कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरका क्लबहरूले प्रशासन गुहारे

प्रताप विष्ट

हेटौंडा — जिल्ला फुटबल संघ मकवानपुरको अधिवेशन माग गर्दै जिल्लाका क्लबहरूको एक समूह स्थानीय प्रशासनमा पुगेको छ ।

मकवानपुरका क्लबहरूले प्रशासन गुहारे

जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै मकवानपुर जिल्ला फुटबल संघ संस्थापनको विपक्षमा रहेका क्लबहरूले अधिवेशन गराउन माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएका छन् । अधिवेशन गर्नुपर्ने अन्तिम समयसम्म पनि संस्थापन पक्षले आफूहरूलाई पत्राचारसमेत नगरेको ती क्लबहरूको दाबी छ ।

पुस २७ का लागि तय भएको जिल्ला अधिवेशन माघ ४ लाई सारिएको थियो । माघ ३, बुधबार साँझ ४ बजेसम्म पनि कुनै पनि क्लबलाई अधिवेशनमा सहभागिताका लागि पत्राचार नगरिएको भन्दै क्लबहरूले पत्रकार सम्मेलन गरेर प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई निवदेन पेश गरेका छन् ।

पिप्ले युवा र महावीर क्लबलाई अयोग्य रहेको ठहर गर्दै अधिवेशनमा सहभागिता नगराउने संकेत देखिएको पिप्ले युथका प्रतिनिधि सुविन घिमिरेले बताए । अधिवेशनमा सहभागी हुन पाउने ९ क्लबमध्ये ५ क्लब एफसी पोताला, पिप्ले युथ, महावीर, चाइना एफसी र पदमपोखरी युवा विपक्षमा उभिएका छन् । यी क्लबको समूहले एफसी पोतालाका अध्यक्ष टीकाराम लामालाई अध्यक्ष उम्मेदवार बनाउने जनाएको छ । विपक्षमा रहेका क्लबहरू एन्फाका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षधर हुन् । वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठसहित अन्य क्लबहरू एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ पक्षधर हुन् ।

खेलकुदमन्त्री राजेन्द्र केसीले समेत जिल्ला फुटबल संघको निर्वाचनमा चासो देखाएपछि प्रजिअ बुढाले मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बोलाएर सत्यतथ्य बुझेका थिए । अध्यक्ष श्रेष्ठले एन्फाबाट मिति निर्धारण नगरिदिएका कारण अधिवेशन गराउन नसकिएको आफूलाई बताएको प्रजिअ बुढाले जानकारी गराए ।

विवादबारे बुझ्न खोज्दा अध्यक्ष श्रेष्ठसँग सम्पर्क सकेन । प्रथम उपाध्यक्ष मनीष श्रेष्ठले जिल्लामा देखिएको विवादका कारण २०७० सालमा भएको अधिवेशनको माइन्युट प्रतिलिपी पठाउन र अर्को मिति नतोकिएसम्म अधिवेशन नगराउन भन्दै एन्फाले पत्र पठाएकाले अधिवेशन अनिश्चित बनेको जानकारी गराए । उनले एन्फाले मंगलबार पत्र पठाएको बताए ।

बिहीबारसम्म अधिवेशन नभए शुक्रबार सरोकारवाला सबैको उपस्थितिमा अधिवेशन गरिने पिप्ले युथका सचिव दीपेन्द्र ढकालको दाबी थियो । चैतमा हुने एन्फा निर्वाचनका लागि माघ ५ भित्र जिल्लाहरूको निर्वाचन गरिसक्नुपर्ने छ ।

प्रकाशित : माघ ४, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?