१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारत ‘डेब्यू ब्वाई’ को सिकार

एएफपी

सेन्चुरियन — टेस्ट क्रिकेटमा डेब्यू गरिरहेका लुंगी एनगिडीको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा भारतलाई १ सय ३५ रनले पराजित गरेको छ । तीव्र गतिका बलर एनगिडीले ३९ रन खर्चंदै ६ विकेट लिएपछि भारतीय इनिङ्स १ सय ५१ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाले तीन खेल शृंखलामा २–० को अग्रता लिँदै उपाधि कब्जा गरेको छ ।

भारत ‘डेब्यू ब्वाई’ को सिकार

टेस्टको अन्तिम दिन २ सय ८७ रनको कठिन लक्ष्य पछयाएको भारतले ३५–३ को स्थितिबाट खेल सुरु गरेको थियो । चेतेश्वर पुजारा तीन रन लिनेक्रममा रनआउट भएपछि भारतको विकेट पतन सुरु भएको थियो । १९ रन जोडेका पुजारा जारी टेस्टमा दोस्रोपल्ट रनआउट हुने क्रममा एबी डी भिलियर्सको थ्रोमा आउट भए । पार्थिव पटेल पनि १९ रन जोड्दै मोर्ने मोर्केलको उत्कृष्ट क्याचका कारण पेभेलियन फर्कन बाध्य भए ।

त्यसपछि एनगिडीले हार्दिक पाण्डेय र रविचन्द्रन आश्विनको विकेट लिँदै भारतलाई ८७–७ को स्थितिमा पुर्‍याएका थिए । रोहित शर्मा र मोहम्मद सामीले आठौं विकेटमा ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर कागिसो रबाडाले व्यक्तिगत तेस्रो विकेटका रूपमा रोहित शर्मालाई ४७ रनमा क्याचआउट गराएर घरेलु टोलीलाई सफलता दिलाए । लगत्तै सामी र जसप्रित बुमराह पनि एनगिडीको बलमा क्याचआउट हुँदा भारत अलआउट भयो । करिअरकै ३९–६ को उत्कृष्ट बलिङ प्रदर्शन गरेका एनगिडीले अघिल्लो दिन कप्तान विराट कोहली (५) लाई पनि आफ्नो सिकार बनाएका थिए ।

केपटाउनमा सम्पन्न पहिलो टेस्टमा दक्षिण अफ्रिकाले ७२ रनको जित पाएको थियो । तेस्रो तथा अन्तिम टेस्ट जनवरी २४ बाट जोहानेसबर्गमा हुनेछ ।

प्रकाशित : माघ ४, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?