कास्की फुटबलमा नयाँ कार्यसमिति

लेखनाथ — कास्की जिल्ला फुटबल संघको सातौं अधिवेशनले मिलन गुरुङ अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी शिव गुरुङ (माया) लाई ८ मतअन्तरले पराजित गरे । उनी १३ मतले विजयी भए । यसअघि गुरुङ उपाध्यक्ष थिए । 

कास्की फुटबलमा नयाँ कार्यसमिति

उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ निर्वाचित भए । सदस्यमा पुष्प बराल, राधा गुरुङ, सुशीलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बाँस्तोला र इन्द्रबहादुर कुँवर निर्विरोध निर्वाचित भए । सचिव र कोषाध्यक्ष भने कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।

दुई वर्षदेखि स्थगित मनकामना केबलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौती नयाँ कार्यसमितिलाई थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋणसमेत यो नयाँ कार्यसमितिको काँधमा आइपुगेको छ । संघका आबद्ध २३ क्लबमध्ये लिग खेलेका १८ क्लबले मात्रै मताधिकार पाएका थिए ।

अधिवेशनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पूर्वाधार निर्माणको चरणमा रहेको बताउँदै फुटबल विकासका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए । एन्फाका केन्द्रीय उप–महासचिव गणेशबहादुर भट्टराईले जातीयता र राजनीतिले खेलकुद धराशयी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । अधिवेशनले सचिव शिव गुरुङ र कोषाध्यक्ष हिटलर घलेको प्रतिवेदन पास गरेको थियो । कोषाध्यक्ष प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?