कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अघि बढ्यो थ्रीस्टार

इटहरी गोल्डकप
वेदराज पौडेल

इटहरी — खप्तड गोल्डकपको गल्ती सच्याउँदै रुस्लान थ्रीस्टार क्लब शनिबार यहाँ सुरु 
मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । थ्रीस्टारले एपीएफ क्लबलाई २–१ ले हरायो ।

अघि बढ्यो थ्रीस्टार

एन्फासँगको क्षतिपूर्ति विवादका कारण डेढ वर्षपछि मैदान उत्रिएको थ्रीस्टार खप्तड गोल्डकपमा आर्मीसँग २–१ ले पराजित भएर घर फर्केको हो । तर, थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराउँदै खप्तडमै ‘सुखद कमब्याक’ गरेको थियो ।


शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको इटहरी गोल्डकप सर्वाधिक पुरस्कार राशिको हो । विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ जित्ने छन् । थ्रीस्टारको यो दोस्रो ‘कमब्याक गेम’ हो । एपीएफले खेलको सुरुआतबाटै लय समात्न नसक्दा विपरीत परिणाम स्वीकार्नुपर्‍यो । तुलनात्मक रूपमा एपीएफले निकै दबाब सिर्जना गरे पनि गोल निकाल्न सकेन ।


अजय मार्टिनको दुई गोलमा थ्रीस्टारले सफलता पाएको थियो । मार्टिनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरे । बुद्ध चेम्जोङले हानेको बल गोलरक्षकबाट रिबाउन्ड हुँदा मार्टिन त्यसमै गोल गर्न सफल भए । दोस्रो हाफको तेस्रो मिनेटमा मार्टिन दोस्रो गोल गरे । उनले त्यसमा पनि बुद्धकै पास उपयोग गरे । बुद्धले मिलाइदिएको हेड बलमा मार्टिनले गोल गरेका थिए । दोस्रो हाफको २२ औं मिनेटमा थ्रीस्टारका पिटर सेगुनले आत्मघाती गोल गरे । सुरुआतमै थ्रीस्टारका मार्टिनले हेड प्रहार गोलरक्षकले पन्च गरेर जोगाए । दोस्रो मिनेटमै एपीएफका नवीन लामाले पेनाल्टी बक्सबाट हानेको बल थ्रीस्टारका रञ्जित धिमालले बचाएका थिए । खेलको १० औं मिनेटमा थ्रीस्टारका रञ्जितको पासम विमल घर्तीमगरको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।


३५ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा विमल घर्तीमगरको उत्कृष्ट प्रहार गोलरक्षकले जोगाए । दोस्रो हाफमा एपीएफका खेलाडीले खेलमा सुधार गरे पनि गोल गर्न सकेन । दोस्रो हाफको २५ औं मिनेटमा निराजन खड्काले पेनाल्टी बक्समा विमल घर्तीमगरलाई समयमा पास दिन नसक्दा बल खेर गयो । खेलको म्यान अफ द म्याच थ्रीस्टारका अजय मार्टिन भए । उनले १० हजार पुरस्कार पाए ।


एपीएफका प्रशिक्षक चन्दनकुमार सरदारले राम्रै खेल भए पनि फिनिसिङ गर्न नसक्दा हार बेहोर्नुपरेको बताए । उनले भने, ‘अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य भयो ।’

रुस्लान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नतिजा सुखद भए पनि खेल चित्तबुझ्दो नभएको बताए । डेढ वर्षपछि दोस्रो प्रतियोगिता खेलिरहेकाले अझै राम्रोसँग टिम सेट हुन नपाएको उनको तर्क थियो । उनले भने, ‘खेलमा अझ राम्रो हुनुपथ्र्यो तर त्यस्तो भएन ।’


खेलकुदले मुलुक चिनाउँछ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उद्घाटन गर्दै राष्ट्रको पहिचानलाई विश्वसामु पुर्‍याउने माध्यम खेलकुद भएको बताइन् । उनले भनिन्, ‘खेलकुदले मुलुकको पहिचान विश्वसामु पुर्‍याएर नेपालको उच्च पहिचान राख्छ ।’


देशको पूर्वी भागको खेलक्षेत्र र खेलाडीको लगावप्रति मध्यनजर राख्दै इटहरीमा खेलकुद प्रतियोगिता हुनु खुसीको विषय भएको बताउँदै उनले भनिन्, ‘सहरीकरणतर्फ द्रुत गतिमा अघि बढिरहेको इटहरीमा भौतिक पूर्वाधार निर्माणसँगै खेलकुद विकासमा पनि फड्को मार्ने अपेक्षा लिएकी छु ।’ उनले खेलकुदको विकासले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । यो फुटबल प्रतियोगिता आयोजना जननेता मदन भण्डारीप्रतिको झुकाव र सम्मान भएको बताउँदै राष्ट्रपतिले मदन भण्डारी विद्यार्थी छँदा खेलकुदप्रति विशेष रुचि राख्नुहुने स्मरण गराइन् ।


आजको खेल

झापा ११ विरुद्ध मनाङ मस्र्याङदी

इटहरी रंगशाला

प्रकाशित : माघ ७, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?