१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मानबहादुर र प्रतिभा वर्ष खेलाडी

एनभीए अवार्ड

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र शिवम् न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली भलिबलका वर्ष खेलाडी चुनिएका छन् । 

मानबहादुर र प्रतिभा वर्ष खेलाडी

नेपाल भलिबल संघ (एनभीए) ले सिटी ट्राभल्स एन्ड टुर्सको मुख्य प्रायोजनमा सोमबार आयोजना गरेको एनभीए अवार्ड ०७३ मा विभागीय टोलीका खेलाडीको वर्चस्व रह्यो । दुवै राष्ट्रिय टोलीका सदस्य मानबहादुर र प्रतिभाले २५–२५ हजार रुपैयाँसहित अवार्ड थापे ।


वर्ष खेलाडीको उपाधि जितेपछि प्रतिभाले आफू निकै खुसी भएको बताइन्। ‘यो सबै मेरो टोलीको मिहिनेतकै कारण हो । अवार्डको पहिलो संस्करणमा सम्मानित हुन पाउँदा मलाई निकै खुसी लागेको छ । आगामी दिनमा अझै राम्रो गर्न यसले मलाई हौसला दिनेछ,’ उनले भनिन् । प्रतिभा गत वर्ष आईजीपी कपलगायत चार राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनको उत्कृष्ट प्रदर्शनमा न्यु डायमन्डले एनभीए क्लब च्याम्पियनसिप जितेको थियो । माल्दिभ्सको मिस्की मागु क्लबबाट व्यावसायिक खेल खेलेकी प्रतिभाले उत्कृष्ट विदेशी खेलाडीको उपाधि पनि जितेकी थिइन् ।


पुरुष वर्ष खेलाडी मानबहादुरले पनि उपाधिले आफूलाई निकै हौसला प्रदान गरेको बताए । गतवर्ष आर्मीले राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दा पनि मानबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्षका उदीयमान खेलाडी विशाल विक र कामना विष्ट भए । दुवै नेपाल पुलिस क्लबका खेलाडी हुन् । दुवैले समान १५ हजार पाए । उत्कृष्ट प्रशिक्षकको अवार्ड एपीएफ महिला टोलीका ज्ञानेन्द्र विष्ट तथा पुरुषमा आर्मीका जगदीशप्रसाद भट्टले थापे । दुवैले २५ हजार पाए । उत्कृष्ट टोलीमा पनि महिलातर्फ एपीएफ र पुरुषमा आर्मीले उपाधि जिते । दुवै टोलीलाई समान ५० हजार रुपैयाँ पाए ।


कार्यक्रममा एभीसी सेन्ट्रल जोन भलिबलमा कांस्य पदक जितेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई सम्मान गरियो । इतिहासमै पहिलो पदक जितेको पुरुष टोलीलाई संघले तीन लाख रुपैयाँ प्रदान गर्‍यो । महिला भलिबलले सागमा तीन पदक जितिसक्दा पुरुष टोलीले भने अन्तर्राष्ट्रिय सहभागिताको ४१ वर्षपछि मात्र पदक जितेको हो । कार्यक्रममा नेपालको भलिबल विकासमा सहयोग पुर्‍याउने ४० विभिन्न संघसंस्था एवं व्यक्तिलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलको पहिचान पाएसँगै भलिबलले थुप्रै कार्यक्रम ल्याएकोमा आफू निकै खुसी रहेको बताए ।


भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि भलिबल विकासका लागि आफ्नो टिमले सक्दो प्रयास जारी राख्ने बताए ।

प्रकाशित : माघ ९, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?