१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुढासुब्बा गोल्डकप माघ २० देखि

धरान — पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघ २० देखि धरान रंगशालामा हुने भएको छ । प्रतियोगितामा यसपालि दुई दशक पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिने आयोजक क्लबले जनाएको छ । कुल पुरस्कार ११ लाख ७७ हजार रुपैयाँ राशि रहेको छ ।

आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएसँगै पुरस्कार राशिमा केही रकम वृद्धि गर्ने घोषणा गरेको हो । धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला धरानमा निर्माण गनुपर्ने दबाब सिर्जना गर्दै २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल गर्न लागिएको क्लबका अध्यक्ष एवं एन्फा उपाध्यक्ष किशोर राईले बताए ।

उनले भने, ‘नेपाली फुटबलको इतिहास बोकेको बुढासुब्बा गोल्डकपले दुई दशकमा धेरै व्यावसायिक खेलाडी उत्पादन गर्न सहयोग गरेको छ । तर, आयोजक क्लब आफैं भने अझै आर्थिक रूपले आत्मनिर्भर हुन सकेको छैन । यद्यपि धरान उपमहानगरपालिका, प्रायोजक, शुभचिन्तक, देश–विदेशमा रहेका फुटबलप्रेमी, पूर्व खेलाडी र स्थानीय समुदायको सदाशयताले दुई दशकसम्म निरन्तरता दिन सफल भएका छौं ।’

अध्यक्ष राईले धरान रंगशाला निर्माणाधीन भएकाले यसअघि ५ वर्षसम्म धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा हुँदै आएको तर यसपालि पूर्वाधार तयार भएकाले रंगशालामै प्रतियोगिता गरिने बताए ।

माघ २७ सम्म हुने प्रतियोगितामा भारतको कोलकातास्थित गरिफा फुटबल क्लव र बंगलादेशको धनमुन्दी क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित मनाङ मस्र्याङ्दी, संकटा, थ्री स्टार, यू–१९ राष्ट्रिय टोली र

आयोजक धरान फुटबल क्लबले सहभागिता जनाउने छन् । धनमुन्दी क्लव ०५७ को उपाधि विजेता हो । नेपाल पुलिस साबिक विजेता र संकटा उपविजेता टिम हुन् ।

विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट स्ट्राइकर, उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँको पुरस्कार जित्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्दा प्रत्येक खेलका म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ पाउने क्लबले जनाएको छ ।

धरान उपमहानगरपालिका संयोजक, जीबी मार्केटिङ (रेडबुल) मुख्य प्रायोजक, गोर्खा ब्रुअरी, बराह ज्वेलरी, ताईपाई चाउचाउ, यामाहा, हटेझटे, यामाहा र क्वालिटी बिस्कुट

सहप्रायोजक रहेको प्रतियोगिता आयोजन गर्न राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघले सहयोग गर्ने जनाइएको छ । प्रतियोगिता गर्न ५३ लाख ४७ हजारको बजेट सार्वजनिक गरिएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?