२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एन्फा नवलपरासी विवाद : एक साताभित्रै अर्को अधिवेशन, फेरि नयाँ कार्यसमिति

नारायण शर्मा

नवलपरासी — विरोधका बाबजुद १४ वटा क्लबलाई अधिवेशनबाट बञ्चित गर्दै एक साताअघि प्रकाश पंज्ञेनीको अध्यक्षतामा बनाइएको नवलपरासी जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गरेर बिहीबार पुन: अर्को समिति गठन गरिएको छ ।

एन्फा नवलपरासी विवाद : एक साताभित्रै अर्को अधिवेशन, फेरि नयाँ कार्यसमिति

पंज्ञेनी नेतृत्वको कार्यसमितिमा महासचिव रहेका सेतमान पुनलाई अध्यक्ष बनाएर त्यही समूहले नयाँ कार्यसमिति गठन गरेको हो । एक साताभित्र दोस्रोपल्ट कार्यसमिति बनाइदा फुटबलमा दलीय राजनीति गर्दै एमालेले एक्लौटी गरेको आरोप छ । एकसाता अघि १३ वर्षदेखि निरन्तर नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष रहेका प्रकाश पंज्ञेनीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको घोषणा गरिएको थियो । जिल्ला संघमा आबद्ध २९ वटा फुटबल क्लबमध्ये १४ वटालाई मताधिकारबाट बन्चित गरेर एक्लौटी र कागजी रुपमा संघ गठन गरेको भन्दै ब्यापक विरोध भएपछि बिहीबार फेरि एक पक्षीय भेला गरेर एक्लौटी समिति गठन गरिएको हो । बिहीबारको भेलामा पंज्ञेनीनिकट क्लबका प्रतिनिधि मात्र सहभागी थिए र अरु क्लबलाई सूचना नै नदिएको आरोप छ ।


पंज्ञेनीलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तानिसकेको छ । त्यसैले राम्रो छवि देखाउनलाई एक साता अघिको समितिलाई एकाएक भंग गरेर सेतमानको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति बनाइएको दाबी गरिएको छ । मताधिकार प्राप्त क्लबहरुलाई पनि जानकारी नै नदिई अर्को समिति गठन गरिँदा विवादरहित भने रहेन । उक्त समितिको उपाध्यक्ष धनबहानुर गुरुङ, मेघराज पाण्डे र ज्ञानु गुरुङ रहेका छन् । अन्य ९ सदस्य छन् ।


एक साताअघि अधिवेशनमा एन्फाको प्रतिनिधि रहेका रमेश रायमाझीले त्यतिखेर आफू अधिवेशन स्थलमा तोकिएकै समयमा पुग्दा नयाँ कार्यसमिति गठन भइसकेको जानकारी पाएको भन्दै त्यसलाई अवैध घोषणा गरेका थिए । तिनै रायमाझीले सुटुक्क आएर बिहीबार अघिल्लोपल्ट असहमत रहेका लिग खेल्ने १४ क्लबलाई खबर नगरी एक्लौटी रुपमा कार्यसमिति बनाइदिएका हुन् । उनै रायमाझीले नवलपरासी जिल्ला फुटबल संघको अधिवेशन भएको भन्दै आफ्नो फेसबुकमा फोटो सार्वजनिक गरेपछि मात्रै जिल्ला फुटबलका सरोकारवालाहरुले बिहीबारको गोप्य अधिवेशनबारे जानकारी पाएका थिए । एन्फाका केन्द्रीय सदस्य रायमाझी, प्रकाश पंज्ञेनी भ्रष्टाचारको अभियोगमा प्रतिबन्धित गणेश थापाका विश्वासपात्र हुन् ।


