कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुटुक्क अर्को समिति गठन

मोरङमा पुन: धिमाल
नारायण शर्मा

नवलपरासी — जिल्ला फुटबल संघ नवलपरासीको बिहीवार अर्को जिल्ला कार्यसमिति गठन भएको छ । अधिवेशनमा सहभागी हुनबाट वञ्चित १४ क्लबको असहमति विपरीत एक साताअघि प्रकाश पंगेनीको अध्यक्षतामा बनाइएको समिति भंग गरेर अर्को समिति गठन गरिएको हो । 

दुईपल्टसम्म बनाइएको समितिमा अरु सबै दललाई पन्छाउँदै एमालेले एकलौटी गरेको आरोप छ । बिहीवार अघिल्लो कार्यसमितिका महासचिव सेतमान पुनलाई अध्यक्ष बनाएर सोही समूहले अर्को कार्यसमिति बनाएको हो ।

१३ वर्षदेखि निरन्तर जिल्ला फुटबलको नेतृत्व गरिरहेका पंगेनीको अध्यक्षतामा गत साता १३ सदस्यीय समिति गठन भएको घोषणा गरिएको थियो । जिल्लामा संघआबद्ध २९ क्लबमध्ये १४ वटालाई मताधिकारबाट वञ्चित गरेर एकलौटी संघ गठन गरेको भन्दै विरोध भएपछि बिहीबार अर्को समूहले एकलौटी समिति बनाएको हो ।

पूर्व महासचिव पुनको अध्यक्षतामा बनेको समितिका उपाध्यक्षमा धनबहादुर गुरुङ, मेघराज पाण्डे र ज्ञानु गुरुङ छन् । नौजना सदस्यबाट पछि महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी चयन गर्नुपर्ने विधानमा व्यवस्था छ ।

गत साता अधिवेशनमा केन्द्रबाट खटिएका एन्फा केन्द्रीय सदस्य रमेश रायमाझीले आफू अधिवेशनस्थलमा तोकिएकै समयमा पुग्दा नयाँ समिति गठन भइसकेको जानकारी पाएको भन्दै त्यसलाई अवैध मानेका थिए । रायमाझीले बिहीबार १४ क्लबको सहमतिबिनै अर्को समिति गठन भएको घोषणा गरेका हुन् । अघिल्लो अधिवेशनमा प्रक्रिया नपुगेका भन्दै असहमति जनाएका उनले बिहीबार अर्को समिति गठन गर्दा पनि पहिलेदेखि असहमति जनाउँदै आएका १४ क्लबलाई बाहिरै राखेर अधिवेशन सम्पन्न सकिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि अरुले थाहा पाएका थिए ।

सुनौलो बिहानी युवा क्लबका सल्लाहकार सुवेन्द्र कुँवरले केन्द्रीय प्रतिनिधि रायमाझीले चलखेल गरेको आरोप लगाए । ‘एउटै प्रतिनिधिले अघिल्लोपल्ट बनेको समितिलाई अवैध भन्ने, आज आएर हामीलाई खबरै नगरी नयाँ कार्यसमिति गठन भएको घोषणा गर्नुमा राम्रै चलखेल छ,’ उनको आरोप थियो ।


मोरङमा पुन: धिमाल

विराटनगर (कास)– मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । उनको यो तेस्रो कार्यकाल हो । धिमालले प्रत्याशी पूर्व राष्ट्रिय रेफ्री तथा राखेपका पूर्व सदस्य किरण गिरीलाई २ मतले पराजित गरे । धिमालले ८ र गिरीले ६ मत पाएका थिए ।

अधिवेशनमा जिल्लाका १४ क्लबको सहभागिता थियो । उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भए । सदस्यमा कौशिला लिम्बू, उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, प्रेमप्रसाद तामाङ, खड्गबहादुर श्रेष्ठानी, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी चुनिए ।


प्रकाशित : माघ ५, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?