१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उच्च तापमा स्टारहरूको यात्रा

अस्ट्रेलियन ओपन
एएफपी

मेलबर्न — डिफेन्डिङ च्याम्पियन रोजर फेडेरर सहज जितसाथ अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेका छन् । बिहीबार मेलबर्नमा तापक्रमले ४० डिग्री सेल्सियस छुँदा सर्बियाली नोभाक जोकोभिचले जित निकाल्न निकै मिहिनेत गर्नुपर्‍यो । सन् २०१४ का उपाधि विजेता स्टान वावरिन्का र महिलातर्फ तेस्रो वरीयताकी स्पेनिस गार्बिन मुगुरुजा भने पराजित हुँदै प्रतियोगिताबाट विदा भए । 

उच्च तापमा स्टारहरूको यात्रा

१९ ग्रान्ड स्लाम जितेका स्विस खेलाडी फेडेररले जान लेन्नर्ड स्ट्रफलाई सोझो सेटमा पराजित गरे । उनले अत्यधिक गर्मीका बाबजुद जर्मन प्रतिद्वन्द्वीलाई कुनै मौका नदिई ६–४, ६–४, ७–६ (७/४) ले हराएका थिए । फेडेररले उपाधि जित्न जस्तो परिस्थितिमा पनि खेल्नुपर्ने हुनाले तापक्रम निहुँ नबन्ने बताए । ‘मैले उनीसँग प्रशिक्षणका क्रममा पनि खेलेको थिएँ, त्यसैले उनको खेल बुझ्न पाएँ,’ फेडेररले थपे,’ उत्कृष्ट खेलाडी बन्न सबै खालको परिस्थितिमा आफ्नो प्रदर्शन गर्न सक्नुपर्छ ।’


फेडेररले सन् २००० मा अस्ट्रेलियन ओपनमा डेब्यू गरेदेखि कम्तीमा तेस्रो चरणको यात्रा तय गरेका छन् । स्ट्रफले भने कुनै पनि ग्रान्ड स्लाममा दोस्रो चरण पार गर्न सकेका छैनन् ।

६ पटकका अस्ट्रेलियन ओपन विजेता जोकोभिचले चौथो सेटसम्म प्रतिस्पर्धा गर्दै फ्रान्सेली गेल मन्फिल्सलाई पराजित गरे। पहिलो सेट ६–४ ले गुमाएका जोकोभिचले बाँकी ३ सेटमा ६–३, ६–१, ६–४ ले कब्जा गर्दै तेस्रो चरणमा स्थान पक्का गरे । चोटबाट पुनरागमन गर्दा यस्तो खेलले थप सहयोग पुग्ने जोकोभिचको बुझाइ छ । ‘आज मौसम निकै कठिन थियो । विशेषत: सुरुआती ९० मिनेटमा गर्मी अत्यधिक थियो । म शतप्रतिशत फिट नभए पनि आत्मविश्वास र हौसलाले भरिपूर्ण छु,’ उनले भने ।


चोटबाट फर्किएका पूर्व विजेता वावरिन्काले अमेरिकी खेलाडी टेनिस सान्डग्रेनसँग सोझो सेटको हार बेहोरे । ९७ औं वरीयताका सान्डग्रेनले स्वीस स्टार वावरिन्कालाई ६–२, ६–१, ६–४ ले पराजित गर्दै जर्मनीका म्याक्सीमिलियन मार्टररसँग भिडन्त तय गरे । बायाँ घुँडाको शल्यक्रियापछि पहिलो प्रतियोगिता खेलिरहेका वावरिन्काका लागि भने वर्षको सुरुआत राम्रो रहन सकेन । पुरुषतर्फ चौथो वरीयताका एलेक्जेन्डर भेरेभ र पाँचौं वरीयताका डोमिनिक थिएमले पनि तेस्रो चरणमा स्थान बनाए ।


महिलातर्फ मारिया सारापोभा र विश्व नम्बर एक सिमोना हालेपले सहज जित दर्ता गरे । रूसी सारापोभाले १४ औं वरीयताकी लात्भियाकी अनास्तासिजा सेवात्सोभालाई ६–१, ७–६ (७/४) ले पराजित गरिन् । हालेपले क्यानाडेली युजिन बोचार्डलाई सोझो सेटमा पाखा लगाइन् ।


गत वर्षको विम्बल्डन विजेता मुगुरुजा भने ८८ औं वरीयताकी ताइपेईकी सिएह सु–वेइसँग ७–६ (७/१), ६–४ ले पराजित भइन् । मुगुरुजाले गर्मी मौसम भए पनि आफूले खराब खेल्दै पराजित भएको स्विकारिन् । ‘मैले धेरै ठाउँमा अझै राम्रो प्रदर्शन गर्न सक्थें । उनले राम्रो खेलिन् र जितको पूर्ण हकदार थिइन्,’ उनले भनिन् । पाँचपल्ट ग्रान्ड लाम जितिसकेकी सारापोभाले सन् २००८ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । आठौं वरीयताकी क्यारोलिन गार्सियाले पनि अर्को चरणमा स्थान बनाइन् । उनीसँगै छैटौं वरीयताकी क्यारोलिना प्लिस्कोभा पनि अगाडि बढेकी छिन् ।

प्रकाशित : माघ ५, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?