सुनौलो विहानी युवा क्लबका सल्लाहकार सुबेन्द्र कुँवर योगीले केन्द्रीय प्रतिनिधि रमेश रायमाझीले प्रलोभनमा परेर नयाँ कार्यसमिति गठन गरिदिएको आरोप लगाए । ‘एउटै प्रतिनिधिले अघिल्लो पटक बनेको समितिलाई अवैध भन्ने आज त्यही ब्यक्ति आएर हामी (सम्बन्धित क्ल्बहरु)लाई खबरै नगरी नयाँ कार्यसमिति गठन भएको घोषणा गर्नुमा पैसाको राम्रै चलखेल बुझ्नुपर्छ,’ उनले भने, ‘जिल्ला फुटबल संघहरु कब्जा गर्ने रणनीतिअनुसार एन्फाका पूर्वअध्यक्ष गणेश थापाको निर्देशनमा ठूलै रकमको चलखेल भइरहेको छ ।’एन्फाका प्रतिनिधि रायमाझीले बिहीबार आफ्नो रोहवरमा अधिवेशन भएको नक्कली कागजात बनाएर १४ वटा क्बललाई थाहै नदिई भागेको योगीको आरोप छ ।


गत शुक्रबार भएको जिल्लालाई आफू केन्द्रीय प्रतिनिधि तोकिएको र अधिवेशनलाई आउँदै गरेको जानकारी गराउँदा गराउँदै पहिल्यै अधिवेशन गर्नुले नियतमा खोट देखिएको केन्द्रीय प्रतिनिधि रायमाझी त्यतिबेला असन्तुष्टि जनाएर काठमाडौं फर्किएका थिए । मताधिकारबाट बन्चित गरिएका क्लबहरुले अधिवेशन अवैधानिक रहेको भन्दै अधिवेशन रोक्न माग गर्दै एन्फा केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दिएको निवेदनको बेवास्ता गर्दै रायमाझीले नयाँ कार्यसमिति घोषणा गरेका हुन् ।


यसअघि शुक्राबर पंज्ञेनीले आफु निकटका क्लबलाई गोप्य सर्कुलर गरेर शुक्रबार भुमहिमा (पश्चिम नवलपरासी) गर्ने भनिएको जिल्ला अधिवेशन एकाएक बिहान अमलटारीस्थित थारु होमस्टे (पूर्वीनवलपरासी)मा सारिएको जानकारी गराएको थियो । असन्तुष्ट पक्षधरहरु बिहान १० बजे कार्यक्रम स्थलमा पुग्दा कोही पनि थिएनन् ।


अघिल्लो चार वर्षे कार्यकालमा जिल्ला संघको उपाध्यक्ष रहेका लक्ष्मण कार्कीको गैंडाकोट खेलकुद विकास समिति, सूर्यज्योति, बिग बुद्ध, देशभक्त, सुनौलो विहानी, डायमण्ड युथ सोसाइटी, भैरहवा स्पोर्ट्स, अभिदय, सूर्य युवा, मनकामना युवा क्लबलाई बिहीबार सम्पन्न भनिएको अधिवेशनमा पनि सहभागी हुन दिइएको थिएन । जबकि यी क्लबहरुले नियमित जिल्ला लिग खेलीरहेका छन् ।


एन्फाको विधानअनुसार क्लब दर्ता भएपछि मात्र लिग खेल्न पाउँछ र लिग खेल्ने क्लबहरुले अधिवेशनमा सहभागी हुन पाउँछन् । योग्य सबै क्लबलाई अधिवेशनमा सहभागी गराउँदा पंज्ञेनी अल्पमतमा पर्ने भएकाले गणेश थापा पक्षधरले गोप्य र कागजी रुपमा अधिवेशन गराएको असन्तुष्ट पक्ष दाबी गर्छन् । ‘एकसाताअघि पनि बाहिरै राखियो । आज पनि हामीलाई खबरै नगरी फेरि अधिवेशन भयो भन्ने सुनेको छु । यो कसरी वैध हुन्छ,’ पूर्वउपाध्यक्ष कार्कीले भने ।

प्रकाशित : माघ ४, २०७४ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?