थपे, ‘यस कार्यक्रममा जो कोहीले सहभागिता जनाउन सक्छ । आर्थिक अवस्था कमजोर छ भनेपनि हामीले नि:शुल्क दर्ता गर्न सक्ने व्यवस्था राखेका छौं ।’ उनल दौडमा गर्भवती महिला, दृष्टिविहीन महिलालगायत सबैलाई सहभागिता जनाउन उचित व्यवस्था गरिने बताए ।


पिंकाथनमा सहभागिता जनाउन दर्ता शुल्क ६ सय रुपैयाँ तोकिएको छ । दर्ता गर्ने खेलाडीलाई एक टी–सर्ट र दौडको दिन रिफ्रेसमेन्ट पाउनेछ । दर्ता गर्न नेपाल एसबीआई बैंक र ई–सेवाका सबै काउन्टरमा सम्पर्क राख्न सकिनेछ । एसबीआई बैंकका प्रबन्ध निर्देशक अनुकूल भटनागरले लामो समयदेखि आयोजना हुँदै आएको पिंकाथन नेपालमा आउँदा आफू पनि सहयोगी हातका रूपमा रहन पाउँदा खुसी व्यक्त गरे ।


गत वर्ष पहिलो संस्करण आयोजना गर्दा ३ हजारभन्दा बढीको सहभागिता रहेकामा यसपालि अझै बढीले भाग लिने आयोजकको विश्वास छ । नेपालका लागि पिंकाथनको फ्रेन्चाइज अधिकार लिजर पोर्टले लिएको छ । लिजर पोर्टका प्रबन्ध निर्देशक नमराज जोशीका अनुसार गत संस्करणमा निकै कम समयका बाबजुद उल्लेख्य सहभगिता थियो । ‘पछिल्लो पटक हामीले छोटो समयमै सोचेभन्दा धेरै साथ पायौं ।


विविध कारणवश सहभगिता पनि ३ हजारभन्दा बढीलाई स्थान दिन सकेनौं । यसपालि भने राम्रो तयारीसाथ अगाडि बढेका छौं,’ उनले भने । नमराजले मुम्बईमा आयोजित म्याराथनमा ११ हजार सहभागी भएकोमा नेपालमा सोहीअनुरुपको उत्साह अपेक्षा गरेको बताए । पछिल्लोपल्ट राष्ट्रिय कीर्तिमान कायम गर्दै उपाधि जितेकी कान्छीमाया कोजुले यसपालि पनि भाग लिन्े छिन् ।


प्रकाशित : माघ २, २०७४ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?