१५ वर्षीया किशोरीको सनसनी

अस्ट्रेलियन ओपन टेनिस
एएफपी

मेलबर्न — युक्रेनकी १५ वर्षीया मार्टा कोस्ट्युक घरेलु खेलाडी ओलिभिया रोगोस्कालाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको तेस्रो चरण पुगेकी छिन् । सन् १९९६ यता तेस्रो चरण पुग्ने उनी सबैभन्दा कान्छी खेलाडी हुन् । त्यति बेला मार्टिना हिंगिजले क्वाटरफाइनल यात्रा तय गरेकी थिइन् ।

१५ वर्षीया किशोरीको सनसनी

गत वर्ष अस्ट्रेलियन ओपनको गल्र्स उपाधि जितेकी कोस्ट्युकले मेलबर्न पार्कमा लगातार ११ औं जित दर्ता गरिन् । उनले छनोटमा पनि सबै खेल जितेकी थिइन् । ‘मलाई सबैले मेरो प्रतिभाबारे सुनाउँछन् । तर खेलमा प्रतिभाभन्दा मिहिनेत महत्त्वपूर्ण हुन्छ । त्यसैले म सक्दो मिहिनेत गरिरहेको छु,’ उनले भनिन् ।

कोस्ट्युकले अब तेस्रो चरणमा चौथो वरीयताकी एलिना स्वितोलिनाको सामना गर्ने छिन् । स्वितोलिनाले पहिलो सेटमा पराजित भए पनि ४–६, ६–२, ६–१ को सेटमा चेक खेलाडी क्याटरिना सिनियाकोभालाई हराइन् । लगातार सात खेलमा अपराजित उनले गत सिजन पाँच डब्लुटीए उपाधि जितेकी थिइन् । प्रतियोगिताकी दाबेदार स्वितोलिनाले आफू कोस्ट्युकको सामना गर्न तयार रहेको बताइन् । ‘उनलाई केही हार्नु छैन त्यसैले

आफ्नो सबै मिहिनेत लगाउने छिन् । उनले आफ्नो सबै शक्ति प्रयोग गर्ने हुनाले म त्यसैअनुसार तयार छु,’ उनले भनिन् ।

विश्व नम्बर दुई डेनमार्ककी क्यारोलिन वोज्नियाकीले क्रोएसियाकी जाना फेटलाई पराजित गर्न ठूलो मिहिनेत गर्नुपर्‍यो । वोज्नियाकीले अन्तिम सेटमा ५–१ ले पछाडि परेको अवस्थामा दुई म्याच प्वाइन्ट बचाउँदै आफ्नो पहिलो ग्रान्ड स्लामको सपना जीवितै राखिन् । १ सय १९ औं वरीयताकी फेट ३–६, ६–२, ७–५ ले पराजित भइन् ।

फ्रेन्च ओपन विजेता एवं सातौं वरीयताकी लात्भियाकी जेलेना ओस्टापेन्कोले पनि तेस्रो सेटमा चीनकी डुआन यिङयिङलाई पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरिन् । भेनस विलियम्सलाई हराएकी बेलिन्दा बेन्सिच पनि थाइल्यान्डकी लुक्सिका कुम्खुमसँग ६–१, ६–३ ले पराजित भइन् ।

पुरुषतर्फ विश्व नम्बर एक स्पेनिस राफेल नाडालले १७ औं ग्रान्ड स्लाम उपाधिको यात्रामा अगाडि बढ्ने क्रममा अर्जेन्टिनाका लियोनार्दो मेयरलाई सोझो सेटमा पराजित गरे । तेस्रो सेट टाइब्रेकमा पुगे पनि समग्रमा नाडाल ६–३, ६–४, ७–६ (७/४) ले विजयी रहे । बुल्गेरियाका तेस्रो वरियताप्राप्त दिमिट्रोभले १ सय ८६ औं स्थानका मकेन्जी म्याकडोनाल्डलाई पराजित गर्न पाँच सेट खेल्नुपर्‍यो । उनले अमेरिकी खेलाडीलाई ४–६, ६–२, ६–४, ०–६, ८–६ ले पराजित गरे । यसबाहेक क्रोएसियाका मारिन सिलिच, पाब्लो क्यारेनो बुस्टा र जो विल्फ्रिड सोंगाले पनि जित हात पारे ।

प्रकाशित : माघ ४, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?