२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शीर्ष वरीयता पाउनेको जित

अस्ट्रेलियन ओपन
एएफपी

मेलबर्न — सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनअन्तर्गत मंगलबार स्वीस स्टार रोजर फेडेरर र सर्बियाली स्टार नोभाक जोकोभिचले जित हासिल गरेका छन् । पूर्व विजेता मारिया सारापोभा पनि प्रतिबन्धपछिको पहिलो अस्ट्रेलियन ओपन खेलमा विजयी रहिन् । 

शीर्ष वरीयता पाउनेको जित

डिफेन्डिङ च्याम्पियन फेडेररले स्लोभेनियाका अल्जाज बेडेनेलाई सोझो सेटमा हराए । करिअरको २० औं ग्रान्ड स्लाम उपाधि पछयाइरहेका फेडेररले स्लोभेनियाका खेलाडीलाई ६–३, ६–४, ६–३ ले पाखा लगाए । पछिल्लो सिजन पाँचौंपल्ट अस्ट्रेलियन ओपन जितेका फेडेररले कीर्तिमानी आठौं विम्बल्डन उपाधि उठाएका थिए । उनले यसपालि फेरि उपाधि जित्ने लक्ष्य राखेका छन् । ‘मैले पछिल्लो सिजन यस प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरेको थिएँ । यसपालि पनि म राम्रो प्रदर्शन गर्नेमा आशावादी छु,’ उनले भने । फेडेररले गत संस्करण फाइनलमा स्पेनिस चिरप्रतिद्वन्द्वी राफेल नाडाललाई हराएका थिए ।

चोटका कारण ६ महिना विश्राममा रहेका जोकोभिचले पनि सुखद पुनरागमन गरे । उनले अमेरिकाका डोनाल्ड योङलाई ६–१, ६–२, ६–४ को सोझो सेटमा हराए । १२ पटक ग्रान्डस्लाम उपाधि जितेका जोकोभिच सातौं अस्ट्रेलियन ओपन उपाधि जित्ने अभियानमा छन् । ‘म चोटपछि उच्च लयमा खेल्न चाहन्थें र त्यसमा सफल रहें । योङले अन्तिम सेटमा बलियो चुनौती पेस गरे पनि सुरुका सेटमा मैले राम्रो खेलें,’ उनले भने ।

उपाधि उठाइसकेका अर्का स्वीस खेलाडी स्टान वावरिन्का पनि ६ महिनापछि कोर्टमा जितसहित फर्किए । घुँडाको चोटका कारण विश्राममा रहेका वावरिन्काले लिथुवानियाका रिचार्डस बेरान्किसलाई पराजित गर्न चौथो सेटसम्म मिहिनेत गर्नुपर्‍यो । तेस्रो सेट गुमाएका वावरिन्काले ६–३, ६–४, २–६, ७–६ (७–२) ले जित हासिल गरे । क्यानडाका मिलोस राओनिक ८६ औं वरीयताका लुकास लाकोसँग पराजित हुँदा एलेक्जेन्डर भेरेभ, डेबिड गफिन र टोमस बर्डिचले भने जित हासिल गरे ।

महिलातर्फ विश्व नम्बर एक सिमोना हालेपले पनि दोस्रो चरणको यात्रा तय गरिन् । विगत दुई संस्करणमा पहिलो चरण पार गर्न असफल हालेपले घरेलु खेलाडी डेस्टानी आइभालाई सोझो सेटमा हराएकी हुन् । उनले पहिलो सेटमा केही मिहिनेत गर्नुपरे पनि समग्रमा ७–६ (७/५), ६–१ को जित हात पारिन् । तेस्रो वरीयताकी गार्बिन मुगुरुजाले फ्रान्सेली खेलाडी जेस्सिका पोन्सेटलाई ६–३, ६–३ ले हराइन् ।

पूर्व विश्व नम्बर एक रुसी स्टार सारापोभाले सन् २०१६ को अस्ट्रेलियन ओपनमा प्रतिबन्धित लागूपदार्थ मेल्डोनियम प्रयोग गर्दा पाएको १५ महिने प्रतिबन्धपछि प्रतियोगितामा पुनरागमन गरिन् । सन् २००८ को अस्ट्रेलियन उपाधि विजेता सारापोभाले जर्मनीकी तात्जाना मारियालाई ६–१, ६–४ ले हराइन् । ‘मलाई यो प्रतियोगिता निकै रमाइलो लाग्छ । म दुई वर्षपछि यहाँ फर्किएको छु र यसलाई निकै विशेष बनाउन चाहन्छु,’ गत अप्रिलमा कोर्ट फर्किएकी सारापोभाले भनिन् ।

सन् २०१६ मा उपाधि जितेकी पूर्व विश्व नम्बर एक जर्मनीक एन्जेलिक केर्बरले पनि सहज जित हात पारिन् । लगातार १० औं खेल जित्ने क्रममा उनले अन्ना–लेना फ्रेडसामलाई ६–०, ६–४ ले पाखा लगाइन् । छैटौं वरीयताकी क्यारोलिना प्लिस्कोभा, आठौंकी क्यारोलिन गार्सिया र नवौंकी जोहाना कोन्टा पनि दोस्रो चरणमा पुगे ।

प्रकाशित : माघ ३, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?