२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विशाल र रुबिना वर्ष खेलाडी

झापा स्पोर्ट्स अवार्ड
पर्वत पोर्तेल

बिर्तामोड — राष्ट्रिय फुटबलर विशाल राई र क्रिकेटकी रुबिना क्षेत्री झापा जिल्लाका उत्कृष्ट वर्ष खेलाडी भएका छन् । नेपाल खेलकुद पत्रकार मन्च झापा समन्वय शाखाले आइतबार बिर्तामोडमा आयोजना गरेको पहिलो झापा स्पोर्ट्स अवार्डमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर विशालले फुटबलकै योगेश गुरुङ र बुद्धिचालका भूपेन्द्र निरौलालाई पछि उपाधि जितेका हुन् । 

विशाल र रुबिना वर्ष खेलाडी

अवार्डमा फुटबलले वर्ष खेलाडीसहित तीन विधामा पुरस्कार जित्यो । युवा वर्ष खेलाडीको उपाधि डिफेन्डर देवेन्द्र तामाङले पाए भने रमपम झापा ११ पिपुल्स च्वाइजतर्फ उत्कृष्ट टोली बन्यो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिनेका हुन् । झापा टिमले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै उपाधि जितेको थियो ।

उत्कृष्ट महिला वर्ष खेलाडी भएकी रुबिनाको नेतृत्वमा अघिल्लो वर्ष हङकङमा आयोजित आईसीसी वुमेन वल्र्डकप क्वालिफाइङमा नेपाली टोली उपविजेता बनेको थियो । त्यसमा उनी फाइलनको म्यान अफ द म्याच भएकी थिइन् । रुबिनासँगै बक्सिङकी सुलप मगर र कराँतेकी एस्तर राई मनोनयनमा परेका थिए ।

पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्षका उत्कृष्ट प्रशिक्षक बने । गत वर्ष उनले आफ्नो टिमलाई चारवटा राष्ट्रिय स्तरका प्रतियोगितामा विजेता बनाएका थिए । मनोजसँगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का सञ्जय राई र कराँतेकी सीता राई मनोनयनमा परेका थिए । विजेता सबैले समान १५ हजार रुपैयाँ पुरस्कार पाए ।

अवार्ड विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, सहारा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरी, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेलगायतले पुरस्कृत गरे । नगद पुरस्कार एन्फा सदस्य नेम्वाङले दिवंगत भाइ फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

सोही अवसरमा झापा ११ का खेलाडीद्वय योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्रमश: निगाले सिमेन्टका सञ्चालक होम पाण्डे र सहारा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरीले एकवर्षे अनुबन्धनको घोषणा गरेका छन् । दुवै खेलाडीलाई मासिक २५–२५ हजार पारिश्रमिक दिने जनाइएको छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?