१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सोचेजस्तो छैन तयारी

विश्व क्रिकेट लिग डिभिजन २
क्यान निलम्बनमा परेका कारण नेपालको राष्ट्रिय क्रिकेट टोलीको तयारी आईसीसीकै भरमा
नेपालले लामो अनुबन्धन दिन नसक्दा भारतका मोन्टी देशाई केही दिनअघि मात्र ब्याटिङ प्रशिक्षक भएर अफगानिस्तान लागे 
विनोद पाण्डे

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । 

सोचेजस्तो छैन तयारी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको २० महिनाभन्दा बढी भइसक्यो । त्यसयता विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटलाई नियन्त्रणमा राखेको छ । नेपाली टोलीको तयारी देखि आर्थिक गतिविधिसम्म आईसीसीले तोकिएकोअनुसार हुनुपर्छ ।

आईसीसीअन्तर्गतका प्रतियोगिता खेल्नुपूर्व आईसीसीले एक महिनाअघि नेपालको तयारीलाई स्वीकृति प्रदान गरेर बजेट विनियोजन गर्छ । नेपालले अर्को महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ मा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो तयारीका लागि दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्ने योजनासहित आईसीसीलाई प्रस्ताव पठाएको थियो । आईसीसीले त्यसलाई स्विकारेन । आईसीसीले दिएका तीन विकल्पमध्ये एक यूएईमा गएर नेपालले डिभिजन २ को तयारी गर्नेछ ।


जगत टमाटा

डिभिजन २ मा यूएई पनि नेपालको एक प्रतिद्वन्द्वी हो । त्यही यूएईले विश्वकप छनोटमा पुग्ने आधार रहेको डिभिजन २ को तयारीक्रममा आयरल्यान्ड र स्कटल्यान्डसँग त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्दै छ । आयरल्यान्डसँग शृंखलाको दुई म्याच खेलिसकेको स्कटल्यान्डसँग पनि दुई वान डे अन्तर्राष्ट्रिय खेल्नेछ । आयरल्यान्ड र स्कटल्यान्ड दुवै वान डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली हुन् । आयरल्यान्ड यसै वर्षदेखि टेस्ट राष्ट्र पनि बन्दै छ ।

त्यसको ठीक विपरीत नेपाल डिभिजन २ को तयारीका लागि यूएई जाँदै छ । तर, नेपालले यूएईको राष्ट्रिय टोलीसँग नभई त्यहाँका स्थानीय टोलीसँग तीन अभ्यास खेल खेलेर नामिबियाको तयारी गर्नेछ । प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले यूएई ११ सँग दुई तथा एक स्थानीय टोलीसँग अर्को एक अभ्यास खेल खेल्नेछ ।

‘हामीले आईसीसीलाई डेढ महिनाअघि नै आवश्यकतासहित आफ्नो कार्यक्रम र प्रस्ताव दिएका थियौं, तर के मिल्यो मिलेन थाहा भएन । दक्षिण अफ्रिका गएर अभ्यास खेल खेल्न नसकिने जनाउँदै आईसीसीले दोस्रो विकल्प दुबई दियो,’ प्रशिक्षक टमाटाले कान्तिपुरसँग भने, ‘दुबईमा सुविधाहरू राम्रो छ, त्यसैले दुबई नै गर्नुस भन्यो । हामीले दक्षिण अफ्रिकाका लागि प्रयास गरेका थियौं, त्यो मिल्न नसेकेको भनेर आईसीसीले जवाफ पठायो । सबै आईसीसीबाटै हुने भएकाले हामीसँग अर्को विकल्प केही थिएन । हामी आईसीसीले दिएको बाटोअनुसार नै चल्ने हो ।’

नामिबियाको घाँसे विकेटमा खेल्न नेपाललाई निकै कठिन हुनेछ । त्यही हिसाबमा नेपालले डिभिजन २ तयारीका लागि दक्षिण अफ्रिका भ्रमण सुहाउँदो मानेको थियो । टमाटाले अगाडि भने, ‘दुबई र नामिबियाको कन्डिसन त फरक नै हुन्छ । दुबई नै भए पनि त्यसमा तयारी गर्दै नामिबियाको तयारी त गर्नैपर्‍यो । दक्षिण अफ्रिकामा अभ्यास भए अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो भनाइ हो ।’

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका प्रशिक्षक रहिसकेका मोन्टी देशाईलाई नेपालले डिभिजन २ तयारीका लागि ब्याटिङ परामर्शदाताका रूपमा ल्याउन खोजेको थियो । तर, मोन्टीले लामो अनुबन्धनमा इच्छा देखाए । क्यान निलम्बित रहँदा त्यसपछि देशाईलाई ल्याउन सक्ने आधार नेपाली क्रिकेटसँग केही थिएन । आईसीसीले यस्तो अवस्थामा देशाईको चाहना पूरा गर्न सक्दैनथ्यो । दुई महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ एसिया कपमा नेपालको ब्याटिङ परामर्शदाता रहेका देशाई अघिल्लो दिनमात्र यही भूमिकामा अफगानिस्तानतिर लागेका छन् ।

ब्याटिङ प्रशिक्षकका रूपमा देशाईको विकल्पमा भारतकै सुलक्षण कुलकर्णी नेपाल आउँदै छन् । उनीसँगै अर्का भारतीय सुवास पात्रो नेपाली ट्रेनरमा रहने छन् । नेपालले नोभेम्बरमा अबुधाबी गएर यूएईसँग विश्व क्रिकेट लिग च्याम्पियसिपको दुई म्याच खेल्दा पात्रो राष्ट्रिय टोलीमै थिए । च्याम्पियनसिपको शीर्ष चारमा नपरेपछि घटुवा हुँदै नेपालले डिभिजन २ खेल्न लागेको हो ।

च्याम्पियनसिपका शीर्ष चार टोली नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनी सोझै विश्वकप छनोटमा खेल्दै छन् । घटुवा भएका नेपाल र यूएईसँगै केन्या र नामिबियाले डिभिजन २ मा प्रतिस्पर्धा गर्दै छन् । ८ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल सातौं भएको थियो । डिभिजन ३ बाट बढुवा भएर आएका ओमान र क्यानडा डिभिजन २ का अन्य टोली हुन् ।

१४ सदस्यीय नेपाली टोली जनवरी २७ मा दुबई जानेछ । त्यहाँ अभ्यास खेल खेलेपछि फेब्रुअरी ६–१६ सम्म नामिबियामा हुने डिभजिन २ खेल्न अफ्रिका लाग्नेछ । सन् २०१५ मा नामिबियामै भएको डिभिजन २ मा चौथो भएपछि नेपालले च्याम्पियनसिप खेल्ने मौका पाएको थियो ।

डिभिजन २ को महत्त्व

डिभिजन २ का शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । आईसीसीको वान डे वरीयतामा शीर्ष आठमा नपरेका राष्ट्र वेस्ट इन्डिज, जिम्बावे, अफगानिस्तान र आयरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । १० राष्ट्रबीचको विश्वकप छनोटबाट शीर्ष दुई टोली २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा पुग्नेछ ।

आईसीसीको स्पष्ट निर्णयहरू केही हुँदैन । वेस्ट इन्डिज, जिम्बावे, अफगानिस्तान, आयरल्यान्ड पनि खेल्ने हुनाले विश्वकप छनोटका खेल वान डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुने अनुमान गर्न सकिन्छ । नेपालले अहिलेसम्म वान डे अन्तर्राष्ट्रिय खेलेको छैन । कप्तान पारस खड्कादेखि राष्ट्रिय टोलीका खेलाडीहरू वान डे अन्तर्राष्ट्रिय खेल्नु आफूहरूको सपना रहेको बताउँदै आएका छन् ।

‘डिभिजन २ कति महत्त्वपूर्ण छ भनेर हामी सवैलाई राम्रोसँग थाहा छ । यसले नेपालको आगामी चार वर्षको क्रिकेट भविष्य बोकेको छ । त्यसैले डिभिजन २ बाट माथि जानु निकै महत्त्वपूर्ण छ,’ टमाटा भन्छन्, ‘अहिलेसम्म हामीले नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याएका छौं, अब यसलाई विश्वकप छनोटमा पुगेर अगाडि बढाउने हो । केही तल–माथि भयो भने नेपाली क्रिकेटलाई असर त हुन्छ नै, त्यसमा कुनै शंका छैन । किनभने त्यसपछि हामी तलबाट आउनुपर्ने हुन्छ । त्यही भएर हामी डिभिजन २ बाट अगाडि बढ्न लागिरहेका छौं ।’

डिभिजन २ माथि जान सकेमा नेपालले कम्तीमा चारदिवसीय अन्तरमहादेशीय कप खेल्न पाउने छ । यही प्रतियोगिताबाट अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यताका हैसियत पाएका हुन् । नेपालले सन् २००५ यता अन्तरमहादेशीय कप खेल्न पाएको छैन् । डिभिजन २ नेपालका लागि त्यति सजिलो छैन । यूएईमा नेपाल दुई महिनाअघि दुवै खेल हारेर आएको थियो । त्योसँगै नेपाललाई केन्या र आयोजक नामिबियाको ठूलो दबाब हुनेछ ।

‘डिभिजन २ चुनौतीपूर्ण छ । सबै टोली बलिया छन् । सबै टोलीको तयारी राम्रो भइरहेको छ । अब हामी गएर क्लिक हुनुपर्‍यो,’ टमाटा नेपाली टोलीको उद्देश्यमा स्पष्ट छन् ।

प्रकाशित : माघ ६, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?